www.tandavnews.com
Fact ~ In search of truth

छोरेपाटनमा राममायाको जग्गा मिचेर कसले बनायो ढलान बाटो ? छोरा भन्छन् – ‘न्याय पाउँ’

जीवन सुवेदी
पाेखरा/ताण्डव न्यूज

पोखरा १७ छोरेपाटनमा रहेको ४ रोपनी क्षेत्रफल मध्येको ४ आना जग्गा मिचेर संरचना निर्माण गरिएपछि बैदाम निवासी हरिबहादुर पहारीले न्याय पाउँ भन्दै मिडिया गुहारेका छन् । पहारीका आमा राममायाको नाममा रहेको जग्गामध्ये करिब ४ आना क्षेत्रफलमा डिपिसी र ढलान बाटो निर्माण गरिएको प्रति पहारीको गुनासो छ ।

दुखेसो सुनाउन ताण्डव कार्यालय आएका पहारीले आफ्नो जग्गा मिचेर डिपिसी र ढलान बाटो निर्माण गरिएको भन्दै आफूनो जग्गा फिर्ता पाउन पहल गरिदिन अपील गरे । उनले पोखरा महानगर, नापी कार्यालय र मालपोतमा समेत समस्या लिएर पुगेपनि आफूलाई वेवास्ता गरिएको भन्दै आफू मिडिया गुहार्न बाध्य भएको बताए । आफ्नो जग्गा मिचेर बनाईएको ढलान र डिपिसी भत्काउन गरिएको प्रयासमा प्रहरी र गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस समेत बाधक बनेको उनको भनाई छ ।

Batas

“हामी ढलान भत्काउन जाँदा क्याम्पसले प्रहरी बोलाएर हामीमाथि अवरोध गर्न खोजियो”, पहारीले भने “ गत २०७७ माघ १० र २०७८ बैसाख १३ गतेगरी २ पटकसम्म हामीलाई अवरोध गरियो ।” आफ्नो जग्गा हडपेर बनाएको संरचना भत्काउन पाउनुपर्ने पहारीको माग छ । ‘म लामो समय जापानमा बस्थेँ यहाँ मेरी एक्ली आमा मात्र हुनुहुन्छ, एक्ली आमा देखेर हामीलाई हेपेर यसरी जग्गा मिच्ने काम भयो, सम्बन्धित ठाउँहरुमा पुग्दा सबैले बेवास्ता गरे’ पहारीले दुखेसो सुनाए ।

जग्गाको समस्या लिएर पोखरा महानगरपालिकामा निवेदन दिएपनि आफ्नो क्षेत्राधिकार बाहिरको कुरा भएको भन्दै नापी कार्यालयमा पठाएको तर नापी कार्यालयले पनि सरकारी अमिन खटाउन ईन्कार गरेको पहारीको गुनासो छ । नापी कार्यालयका अधिकृत ईन्जिनियर दिनेश लामीछानेले आफूलाई जग्गामा पर्खाल लगाउन सुझाव दिएर फर्काईदिएको उनको आरोप छ ।

उनको जग्गासंगै जोडिएको गुप्तेश्वर बहुमुखी क्याम्पसले जग्गा अतिक्रमण गर्न खोजेको पहारीले आरोप लगाए ।

यद्यपी क्याम्पस प्रमुख धर्मराज बरालले भने क्याम्पस प्रशासन एक प्रतिशत पनि दोषि नभएको बताउँछन । ताण्डव न्यूजसंगको कुराकानीमा बरालले आफ्नो र क्याम्पसको कुनै गल्ती नभएको बताए । ‘विना कारण क्याम्पस र मलाइ समेत जोडर मिडियाबाजी गरिएको छ’, उनले भने ‘तपाईँ एउटा मात्र प्रमाण देखाउनुस् हामीले मिचेको भनेर, त्यत्तिकै दोष लगाउन पाईँदैन ।’ क्याम्पसका लागि आवस्यक पर्ने बाटो ५ वर्ष अगाडि नै लक्ष्मण अधिकारीसंग किनेको भन्दै क्याम्पसका लागि पहारीको जग्गा आवश्यकै नभएको बरालले बताए । पहारीको आफ्नो जग्गामा बनेको संरचना हटाउन खोज्दा अवरोध गर्नुभएको हो ? भन्ने ताण्डव न्यूजको प्रश्नमा बरालले क्याम्पस अगाडि हल्लाखल्ला हुन थालेपछि प्रहरी आफै आएर रोकेको दावी गरे । यस विषयमा छोरेपाटन प्रहरी चौकी प्रमुख प्रहरी नायव निरिक्षक महेन्द्र पौडेलले कन्ट्रोल नं १०० मा फोन आएर विवाद भएको छ भन्ने पाएपछि आफूहरु पुगेर झगडा हुन रोकेको जानकारी दिए ।

उक्त ढलान गरिएको बाटो निर्माणको उपभोक्ता समितिको बोर्ड समेत अहिले हटाईएको जग्गाधनी पहारीले जानकारी दिए । उत्थानशील नगर प्रर्वद्धन र सहभागिता कार्यक्रम कास्की अंकित बोर्ड राखिएकोमा अहिले भने उक्त बोर्ड हटाईएको छ । बोर्डमा उपभोक्ता समितिको नाम डेभिजफल संरक्षण उपभोक्ता समिति उल्लेख गरिएको छ । बोर्डमा उल्लेख भएअनुसार उक्त बाटो निर्माणका लागि ६ लाख ५० हजार लागत लागेको देखिन्छ भने पोखरा महानगरपालिका वडा नं १७ बाट पनि १ लाख ५० हजार सहयोग भएको देखिएको छ ।

पहारीले आफ्नै लालपुर्जा भएको जग्गा आफूले संरक्षण गर्छु भन्दा समेत अनेक दुखः कष्ट झेल्नुपरेको भन्दै न्यायको खोजी गरेका छन् । जग्गामा पहिले नै तारबार वा पर्खाल नलगाउनु आफ्नो कमजोरी भएको उनको बुझाई छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.