www.tandavnews.com
Fact ~ In search of truth

अवरुद्ध पोखरा–बागलुङ सडक खुल्न अझै २ दिन लाग्ने

ताण्डव

बिहीबार रातिको अविरल वर्षापछिको पहिरोले अवरुद्ध पोखरा–बागलुङ सडक खुल्न अझै समय लाग्ने भएको छ । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको ८ किलोमिटर सडकमा २० स्थानमा पहिरो खसेर लोकमार्ग क्षतविक्षत भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।

मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि नै खुलाउने प्रयास भए पनि कतै ठूला चट्टानसहितको पहिरो र कतै सडक नै बगाएका कारण लोकमार्ग एकतर्फी खुलाउन मंगलबार दिउँसोसम्म लाग्ने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिए । ‘अहिले ५ वटा स्काभेटर प्रयोग गरिएको छ, तर भ्याप्लेखोला नजिकै घरभन्दा ठूला चट्टान खसेका कारण नेपाली सेनासँग सहकार्य भइरहेको छ’, मरासीनिले भने, ‘मोदीको पाथीचौरबाट कुस्मातर्फ २ स्काभेटर, कुस्माबाट पाथी चौरसम्म २ र बीचमा एक स्काभेटर लगाएका छौँ ।’

Batas

उनका अनुसार भ्याप्लेखोलामा बम विस्फोट गरेर ढुंगा फुटाउने योजना भएपनि भौगोलिक हिसाबले अत्यन्तै कठिन छ । कल्पनाभन्दा ठूला पहिरोले मध्यपहाडी लोकमार्ग क्षतविक्षत भएको र पुरानै अवस्थामा फर्काउन निकै समय लाग्नेछ । सवारीसाधन ठप्प हुँदा ३ घन्टा लगाएर पैदलमार्फत जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य भएका छन् । पर्वतको दोविल्लामा १ सय मिटर सडक नै बगाएकाले नयाँ ट्र्याक खुल्नुपर्नेछ भने धेरै स्थानमा सडकको जग नै बगाएको छ ।

अविरल वर्षापछिको पहिरोले पर्वतमा ठूलो क्षति पुर्याउँदा साबिक धौलागिरिका पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङमा यातयातसँगै विद्युत्, टेलिफोन तथा इन्टेरनेट सेवा अवरुद्ध भएको थियो । विद्युत्, टेलिफोन तथा इन्टेरनेट सेवा भने शनिबार साँझदेखि सञ्चालन भएपनि सडक सञ्चालमा सिंगो ४ जिल्लाको सम्पर्कविच्छेद भएको हो । १ सय ३२ केभिए प्रसारण लाइनको दोविल्ला नजिकैको टावरमा क्षति पुर्याउँदा बिहीबार रातिदेखि दाना–खुर्कोट प्रसारण लाइन बन्द भएको छ ।

उक्त प्रसारण लाइनलाई मर्मतपछि सञ्चालन गर्न ५ दिन लाग्ने जनाइएको छ । दोविल्लामा ६ खम्बामा पुर्याएको क्षति मर्मतपछि धौलागिरीमा वितरण भइरहेको ३३ केभिए प्रसारण लाइन मर्मतपछि शनिबार साँझदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख इन्जिनियर शिवनारायण गोशलीलले जानकारी दिए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.