www.tandavnews.com
Fact ~ In search of truth

महामारीमा ‘दानप्रसाद’लाई वडाको पत्र ‘ढल बनाउन पर्यो, बस्दै आएको ठाउँ छोड्नुस्’

अर्जुन गाहा (सुशान्त)
पोखरा/ताण्डव न्यूज ।

बगर वडा प्रहरी चौकी आडमा लस्करै जस्ताले छाईएका टहराहरु छन् । चौथो टहरामा ६० वर्ष कटेका दान प्रसाद देवकोटा विगत करिब ४५ वर्ष देखिनै बस्दै आएका छन् । उनको साथमा पोखरा महानगरपालिका १ का वडा अध्यक्ष शारदा कुमारी पराजुलीद्वारा हस्ताक्षरित पत्र छ ।

यतिबेला ‘कोभिड–१९’ कोरोना भाईरसको दोस्रो भेरियन्टको महामारीले कास्की सहित नेपालनै आक्रान्त बनेको छ । कास्की रेड जोनबाट कहिले ग्रिन जोनमा परिणत होला भन्ने पर्खाईमा आम नागरिक छन् । र कास्की जिल्ला प्रशासन कार्यालयको आदेश पालना गर्दै आम नागरिक घरमै थुनिन बाध्य छन् ।

Batas

तर यस्तो समय र परिस्थतिका बिच गत १६ गते बेसहारा देवकोटालाई वडाबाट आएको पत्रले विचलित बनाएको छ । पत्रमा लेखिएको छ, ‘पोखरा महानगरपालिका वडा नं. १ स्थित वडा प्रहरी कार्यालय पश्चिम उत्तर तर्फको बाटोमा ढल तथा स्ल्याव निर्माण कार्यको लागि सार्वजनिक स्थानमा तपाईको अस्थायी टहरा एवं समानहरु रहेकाले उक्त टहरा र सामाग्री हटाउने भनि आजको मितिले १७ दिन अगावै मौखिक जानकारी गराईएकोमा हाल सम्मपनि हटाएको नदेखिएकाले पत्र प्राप्त मितिले ३ दिन भित्र उक्त सामान उल्लेखित स्थानबाट हटाई निर्माण कार्यमा सहयोग गरिदिनुहुन जानकारी गराईन्छ । र अन्यथा गरि नहटाईएमा कानुन बमोजिम प्रकृया अगाडी बढाईने व्यहोरा समेत जानकारी गराईन्छ ।’

तर पत्रमा उल्लेख भए अनुसार उक्त घर सार्वजनिक स्थानमा नभएको दान प्रसाद देवकोटाले ताण्डव न्यूजलाई बताए । उनका अनुसार उक्त घरसहित सो क्षेत्रका २१ घरको केही अंंश राष्ट्रिय माविको स्वामित्वको जग्गा पर्ने भन्दै अदालतमा मुद्धा विचारधिन अवस्थामा छ । उनले उक्त घर रहेको ६ आना जग्गाको लालपुर्जा समेत रहेको बताए । ‘नक्शा उता छ जग्गा यता छ यस्तो–यस्तो परेछ त्यो मिलाम्न भन्दापनि मिलाउछु भन्ने हल्लाउने काम भैराछ । लालपुर्जा चाँही बकाईदाले छ ।’ देवकोटाले भने ।

महानगरको नियम अनुसार नै काम गर्छाै : अध्यक्ष पराजुली

पोखरा महानगरपालिका १ का वडा अध्यक्ष शारदा कुमारी पराजुलीले महानगरको नियमलाई नै अवलम्बन गर्दै ढल व्यवस्थापनको कार्यलाई तिव्र पारिने बताईन् । पराजुलीले ढल व्यवस्थापनका लागि मापडण्डमा भित्र पर्ने दानबहादुरको घर नभई साढे १ मिटरका संरचना हटाईने बताईन् ।

‘अरु हामीले केही पनि गर्ने होईन, नाला बिस्तार गर्ने हो महानगरको नियम र नालाको मापडण्ड अनुसार त्यती मात्रै भत्काउने हो । त्यसलाई सहजीकरण गरेर अगाडी बढ्ने हो जम्मै उठाएर जाने कुरा पनि हुन्न, उनले भनिन्, ‘अमिन ल्याउने नाप्ने सार्वजनिक जग्गा छुट्याउने भन्ने कुरा अहिलेलाई सहज वातावरण भको पनि छैन । सहज नभईकन काम गर्ने वातावरण पनि हुदैन । मानवीयताको आधारमा हामीले त्यसो गर्ने कुरो पनि होईन ।’

अध्यक्ष पराजुलीले पहिलो चरणमा माथिल्लो भेगबाट नाला निर्माण कार्य सुरु गरिने बताउदै साता दिनपछि मात्रै दान बहादुरको जग्गा व्यवस्थापनमा लाग्ने बताईन् । ‘भोली देखि प्रहरी चौकी माथिका काम सुरु हुन्छ । फेरी प्रहरीलाई दुई तर्फकै बाट अवरोध गर्न भएन, उनले भनिन्, ‘त्यसो भएर पहिला माथि देखि काम गर्दै आउँछन् त्यति सकिएपछि तल तिर जादा एक हप्ता दश दिन जति लाग्ला ।’

अध्यक्ष पराजुलीका अनुसार सो ढल व्यवस्थापनका लािग संसद विकास कोषबाट १९ लाख ८६ हजार बजेट विनियोजन भएको थियो ।

उक्त नालामा अहिले निर्माण भैरहेको टुडिखेल खेल मैदानको ढल पनि व्यवस्थापन गरिने अध्यक्ष पराजुलीले जानकारी दिईन् । ‘टुडिखेल मैदानको स्तरउन्नती गर्ने भनेर केन्द्रबाट बजेट पारिएको थियो, उनले भनिन्, ‘२५ लाख हो क्यारे त्यसमा ३० प्रतिशत जनसहभागिता हो त्यो राष्ट्रिय माविले लगानी गरेको छ । लगभग ३६ लाखको काम होला ।’

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.