www.tandavnews.com
Fact ~ In search of truth

पोखरेल प्यानलको प्रतिबद्धताः ‘संघलाई मजबुत बनाउछौं, उद्योगी व्यवसायीको हितमा काम गर्छौं’

पोखरा।
पोखरेली उद्योगी व्यवसायीका छाता संस्था हो, पोखरा उद्योग वाणिज्य संघ । भदौ २४ र २५ गते संघको नयाँ नेतृत्वका लागि ३४ औं महाधिवेशन हुँदै छ । नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल प्यानल चुनाव प्रचार गर्न घरदैलोमा छ ।

शुक्रबार र शनिबार अधिवेसन हुँदैछ । उद्योग वाणिज्य संघले बुधबार उम्मेद्वार परिचय कार्यक्रम राखेको थियो । उम्मेद्वार परिचय कार्यक्रममा पोखरेल प्यानलका सबै उम्मेद्वारले आफ्नो प्रतिबद्धता सुनाए ।

अध्यक्षका उम्मेद्वार अर्जुन पोखरेलले आफू निर्वाचित भए उद्योगी व्यावसायीको समस्या समाधानका लागि पैरवी गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । ‘देशमा तीन तहको सरकार छ । निजी क्षेत्र विभिन्न महामारीका कारण विस्थापित हुँदैछ,’ उनले भने, ‘छाता संस्थाले दुख परेका बेला उद्योगी व्यवसायीको पक्षमा काम गर्नैपर्छ । सरोकारवाला निकाय र निजी क्षेत्रको पुलको रुपमा मैले काम गर्नेछु ।’

Batas

आफ्ना चुनावी घोषणा पत्रमा भएका ८ वटा बुँदा अक्षरंश पालना गर्ने उनले बताए । ‘युवा टीमको नेतृत्व गर्न पाउँदा खुशी लागेको छ । हाम्रो समूहका सबै उम्मेद्वार उद्योगी व्यवसायीको समस्या बुझ्न सक्ने खालको हुनुहुन्छ,’ उनी भन्छन्, ‘जीतेर गएपछि घोषणापत्र अनुसार काम गर्छौं । एक पटक विश्वास गरिदिनुस् ।’ २०११ सालदेखि अग्रजहरुले जोगाएको विरासत कायम गर्दै आफ्नो तर्फबाट अझ उचाई थप्ने पोखरेको दावी छ ।

पोखरेल प्यानलमा अनुभवी र सक्रिय युवाहरु सम्मिलित रहेको भन्दै बरिष्ठ उपाध्यक्षका उम्मेद्वार हरिहर सापकोटाले आफ्नो प्यानलको विकल्प नभएको बताए । ‘निर्वाचन जितेपछि हाम्रो लक्ष्य भनेकै उद्योगी व्यावसायीको हित हो । हामी साझा भएर काम गर्ने छौं,’ उनले भने, ‘संघको भवन जीर्ण छ । यसलाई सुविधासम्पन्न कम्प्लेक्स बनाउछौं ।’ अघिल्ला कार्यकालहरुमा पनि विभिन्न समितिमा बसेर काम गरेको अनुभव सुनाउँदै उनले विगतका सिकाईलाई कार्यान्वयन गर्ने बताएका छन् ।

उद्योग तर्फका उपाध्यक्ष उम्मेद्वार देवेन्द्र केसीले कोरोनाले थलिएको व्यावसालाई उकास्ने गरी कार्यक्रम बनाउने बताए । उद्योग व्यावसाययमा युवा आकर्षण गर्ने कार्यक्रम ल्याएर विदेश पलायन भएका युवा शक्तिलाई नेपालमै राख्न पहल गर्ने उनको भनाई छ । उनले पर्यटन, उद्यमशिलता र स्वरोजगार लगायतको प्रवद्र्धन गर्ने उद्देश्य उल्लेख गरे ।

वाणिज्य तर्फकी उपाध्यक्ष कुमारी मुना बास्तोलाले पदाधिकारी तहमा महिला नेतृत्वको खाचों महसुस गर्दै उम्मेद्वारी दर्ता गरेको बताईन् । आफु महिला भएको कारण पनि विजयी भएमा महिला उद्योगी व्यावसायीको समस्यामा बढी केन्द्रित रहने उनको भनाई थियो । महिला उद्योगी व्यवसायीहरुको क्षमता अभिवृद्धीको लागि सरकारसंग सहकार्य गर्दै अगाडी बढ्ने आफ्नो योजना रहेकोले मत दिन आग्रह गरिन् ।

महासचिव केशवबहादुर खत्रीले संस्थागत विकासमा जोड दिएका छन् । ‘कार्यालय व्यवस्थापन चुस्त बनाउनु छ । सबैले खोज्दा भेट्ने संघ हामी निर्माण गर्छौं,’ उनले भने, ‘हाम्रो कार्यकालमा संघको गरिमा उँचो हुनेछ । अग्रजको योगदानको साख गिर्न दिने छैनौं ।’ कोषाध्यक्ष तर्फका उम्मेद्वार हरिराज पन्तले संघ सबै उद्योगी व्यवसायीको अभिभावक संस्थाका रुपमा स्थापित गर्ने बताए । ‘लगानीका हिसावले सानो ठूलो भन्दैनौं । सबैलाई सम्मान गर्छौं । संघको आर्थिक अवस्था सुधार्न मेहनत गर्छौं,’ उनले भने ।

संघको सचीवालयलाई सुदृढ गर्दै सदस्यहरुको संरक्षण र हितका कार्यक्रममा आफु केन्द्रित हुने उप महासचिव उम्मेद्वार हर्कबहादुर अधिकारी ‘मिरज’ ले बताए ।

पोखरेल टीमका सदस्यहरु भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्र कुमार बाटाजु, माधव बस्ताकोटी, उदय बहादुर केसी (लाहुरे दाइ), दिलिप कुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ र हिमनिधि लौडारीले पनि विभिन्न संघ संस्थासँगको सहकार्यमा विशेष कार्यक्रम ल्याउने र उद्योगी व्यवसायीको हीतमा पैरवी गर्ने बताए । बुधबार पनि टोलीले महेन्द्रपुल, बास्तोलाथर, नयाँ बजार लगायत क्षेत्रमा घरदैलो गरेको थियो ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.