www.tandavnews.com
Fact ~ In search of truth

ट्राफिकको निशानामा मोडिफाइड र डर्ट बाइक, दैनिक हुनेछ ‘चेकिङ्’

अर्जुन गाहा (सुशान्त)
पोखरा/ताण्डव न्यूज

स्थानीय बजारमै शौख अनुसारको मोटरसाइकल उपलब्ध हुन थालेपछि युवा पिँढी त रमाउने नै भयो तर उनीहरुको रोजाइले ट्राफिक प्रहरीलाई भने टाउको दुखाएको छ ।

यही ‘टाउको दुखाइ’को औषधि खोज्ने क्रममा ट्राफिक प्रहरी कार्यालय कास्कीले वडा प्रहरी कार्यालय बैदामको समन्वय र सहकार्यमा २६ वटा मोटरसाइकल नियन्त्रणमा लियो । असारको अन्त्यमा २ दिन लगाएर गरिएको कडा चेकिङमा समातिएका उक्त मोटरसाइकलहरु मोडिफाइड अर्थात् स्वरुप परिवर्तन गरिएका थिए ।

Batas

मोडिफाइट बाइकर्सको समूह पोखराको बगर, नयाँबजार क्षेत्र, भुपी शेरचन राजमार्गमा (जिरो देखी हरिचोक) र आवास क्षेत्रमा कर्कश आवाज निकाल्दै मोटरसाइकल आतंक मच्चाईरहेको पाएपछि प्रहरी एक्सनमा उत्रिएको हो ।

डर्ट तथा मोडिफाईड बाईकलाई निशानामै राखेर चेकिङ अभियान नै थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतले बताए । उनले गत २९ र ३० गते कास्कीको विभिन्न स्थानबाट मोडिफाइड डर्ट तथा अन्य गरी कुल २६ वटा बाईकलाई नियन्त्रणमा लिएको बताए ।

विशेषगरी डर्ट बाईक क्रसफायर र बुलेटलाई मध्यनजर गरि चेकिङ गरिएको बताउदै विपिचोक, राष्ट्रबैंकचोक, बगर, प्रस्र्याङ, मोहरियाटोल, पृथ्वीचोक लगायतका स्थानबाट नियन्त्रमा लिईएको जानकारी दिए । उनका अनुसार चेकिङबाट नियन्त्रणमा लिईएका ७ वटा बुलेट, ११ वटा क्रसफायर र ८ वटा अन्य कम्पनीका बाईकहरु कारवाहीका लागि वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ । उक्त बाईकहरुको साईलेस्सर पाईप, ऐना, ह्याण्डल, हेडलाईटलगायतका सामग्री परिवर्तन गरेको पाइएको उनले जनाए ।

प्रहरीले कारवाहीका लागि यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरिसकेको छ । ‘यातायातको पनि आफ्नै नियम हुन्छ, स्वरुप परिवर्तन गर्न पाईदैन’, निरीक्षक बस्नेतले भने, ‘सोही अन्तर्गतको कसुरमा बाईक धनीहरुलाई कारवाही हुन्छ ।’ जसअनुसार बाइक धनीले ७ हजार ५ सय देखि १५ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुन्छ । ‘उनीहरुलाई आफ््ना अभिवाभक बोलाएर क्लास पनि दिन्छौ र मिस्त्रीलाई कार्यालयमै बोलएर बनाएपछि मात्रै छाड्छौ’ निरीक्षक बस्नेतले बताए ।

मोडिफाईड बाईकले ध्वनी प्रदुषणसँगै दुर्घटनाको जोखिम बढाउने हुनाले अभिभावकसँगै चालकलाई रेसिङ बाईक र यसको उपयोगिताबारे जानकारी दिने प्रहरीको भनाई छ । ट्राफिक प्रहरीको तथ्यांक अनुसार मोडिफाईड बाईकहरु १६ देखि २५ वर्ष उमेर समुहले प्रयोग गर्ने गरेका छन् । मोडिफाइड बाइकको निगरानी निरन्तर गर्ने बताउँदै बस्नेतले भने ‘हामी सकेसम्म दैनिक चेकिङमा हुनेछौं ।’

ध्वनी प्रदुषणको खतरा

मोडिफाईड गरी मोटरसाकइल हुँइक्याउनेहरु प्रायः किशोरावस्थाका छन् । उनीहरु एउटै जत्थामा बाँधिएर डर्ट बाइक (क्रसफायर) पड्काउदै हिड्ने गरेका छन् । कानुनतः बर्जित रहेपनि उनीहरु शौखकालागि बाईक मोडिफाईड गर्छन, चढ्छन् र साईलेन्सर पड्काउँछन्, जसले समाजलाई आतंकित बनाएको छ ।

ध्वनी प्रदुषणको तथ्याङ्क र यस विषयको नियमन स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले गर्छ । विश्व स्वास्थ्य सँगठन (डब्लुएचओ) ले सन् २०१७ मा गरेको एक अध्ययन अनुसार पोखरा र काठमाडौं ध्वनी प्रदुषणको ‘रेड जोन’मा छ । आवाजको मात्रा ७५ डेसिबल पुगेपछि रेड जोन सुरु हुन्छ । उक्त मात्रा पोखरामा सन् २०१७ सालमै पुगेको देखिन्छ । त्यसैले पोखरा महानगरपालिकाले सन् २०१७ कै जुलाई १६ (२०७४ साउन १ गते ) तारिखमा ध्वनी प्रदुषण न्यूनीकरणका लागि पोखरालाई हर्न निषेधित क्षेत्र घोषणा गरेको थियो ।

ध्वनी प्रदुषण न्यूनीकरणका लागि अभियान थालेको ४ वर्ष पुगिसकेको छ । अहिले सवारी चाप उस्तै छ कलकारखाना बढिरहेका छन् । त्यसैले पनि ध्वनी प्रदुषणको डेसिबल ७५ बाट घट्ने संकेत देखिदैन ।
ध्वनी प्रदुषणबाट आजित भएका पोखरा १ बगरका स्थानीय भोजराज अधिकारीले मोडिफाइड बाइकका चालकले आफ्नै जीवन खतरामा रहेको बताए । ‘उनीहरुको पर्सनल लाईफ त डेन्जर हुन्छ नै, पब्लिक र बालबालिको जीवन पनि जोखिममा पार्छन्’ अधिकारीले भने ।

सडकमा जताबाट पनि बाटो काट्ने र बालबालिकासमेत बेफिक्री हिड्ने गर्दा त्यस्तो बाइकर्सले दुर्घटना निम्त्यउँने उनको ठहर छ । तीब्र गतिमाथि नियन्त्रण गर्न सकेनन् भने क्षति टार्न नसकिने अधिकारीले टिप्पणी गरे ।

किन गरिन्छ मोडिफाई ?

मोटरसाइकल मोडिफाईड केका लागि ? भन्ने प्रश्नमा एक राईडरले भने, ‘लुक्सको लागि कस्टमाईज गरिन्छ यसो गर्दा आफुलाई मज्जा आउँछ र बाईक चढे जस्तो बल्ल फिल हुन्छ ।’ मोडिफाईड गर्न कानूनले बर्जित गरेको विषयमा जानकार रहेको बताउदै उनले सीमाभित्रै रहि सामान्य कस्टमाईजमात्र गरेको बताउँछन् ।

उनी थप्छन् ‘अहिले हेडलाईट र ह्याण्डल फेर्न नपाईने रहेछ, मेरो सबै ओरिजिनल नै हो, आवाज खासै आउदैन त्यसैले म कानून विपरित छैन ।’ यद्यपि, क्रसफायरहरुलाई भने अस्वाभाविक आवाज कै कारण प्रहरीले नियन्त्रणमा लिएको हुनसक्ने उनको बुझाई छ ।

‘क्रसफायरलाई त साउण्ड कै कारण समाएको होला त्यसमाथि मान्छेहरुको अगाडी उडाउने (राईडरको भाषामा –ह्वीली हान्ने) गर्छन्, त्यो ठीक होईन’ उनले भने ।

कुन–कुन बाईक समातिए ?

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको ७ वटा मोडिफाईड बुलेट बाईक मध्ये बा ५४ प ४८९६, ग ११ प ८३००, ग ९ प ६२३५, ग १४ प ६९९५, ग १२ प ६७६८, ग ९ प ६२४१, ग १८ प ६०२७ नम्बरको मोटरसाईकल रहेका छन् । त्यसैगरी ११ वटा क्रसफायर मध्ये ग २० प ७६३१, ग १६ प ५५६२, ग १५ प ७४५३, बा ७६ प २१८८, ग १८ प ६८८२, ग १४ प ९३८९, ग ११ प ४९४२, ग १७ प ५३५८, ग १५ प ६३६४, बा ९६ प ९०७२ र ग १७ प १९४ नम्बरको क्रसफायर नियन्त्रणमा रहेको छ ।

यसैगरी ग १० प ८०९० को ड्युक, ग ३ प ८९४८ नम्बरको एभेन्जर, ग ४ प १६ १९ को एभेन्जर, ग १५ प ११५६ को ड्युक, बा ९५ प ५९९१ नम्बरको केटीएम, ग २१ प ७४६ नम्बरको स्कुटर, ग ७ प ४१९५ नम्बरको पल्सर र जप्र–०४–००१ प १२९० को सवारी साधान नियन्त्रणमा लिईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.