www.tandavnews.com
Fact ~ In search of truth

घामसँगै उदाएकी काना र बिलाएका धामी

– दिपक के श्रेष्ठ

सुदूरको गुनासो छ, ‘घामपनि पश्चिममा अस्ताउनमात्रै आउँछ ।’ अनि झण्डामाजस्तै रातै देखिने घामले जापानलाई ‘सूर्याेदयको देश’ भनि चिनाउँछ । यो लेख उनै उदाउने र अस्ताउनेको विषयमा केन्द्रित छ ।

सन् २०१३ को जाडो दिन जापानको होक्काइडोको चिसोमा बिहानै सात बजे हिउँको थुप्रो छिचोल्दै रित्तो यात्रुवाहक रेल एउटी केटीलाई सेवा दिन क्यो–सिराताकी स्टेसन पुगेको समाचारले विश्व तरंगित भयो । जसै यो समाचार एवं भिडियो डेली मेल र इन्साइडरजस्ता अन्तर्राष्ट्रिय न्यूज च्यानलबाट बाहिरियो तसै जापान सरकारको प्रशंसा ह्वात्तै बढ्यो । सरकारले केही वर्षदेखि बन्द रहेको स्टेसन खुलाएर रेलको सेवा पाएकी भाग्यमानी केटी थिइन्, काना हारादा ।

Batas

स्कुले शिक्षा पुरा गरेपछि स्नातक तह अध्ययन गर्न सहज होस् भनि सरकारले बन्द रहेको स्टेसन खुल्ला गर्दै सन् २०१६ को मार्चसम्म हारादाका खातिर रेल चलाइरह्यो । जापानको यस रेल सेवालाई ‘वान लास्ट प्यासेन्जर’को नाममा थुप्रै मिडियाले कभर गरेको छ । जापानबाट उदाएको घाम नेपाल आइपुगेपछि सुदूरपश्चिममा अस्ताउँछ, र अस्ताउँछन् अनगिन्ती जयसिंह धामीहरु ।

उता हारादाको विश्वविद्यालय सपना पुरा गराउन सरकार स्टेसन खोल्छ, रेल चलाउँछ । अझ स्टेसनसम्म पुग्न कठिन होला भन्दै करिब दर्जन कर्मचारीलाई हारादा हिड्ने बाटोको हिउँ पन्छाउँन लगाउँछ । नागरिकप्रतिको सेवा र जिम्मेवारीलाई मुलमन्त्र मान्ने जापान सरकारको सुविधाबाट हारादा घामसँगै उदाउँछिन् । यता, घरमा उसिना चामलको समेत जोहो गर्न नसकेपछि ‘पारी’ हुँदै मुग्लान पस्न खोज्दा घाम नअस्ताउँदै जयसिंह महाकालीको तुइनबाट बिलाउँछन् ।

सुदूर दार्चुलेलीले सरकारसँग रेल मागेका छैनन् । शायद उनीहरु सरकारसँग केही माग्न आफ्नो हैसियत नभएको ठान्छन् । सिंगो सुदूर आफुलाई सिमान्तकृत ठान्छ । सुदूर चुपचाप कालापहाड जान्छ, महाकालीमा हेलिन्छ । एक थान कट्टुसँग कहिले वारी आइपुग्छ, कहिले नांगो छातीमा ‘पारी’को तातो गोली थाप्छ । जति हेपिए पनि, चुटिए पनि, मारिए पनि सुदूरलाई ‘पारी’को विकल्प छैन । त्यसैले उ हरेक ज्यादती सहिरहेको छ ।

निवर्तमान प्रधानमन्त्री केपि शर्मा ओलीको भनाईअनुसार देश तुइनमुक्त भइसक्नुपर्ने हो । महाकालीको भंगालोमाथि पुल बनिसक्नुपर्ने हो । तर सुदूरमा फेरि पनि घाम अस्ताउँनमात्रै पुग्यो । अनि अस्ताउन बाध्य भएका छन् जयसिंहहरु । दार्चुलेलीलगायतका सुदूरवासीले हारादाको जस्तो अपेक्षा गरेका होइनन् । रेल त परको कुरा, उनीहरुले सडकसमेत मागिरहेका छैनन् । महाकाली सजिलोसँग तर्न पाइयोस् भन्ने ‘जाबो’ चाहनामात्र हो । त्यही पनि पुरा गर्न सकेको छैन गणतान्त्रिक सरकारले ।

तुइनको घिर्नीमा आफुलाई दौडाइरहँदा भारतीय सेनाले तारै चुडाइदिएर बर्बर एवं अमानवीय तवरले महाकालीमा खसाइदिँदा सरकार एक प्रश्न गर्न समेत सकिरहेको छैन । तीन दिनपछि बल्लतल्ल छानबिन समिति गठन भएको छ । १० दिनको समयसीमा पाएको समितिले के प्रतिवेदन बुझाउँला ? जयसिंहको परिवारले कस्तो प्रकृतिको न्याय पाउँला ? हेर्न, सुन्न बाँकी छ । वास्तवमा समिति गठन केवल झाराटराइँ हो । कुटनीतिक तवरले एक्सनमा तुरुन्त जानुपर्ने सरकार यस्तै समिति गठन गरी कायरताको परिचय दिइरहेछ ।

जयसिंह बेपत्ताको भएको क्षेत्रका बासिन्दा जन्मदा भोटो र मर्दा कात्रो किन्न भारतकै भर पर्न बाध्य छन् । पुस्तौदेखि उनीहरुको भोगाई समान छ । शक्ति र बजेट दुबै विकेन्द्रिकृत भइसक्दा पनि स्थानीय सरकारले पुल बनाउन नसक्नु र भारतले बारम्बार दादागिरी देखाइरहँदा पनि संघीय सरकारले ठोस कुरा राख्न नसक्नुको परिणाम जयहरु पराजय भोग्न बाध्य छन् ।
अन्त्यमा,

आगो ओकल्ने सुदूरका कवि हेम प्रकाश मञ्जिलको ‘म कर्णाली’को एक पंक्तिः

राराजस्ता गहिरा दुखहरु, फोक्सुन्डोजस्ता निलो चोटहरु
कहिलेसम्मन् लाग्छन् यी छातीमा
कहिलेसम्मन् जुत्ताको प्वालबाट बुढी औंलाले संसार चियाइरहन्छ ।
अझै गाउँन बाँकी छन्, केही एल्बम गीतहरु
अझै लेख्न बाँकी छन्, केही पाण्डुलिपी उपन्यासहरु
र, सुनाउँन बाँकी छन् एक जहाज कविताहरु ।
मानौ, युगौं पहिले महाराजको सम्भोगपछि दरबारबाट लखेटिएकी कुनै सुसारे हो कर्णाली ।
वा, जीवनको तुइन तर्न नसकेर नदी किनारमै पति गुमाएर अल्मलिएकी बिधुवा हो कर्णाली ।
वा, आफ्नै घर, समाजबाट लखेटिएकी कुनै कुमारी आमा हो कर्णाली ।
शासकको आँखाहरुभन्दा सयौं माइल टाढा यहाँ म नाङ्गै उभिएको छु,
दरबारहरु भन्दा लाखौं माइल टाढा म यहाँ बेघर, घर बनाउने सपना बुन्दैछु
अन्नहरुको भण्डारबाट लाखौं माइल टाढा यहाँ म भोकभोकै छट्पटाइरहेछु ।
यदि मैले गणित जानेको भए,
महाराजले पिएका रक्सीका प्यालाहरु भन्दा मैले पिएको एक समुन्द्र आँशु भरी हुन्थ्यो ।
अढाई सय वर्षअघि महाराजबाट पराजित म कर्णाली
आज आफ्नै रगतको आहालमा उभिएर सिंहदरबार आइपुगेको छु ।
ए छोटा महाराज ! अढाई सय वर्षअघि बडामहाराजले एकीकरणको माला बुन्ने बेलामा काटेर ल्याएको मेरो शक्तिशाली जिब्रो
यसपाला म सिंहदरबारबाट लिएरै जानेछु ।
होइन भने त, यो बदलाको तरबारले तिम्रो जिब्रो पनि काटिनसक्छ ।
ठिक अढाई सय वर्षपछि, इतिहास उल्टिन पनि सक्छ ।।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.