www.tandavnews.com
Fact ~ In search of truth

एक्लेसालमा पहिरो तर्काउने गरी नयाँ मार्ग खोजी

एउटै पहिरोले ३ वटा सडकको ४ ठाउँमा क्षति पुर्याएको

ताण्डव

करोडौँ खर्चिँदासमेत पहिराेले क्षति पुर्याएको सडक मर्मत हुने सम्भावना नरहेको जनाउँदै बागलुङको दक्षिण जोड्ने सडकको वैकल्पिक मार्ग खोजी हुन थालेको छ । बागलुङ–कुश्मीशेरा सडकअन्तर्गत बागलुङ नगरपालिका–१० एक्लेसालमा पहिरो तर्काउने गरी नयाँ मार्ग खोजी गरिएको हो ।

काठेखोलामा रहेको पक्की पुलदेखि दक्षिणतर्फबाट पहिरो तर्काउने गरी वैकल्पिक मार्ग निर्माणका लागि बिहीबार सरोकारवालाले अध्ययन गरेका छन् । अक्षतेबाट गलुवा निकाल्ने गरी वैकल्पिक सडक बनाउनुपर्नेमा सरोकारवालाको जोड थियो । प्रतिनिधिसभा सदस्य, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, प्रशासन कार्यालय र सरोकारवाला कार्यालयका प्रतिनिधिसहितको समूहले पहिरो निरीक्षण गर्दै वैकल्पिक मार्गको बारेमा स्थलगत अध्ययन गरेका हुन् ।

Batas

यहाँ एउटै पहिरोले ३ वटा सडकको ४ ठाउँमा क्षति पुर्याएको छ । असार १ गतेबाट निरन्तर बगिरहेको पहिरोले ठूलो गल्छी बनाएकाले सडक मर्मत गर्न कठिन रहेको पूर्वाधार कार्यालयका प्रमुख इञ्जीनियर शोभियत खड्काले बताउँछन् । ‘यहाँको माटो र ढुंगाको प्रकृति बग्ने खालको छ, पानीको व्यवस्थापन नभएकै कारण ठूलो क्षति व्यहोर्नुपर्यो’, खड्काले भने, ‘यहाँ करोडौँ खर्चे पनि हिउँदका लागि मात्रै हुन्छ सडक, अर्को वर्षा उस्तै हो ।’ पहिरो नियन्त्रणका लागि उपाय नरहेकाले पनि पहिलेकै अवस्थामा सडक सञ्चालन गर्ने अवस्था नरहेको बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले बताए ।

‘बेस घटाएर तत्कालका लागि खुलाउन सकिन्छ तर दिगो हुने देखिएन, माथिसम्म जमिन चर्किएको छ, अझै पहिरो गहिरो हुने सम्भावना छ’, उनले भने । अवलोकनाका लागि पुगेका प्राविधिकले पहिरोको भौगर्भिक अध्ययन हुनुपर्ने सुझाव दियो । ‘हामीले मात्रै भनेर हुँदैन, यहाँको भूगोलको अवस्था राम्रोसँग जानकारी लिएर मात्रै विकल्पको विषयमा खोज्नुपर्छ’, इन्जिनियर शर्माले भने, ‘दिगो हुने गरी काम गर्न सडकको ट्रयाक परिवर्तन गर्नुपर्ने देखियो ।’

जिल्ला प्रशासन कार्यालयले भूगर्भ विभागलाई पत्राचार गरेर अध्ययनका लागि अनुरोध गर्ने जनाएको छ । ‘हामी पत्र लेख्छौँ, यहाँको भूगोलको अवस्थाका विषयमा अध्ययन गर्न भन्छौँ’, प्रजिअ शिवकुमार कार्कीले भने, ‘सडक बनेको लामो समय भयो, अहिले पहिरो किन गहिरिएर गयो भन्ने विषयमा अध्ययन हुन जरुरी छ ।’ पहिरो खसेको क्षेत्रमा आउने भल बाढी तर्काउने विषयमा समेत अध्ययन भइरहेको उनले बताए ।

पहिरोले कालीगण्डकी करिडोरको बागलुङ–बलेवा सडकखण्ड र त्यसको वैकल्पिक मार्गमा क्षति पुर्याएको छ । एक्लेसाल हुँदै भकुण्डे जाने सडक कामै नलाग्ने गरी भत्किएको छ भने बागलुङ–कुश्मीशेरा सडकमा २ ठाउँमा गहिरो गल्छी बनाएको छ । पहिरोका कारण गत असार १ गतेयता दक्षिण क्षेत्र बेलाबेलामा सडक सम्पर्कविहीन हुने गरेको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.