www.tandavnews.com
Fact ~ In search of truth

अर्को साताबाट ‘स्मार्ट लकडाउन’

काठमाण्डौँ ।

कोभिड १९ व्यवस्थापन निर्देशक समिति (सीसीएमसी) को दोस्रो बैठकले कोरोना सङ्क्रमणको जोखिम रोक्न अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’तर्फ जाने निर्णय गरेको छ । अबको साता जारी निषेधाज्ञा कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्कन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुल्ला गर्ने निष्कर्ष निकालिएको छ ।

प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गएराति अवेरसम्म बालुवाटारमा बसेको समितिको बैठकले नेपाली श्रमिक अधिक सङ्ख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई , जापान र मलेशिया लगायतका देशहरूमा हवाइ उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । यी देशहरूबाट सातामा दुई हजार जना भन्दा नबढ्ने गरी हवाइ उडान सञ्चालन गर्नुपर्नेछ ।

Batas

बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ । बैठकले सीसीएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइने निर्णय गरेको छ ।

गैरआवासीय नेपालीहरूबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोगस्वरुप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा प्रधानमन्त्री ओलीले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै लकडाउनलाई सक्रमणको जोखिम नहुने हदसम्म मात्र खुकुलो गर्न सकिने बताएका थिए । कोभिड नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण र अनिवार्य खोप नै भएको उल्लेख गर्दै उनले त्यसका लागि ४० लाख डोज खोप ल्याउन गृहकार्य भइ रहेको अनि आगामी साउनदेखि लगाउन थालिने बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.