www.tandavnews.com
Fact ~ In search of truth

पाठ्यक्रम बाहिरको प्रश्न सोधिएकोमा परीक्षार्थीको आपत्ति, डीन भन्छन् – ‘नाम ननिस्किएपछि विरोध हुनु स्वभाविक’

पाेखरा/ताण्डव न्यूज

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराले साउन ६ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आवश्यक जनशक्ति पदपुर्ति गर्न सूचना जारी गर्याे । सूचनाअनुसार मेडिकल अधिकृत (कोभिड व्यवस्थापन)तर्फ ४ र फार्मेसी सहायक (करार)तर्फ २ जनाको आवश्यकता उल्लेख गरिएको थियो ।

जसमध्ये फार्मेसी सहायकको लिखित परीक्षा १७ गते भई १९ गते नतीजा प्रकाशित भइसकेको छ । प्रकाशित नतिजामा मेरिटको आधारमा ५ जना छनौट भएका छन् । जसको अन्तरवार्ता अहिले (बिहीबार) भइरहेको छ । नतीजा प्रकाशित भएपछि केही परीक्षार्थीहरुले लिखितमा लोकसेवा आयोगको पाठ्यक्रम बाहिरबाट प्रश्न सोधिएको भन्दै विरोध गरेका छन् ।

Batas

लिखित परीक्षमा सहभागी राजीव तिवारीले पाठ्यक्रम बाहिरबाट प्रश्न सोधि फेल गराउँने नियत राखेको बताए । ‘पदपुर्तिको सूचनामा स्पष्टसँग लोकसेवा आयोगको निर्धारित पाठ्यक्रम अनुसार भनिएको छ तर प्रश्नपत्र त्यसको विपरित छ’ तिवारी भन्छन् ‘यस्तो रवैयाले हामीमाथि अन्याय भएको छ । यस विषयमा प्रतिष्ठानका डीन श्रीकृष्णसँग जानकारी माग्दै तिवारीले सञ्चालित परीक्षाको गुणस्तर छानबीन गरिपाउँ भनि निवेदन दिएका छन् ।

निवेदन

त्यस्तै, तिवारीले फोनमार्फत डीन श्रेष्ठसँग यस विषयमा आपत्ति जनाउँदा ‘आफ्नो तजबीजले प्रश्न निकाल्न छूट भएको’ बताउँदै अनावश्यक प्रश्न नगर्न डीनले भनेको उल्लेख गरे ।

सोही पदमै लिखित दिएकी प्रतिज्ञा कोइरालाले पनि लोकसेवा आयोगको पाठ्यक्रम अनुसार भन्दै सूचना आएपनि प्रश्न भने अन्यत्रबाट सोधिएको दाबी गरिन् । ‘सूचनामै प्याटर्न अनुसार भनिएको छ’ कोइरालाले भनिन् ‘तर नोटिस अनुसार प्रश्न आएन ।’ उनले फर्माकोलोजीबाहेक अन्य प्रश्न पाठ्यक्रम बाहिरबाट सोधिएको बताएकी छिन् ।

अर्का सहभागी सागरनन्द गिरीकोसमेत समान धारणा छ । विज्ञापनमा जे उल्लेख छ सोही अनुरुप प्रश्न नसोधिएको बताउँदै गिरीले भने ‘प्रतिष्ठानले हामीलाई धोका दियो, आयोगकाअनुसार भनिएपछि सोही बमोजिम हुनुपथ्र्यो ।’ उनका अनुसार प्रतिष्ठानले नीतिगतरुपमा परीक्षा आयोजना नगरी भविष्यमाथि नै खेलवाड गरेको छ । ‘कमसेकम पाठ्यक्रम अनुसा प्रश्न सोधिनुपथ्र्यो, हामी फेल भएर यस्तो कुरा गरेको होइनौं तर परीक्षा नै नियमसंगत भएन’ गिरीको गुनासो छ ।

यस विषयमा डीन श्रेष्ठले भने परीक्षामा फेल भएपछि विरोध गर्नको कुनै तुक नभएको बताएका छन् । पाठ्यक्रम अनुसार प्रश्न सोधिन्छ भन्नुको अर्थ तिनै प्रश्नमात्रै सोधिन्छ भनिएको हैन भन्दै श्रेष्ठले भने ‘नाम निस्किएन अनि विरोध शुरु भयो ।’

‘सूचनामा आयोगको फम्र्याटअनुसार प्रश्न सोधिने भन्नुको अर्थ ठ्याक्कै त्यहीबाट त्यसरी नै सोध्नुपर्छ भन्ने होइन’ डीन श्रेष्ठले भने प्रश्न र उत्तरको शैली आयोगको पाठ्यक्रमअनुसार हो ।’ आफ्नो मान्छेलाई जागिर खुवाउने नियत त हैन भन्ने प्रश्नको खण्डन गर्दै श्रेष्ठले मेरो र हाम्रो नभई राम्रो मान्छे चाहिएकाले सोही अनुरुप छनौट गरिएको स्पष्ट पारे ।

उक्त परीक्षामा सफल प्रतिष्पर्धी सपना पुनले प्रश्नपत्र ठ्याक्कै आयोगकै प्याटर्नअनुसार थियो थिएन भनेर भन्न नसकिए पनि सोधिएका प्रश्नहरु परीक्षार्थीको बुझाइमा भर पर्ने सटिक प्रतिक्रिया दिएका छन् । परीक्षामा असफल विद्यार्थीहरुले ‘प्रश्नपत्र पाठ्यक्रम विपरित भएको’, ‘केही प्रश्न अस्पष्ट भएको’, ‘केही प्रश्न हुबहु दोहोरिएको’लगायतका आरोप लगाएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालद्धारा प्रकाशित पदपूर्ति सम्बन्धि सूचना

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.