www.tandavnews.com
Fact ~ In search of truth

महिना दिनसम्म त्रिपालमा मनाङका बाढी प्रभावित

मनाङ ।

गत जेठ ३१ रातिदेखि मस्र्याङ्दी नदीमा आएको बाढीपहिराले असार १ गते हिमाली जिल्ला मनाङको तल्लो भाग डुबानमा प¥यो । जिल्लाको प्रवेशद्वार नासों गाउँपालिका–१ तालगाउँ पूर्णरूपमा डुबानमा परेपछि गाउँ नै विस्थापित भएको छ । नासोंका धेरै भाग डुबान र पहिराका कारण भौतिक संरचनामा पूर्ण क्षति पुगेको छ ।

त्यस्तै मनाङको सदरमुकाम चामेमा बाढीले पाँच घर डुबायो । सदरमुकाममा नै रहेको तातोपानी बगायो । घट्टेखोलामा आएको बाढीले पनि पाँच घर बगायो । मस्र्याङ्दी नदीको किनारमा धेरै बस्ती रहेकाले नदीको सतह बढेपछि डुबानमा पर्नुका साथै कटानले भौतिक संरचना बगाएको छ । मनाङवासीको घर पनि बगाएपछि उनीहरू एक महिना हुँदासम्म त्रिपालमुनि बस्न बाध्य भएका छन् ।

Batas

चामेकी स्थानीयवासी सीता गुरुङ लगातार पानी परेपछि आएको बाढीले घर बगाएको र घर बगाएपछि बास र गाँसको समेत समस्या रहेको बताउछिन् । “बाढी पहिराले घर बगाएपछि एक महिनासम्म त्रिपालमा बास बस्न बाध्य भएका छौँ, लगातार पानी पर्न नरोकिँदा त्रिपालबाट पनि पानी चुहिन थालेको छ, मनाङ चिसो ठाउँ न हो, सुत्ने ठाउँमा पानीले रुझ्ने र ओढ्ने, ओछ्याउने कपडा नहुँदा समस्या भएको छ”, सीता भन्छिन् ।

लामो समयदेखि लगातार वर्षा हुँदा मनाङवासीलाई त्रिपालको बास बनाएको छ । त्रिपालमा बस्नसमेत पानी चुहिने, सुत्दा ओढ्ने ओछ्याउने न्यानो कपडा नहुँदा अर्को रोगको समस्या देखिनसक्ने अवस्था छ । निरन्तरको वर्षाले त्रिपालमा पानी जमेर चुहिने भएपछि बाढीपहिरा पीडित सङ्कटमा परेका छन् ।

पहिले मनाङमा यति ठूलो बाढीपहिरो आएको थाहा नपाएको स्थानीयवासी छिरिङ दोर्जे लामाले बताए । यस वर्ष मस्र्याङ्दीमा आएको बाढीले मनाङलाई तहसनहस बनाएको उनले बताए । बाढी आउँदा बालबालिकालाई बचाए पनि घरमा रहेको खाद्यान्न, धन सम्पत्ति, प्राविधिक सामग्री निकाल्न नभ्याउँदा अन्यत्र आश्रय पाएको ठाउँमा ओढ्ने र ओछ्याउने कपडा नहुँदा समस्या भएको लामा बताउछन् ।

यस वर्षको मनसुन शुरु हुनासाथ हिमाली जिल्ला मनाङ दैवी प्रकोपमा परे पनि सरकारले चासो नदिएको मनाङवासीको गुनासो छ । मनाङलाई सरकारले छुट्टै देश जसरी व्यवहार गरी आवश्यक सहयोगसमेत नगरेको उनीहरुको भनाइ छ । विपद्को समयमा समेत उचित राहत र विस्थापित मनाङवासीलाई सरकारले सहयोग नगरेको उनीहरु बताउँछन् ।

बाढीपहिरा पीडितलाई त्रिपालसँगै आवश्यक न्यानो कपडा प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । चिसोमा सबैलाई आवश्यक सहयोग प्रदान गरिएको उनको भनाइ छ । यद्यपि मनाङवासी बाढीपीडित भने चिसोमा कठ्याङ्ग्रिएर सुत्नुपर्ने अवस्थामा समेत सरकारसँग सहयोग अपिल नगरिएको बताउँछन् ।

रासस

–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.