
अर्जुन गाहा मगर(सुशान्त)
पोखरा/ताण्डव न्यूज
२०५८ साल जेठ १९ गते शुक्रबार राति राजा विरेन्द्रको रहस्यमय हत्या भएको समाचार सुनेपछि पोखराको फेवातालमा डुंगा खियाउने जीतबहादुर परियारका आँखामा आँशुको भेल बग्यो । सपरिवारै मारिएपछिका ५ दिन जीतबहादुरले नुन खाएनन् । रेडियोमा विरह धुन सुन्दा उनी झनै टोलाउँथे । काम गर्न मन लागेन, खान मन लागेन । उनी केवल टोलाउँथे, एकोहोरिन्थे । लामो समयसम्म एक्लै घोप्टिएर रुन्थे । त्यत्रो सुरक्षा घेरामा बसेका राजा र परिवार कसरी मारिए होलान् ? भन्दै सोच्थे । तालको डिलमा राजा सम्झँदै रुँदा उनका आँशु बगेर फेवामै मिसिन्थे ।
दरबार हत्याकाण्ड भनेर चर्चित त्यो कालो दिनले सारा नेपालीलाई रुवाएको थियो । शंका, उपशंका, डर, त्रासकैबीच पनि नेपालीहरुले गहभरि आँशु लिएर सडक तताए । केहीले ज्यानै गुमाए । देशै रोएकोबेला जीतबहादुर पनि रोए, तर उनले झारेको आँशु बुझ्न २०३७ सालतिर फर्कनु पर्छ ।

…अनि दुखले डोर्यायाे
पोखरा नजिकैको जिल्ला तनहुँमा जन्मिए जीतबहादुर । जब उनी किशोरावस्थामा पुगे उनको उमेरसँगै दुख पनि बढ्न थाले । त्यसपछि ‘आफैलाई पाल्न’ १५ वर्षे जीतबहादुरले ०३७ सालमा पोखरालाई मुग्लान बनाए ।
जीतबहादुर पोखरा हिँडेरै आए । ‘पहिलोपटक पोखरा आउदा खासै बजार थिएन जस्ताको दुईपाखे घर हुन्थे । कतै कतै विल्डिङ थिए । सबै जंगल थियो, उनी स्मरण गर्दै भन्छन्, ‘धनिहरु साईकलमा हिड्थे हामी हलो र जुवा बोकेर हिड्थेम्, जीतबहादुर थप्छन्, ‘नाम पुकार्न हुन्न म एउटा साहुकोमा १३ वर्ष हली बसे । घाँस काट्ने हलो जोत्ने गरे त्यसपछि डुंगा चलाउन थालेको हुँ ।’
त्यसपछि सुरु भयो बैदामको अम्बोटघाटबाट डुंगा र बहानासँगै उनको नयाँ जिन्दगी । ‘सुरुमा चलाउन जानिएन, तिन–चार दिनसम्म त डुंगा कहिले यता, कहिले उता हुन्थ्यो’, पुराना दिन सम्झँदै जीतबहादुरले भने ‘पछि सोझ्याउन थाले अनि काम पाईहाले ।’
पहिलो पटक ज्यालामा लाहुरे र लाहुरेनीलाई डुंगा सयर गराएको जीतबहादुर सुनाउछन् । ‘म पहिलो पटक पामे पुगेथे लाहुरे र लाहुरेनीलाई लिएर । त्यो समय खासै कमाई हुन्थेन ।’
जीतबहादुर अझैपनि निरन्तर बहना खियाईरहेका छन् डुंगा चलाईरहेका छन् । पोखरा ६ जरेबर बस्दै आएका उनले २०५० साल पछि घण्टाको दरले पारिश्रमिक लिन थाले । त्यसबेला एक घण्टाको १५ रुपैया पाउँथे भने अन्य रकम डुंगा साहुले राख्थे । पछि ५ रुपैयाँ थपेर २० रुपैयाँ पाउने गरेको उनले बताए ।
डुंगामै भेटिएछन् राजा
त्यसबेला पूर्वराजा विरेन्द्र पोखरा आइरहन्थे । बस्ने दरबार थियो हिमागृह । अम्बोटघाटसँगै हिमागृह रहेकाले डुंगा चालक जीतबहादुरलाई एक दिन सुरक्षागार्डसहित एक भिआइपीलाई बाराही मन्दिर लैजाने काम मिलेछ । तर जीतबहादुरलाई आफ्नो डुगांमा स्वयं राजा विरेन्द्र सयर भएको पत्तो थिएन ।
‘मेरो डुंगामा अगाडी पछाडी हतियारसित दुईटा लाहुरे (सुरक्षा गार्ड) र बिचमा एक पाको मान्छे थिए’, उनले अतीत सम्झिए ‘मन्दिर लगेर फर्किदा मेरो नाम सोधनी भयो, मैले जीतबहादुर भने ।’ उनले त्यसपछि मात्रै आफुले मन्दिर ओहोरदोहोर गराएको भिआइपी राजा भएको चाल पाएछन् । ‘पछि पो थाहा पाए बीचको मान्छे त वीरेन्द्र सरकार पो हुनुहुँदोरच ।’
पूर्व राजा वीरेन्द्रलाई हिमागृह झारेपछि बक्सिस पाएको उनी बताउँछन् । ‘खाममा हालेर बक्सिस दिनुभाथ्यो साहुजीले राख्नुभो । मोटरसाईकल किन्नुभाथ्यो पछि अर्कै फेर्नुभयो, उनी थप्छन्, ‘मलाई त्यो बेला साहुजीले नै हेर्नुहुन्थ्यो उहाँकै घर बस्थे । अझ विवाह समेत गरिदिनुभएको हो मेरो साहुजीले ।’

राजा विरेन्द्र हिमागृह आउँदा हिमागृह बाहिर भेट्ने गरेको स्मरण गर्दै भन्छन्, ‘सरकारलाई स्वागत गर्दा बाजा बजाउनेमा म पनि हुन्थे । मसँग ‘जीतबादुर के छ ?’ भन्दै हात मिलाउनुहुन्थ्यो ।’ दरबार (हिमागृह)को बलेनीमा आफुजति कोही बसेन होला भन्दै उनले धेरै पटक त्यहाँ खाना खाएको सुनाए ।
हो, सोही याद र राजाको सामीप्यता पाएका जीतबहादुर उनै प्यारो विरेन्द्रको हत्या भएपछि धुरधुरी रोएका थिए । ‘मेरो आँशुले फेवा नै नुनिलो भयो होला’ उनी सम्झन्छन् ।
अरुलाई पारि तार्दा उनी वारी नै रहे
उदीत नारायण झाको उपहार एल्बमको अति लोकप्रिय ‘माझीदाईले जुनीभरी डुंगा तारिरहे, अरुलाई तार्दातार्दै आफुचाँही वारी रहे…’ भन्ने गीत नसुन्ने विरलै होलान् । उनको यो शब्दहरुले जीतबहादुरको जिन्दगीसँग मितेरी गाँसेको भान हुन्छ । जीतबहादुर ५६ वर्षको उमेर हुँदासम्म पनि बहना खियाईरहेका छन् । अहिलेसम्म लाखौलाई पारी तारिदिए पनि दुखसँगै उनको जीवन वारी नै छ । सिजनको समयमा दैनिक १ हजारलाई तालमा सयर गराएका जीतबहादुर अहिले बेरोजगार छन् ।
प्रतिघण्टा कम्तिमा २ किलोमिटर सयर गराउने उनले सुनाए । ‘सिजनको बेला दिनमा ११ बढीलाई लगिन्थ्यो’, उनी भन्छन्, ‘हरेक दिन १०÷१२ पटक पालो पथ्र्याे ।’ हिसाबकिताब नै गर्ने भए लाखौलाई घुमाईयो हजारौ किलोमिटर डुंगा चलाईयो । तर अहिले शून्य छ ।’ उनी थप्छन्, ‘यो तालमा म जस्तो पुरानो र १ नम्बर सीप भको कोही छैन । मसँग कसैले सक्दैनन् ।’
नरसिंह बजाउने कला
जीतबहादुर बहाना खियाउन मात्रै होईन नरसिंह बजाउन समेत माहिर छन् । उनले ९ वर्षको कलिलो उमेरबाटै व्यावसायिकरुपमा बाजा बजाउदै हिड्थे । आफ्ना बुबालाई स्मरण गर्दै भन्छन्, ‘९ वर्षको हुँदैदेखि बाजाहरु बजाउँथे । अझै पनि याद छ त्यो बेला बुबाले ६ पाथी कोदोमा नरसिंह किन्दिएका थिए । त्यहीबाट सिकेको हो ।’
जीतबहादुर बाजा बजाउन देशका विभिन्न स्थानमा पुगेका छन् । शुभकार्य तथा विवाहमा उनी बुटबल, पर्वत, काठमाडौं लगायतका स्थानमा पुगेका छन् ।
उनमा ११ डुगांको सम्पूर्ण जिम्मा भएकाले बाजा बजाउन जान परे डुंगा चलाउन परिवारको सहायता लिने गरेको सुनाउँछन् । कोरोना भाईरसको महामारी भन्दा पहिले परिवारको ४ सदस्यले बहाना खियाएर दैनिक ४ हजार रुपैयाँ बढी कमाएको जीतबहादुर बताउँछन् । ‘घरको सबैले चलाउदा त दिनमै ४ हजार पनि कमाईयो नी । यि अहिले यस्तो छ अवस्था यो महिना त जम्मा ४ सय ८० कमाएछु’ उनको दुखेसो छ ।
घण्टाको १५ रुपैया कमाउने जीतबहादुर अहिले १ सय ८० रुपैया कमाउँछन् । तर कोभिड–१९ का कारण समय असामान्य छ । फेवातालमा सयांै डुंगाहरु पाहुना पर्खिएर तैरिरहेका छन् । डुंगाहरुलाई टलक्क टल्काएर राखेका जीतबहादुर भन्छन्, ‘बिहान बेलुका हात जोड्न गाह्रो छ । डुंगा अहिले मान्छेले हैन, हावाले मात्रै चल्याछ । कमाई नै छैन ।’
ब्रेडवीनर जीतबहादुर
जीतबहादुरको परिवारमा ८ सदस्य छन् । ब्रेडवीनरको (कमाई ल्याउने मान्छे) रुपमा जीतबहादुर र उनका छोरा मात्रै छन् परिवारमा । उनका छोराले मजदुरी गरी दैनिक ५ सय कमाएपनि परिवार धान्न यथेष्ट नभएको जीतबहादुर सुनाउँछन् ।
‘छोराले ज्यामी काम गरेर दिनमा ५ सय खान्छ । मेरो कमाई छैन । जाउलो खानै गाह्रो छ, उनी थप्छन्, ‘अहिलेसम्म यस्तै ३ लाख जति ऋण लागेको छ । परिवार ठुलो छ हजुर । त्यही हो लकडाउनमा साहुजीहरुले २५ हजार रुपैयाँ पठाउनुभएको थियो ।’
© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।