www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगर: बजेटकाे अख्तियारी प्रमुख प्रशासकीय अधिकृत ‘महेश बराल’लाई

जीवन सुवेदी
पाेखरा, ताण्डव न्यूज ।

पोखरा महानगरपालिकामा आर्थिक वर्ष २०७८/७९ मा बजेट कार्यान्वयनको प्रक्रिया सुरु भएको छ । प्रत्येक आर्थिक वर्षको श्रावण ७ गतेदेखि बजेट कार्यान्वयन हुने प्रावधान भएपनि श्रावण १ गते नै महानगरका प्रमुख मानबहादुर जिसीको स्वास्थ्यमा समस्या आएपछि बजेट कार्यान्वयन अख्तियारी नहुँदा समस्या भएको थियो ।

वार्षिक बजेट कार्यान्वयनका लागि महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई मेयर जिसीले यहि भदौ २२ गते अख्तियारी दिएका हुन् ।

Batas

५४ दिन ढिला गरी बजेट कार्यान्वयनमा भएपनि १ महिना ढिलाइ भएकाे महानगरका वित्तिय व्यवस्थापन महाशाखाका निर्देशक दयाराम पौडेलले बताए । “श्रावण महिनामै अख्तियारी दिएको भएपनि बजेट कार्यान्वयन हुने त भदौबाट नै हो,’ उनले भने, ‘विरामी परेको कारण करिब १ महिना चाहिँ ढिला भयो।’

बजेट कार्यान्वयनमा ढिलाई हुँदा महत्वपूर्ण योजना र कर्मचारीहरुको तलब समयमा उपलब्ध गराउन समस्या परेको उनले बताए । “त्यस्तो ठूलो प्रभाव त परेको छैन, योजनाहरुको कार्यान्वयन र कर्मचारीहरुलाई साउन महिनाको तलब खुवाउन केहि ढिला मात्र भएको हो” उनले भने । मेयरबाट बजेट कार्यान्वयनकाे अख्तियारी प्राप्त भईसकेपछि आर्थिक विषयमा भने अब समस्या नहुने उनको भनाई थियो ।

गत श्रावण १ गते एक्कासी स्वास्थ्यमा समस्या आएपछि मणिपाल अस्पताल पुर्याइएका मेयर मानबहादुर जिसीलाई मष्तिष्कघात पुष्टि भएको थियो । लगत्तै हेलिकप्टर मार्फत काठमाण्डौको बासबारीस्थित न्यूरो अस्पतालमा १९ दिनसम्म राखेर उपचार गरिएको थियो ।

यसैबीच मेयर जिसीको स्वास्थ्यमा क्रमिक सुधार आएको उनीसँगै रहेका लक्ष्मण तिमिल्सिनाले जानकारी दिएका छन् । ‘मेयरसाबले अहिले दोहोरो कुराकानी गर्न सक्नुहुन्छ’. उनले भने “फिजियोथेरापी भइरहेको छ, धेरै सुधार भएको छ” उनका अनुसार मेयर जिसीको टाउकोमा अब सानो अपरेशन गर्नुपर्ने काम बाँकी छ । यसअघि ‘हेमिक्रेनीक्टोमी’ गरिएको र अब ‘क्रेनियोप्लास्टी’पछि उनी पोखरा आउने तिमिल्सिनाले जानकारी दिए ।

पोखरा आएपछि नीतिगत छलफलहरुमा मेयर सहभागी हुन सक्ने अपेक्षा गरिएको पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले बताए । “कार्यकारी जिम्मेवारी उपमेयरलाई दिने कुरा पनि छ, तर उहाँ आफैपनि बैठकहरुमा सहभागी हुन सक्नुहुन्छ भन्ने हामीलाई विश्वास छ” उनले भने ।

यद्यपी मेयर जिसी सक्रिय जीवनमा फर्कन भने केही समय लाग्न सक्ने उनको उपचारमा खटिएका चिकित्सक बताउँछन् । मेयर जिसीको बायाँ हात र खुट्टाको फिजियोथेरापी भइरहेकोे छ । हाल उनी काठमाण्डौको बुढानिलकण्ठस्थित आफ्नी छोरीको निवासमा रहेर दैनिक उपचार तथा फिजियाेथेरापी गराइरहेका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.