www.tandavnews.com
Fact ~ In search of truth

खुल्न थाले स्याङ्जाका शक्तिपीठ

वालिङ

कोभिड–१९ को संक्रमणका कारण बन्द भएका यहाँका शक्तिपीठ क्रमशः खुल्न थालेका छन् । जिल्ला सुरक्षा समितिको बैठकले संक्रमणको दर घट्दै गएकाले स्मार्ट लकडाउन गर्ने निर्णयसँगै यहाँका मुख्य शक्तिपीठ खुल्न थालेका हुन् ।

कोरोनाका कारण गत वैशाखदेखि बन्द भएका शक्तिपीठ असोज लागेसँगै खुलेपछि क्रमशः भक्तजन पूजाआजाका लागि पुग्न थालेका छन् । स्याङ्जाको वालिङ ८ गह्रौँसुरमा अवस्थित प्रसिद्ध गह्रौँसुर मन्दिरमा ५ महिनाअघिदेखि नृत्य पूजामात्रै हुँदै आएकामा शुक्रबारदेखि भक्तजनका लागि खुला गरिएको गह्रौँसुर धार्मिक एवं पर्यटकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खाँणले जानकारी दिए ।

Batas

‘५ महिनासम्म नित्य पूजामात्रै हुँदै आएको मन्दिर यही असोज १ गतेदेखि सर्वसाधारणलाई पूजाआजा गर्न खुला गरेका छौँ’, अध्यक्ष खाँणले भने, ‘पूजाआजाका लागि आउने दर्शनार्थीले सामाजिक दूरी कायम गर्नुपर्ने, मास्क तथा सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने र स्वास्थ्यसम्बन्धी अन्य मापदण्ड अपनाउनुपर्ने गरी खुला गरेका हौँ ।’

यसैगरी भिरकोट नगरपालिका–४ छाङ्छाङदीस्थित छायाँक्षेत्र मन्दिर पनि दर्शनार्थीका लागि खुला गरिएको छ । यसअघि त्यहाँ नित्य पूजामात्रै हुँदै आएको थियो । स्वस्थानी व्रतकथामा उल्लेख गरिएनुसार पार्वतीको अन्तिम अंग यस ठाउँमा पतन भएको हो भन्ने धार्मिक विश्वास छ । स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड लागू गर्नेगरी दर्शनार्थीका लागि मन्दिर खुला गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर श्रेष्ठले जानकारी दिए ।

वालिङ–१२ घुरुङ्खास्थित तीनकन्या अकलादेवी मन्दिर पनि लागि खुला गरिएको छ । कोभिडको संक्रमण दर कम हुँदै गएकाले सर्वसाधारणका लागि खुला गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भविराज गुरुङले बताए । कालीगण्डकी गाउँपालिका–३ स्थित शाह वंशको कूल देवीकारुपमा परिचित छ आलमदेवी मन्दिर । जिल्लामा मात्रै नभएर देश तथा विदेशका विभिन्न स्थानबाट दर्शनार्थी यहाँ पूजाआजा गर्न आउने गरेका थिए । कोरोनाका कारण बन्द भएको मन्दिर अहिले खुला गरिएको मन्दिरका पूजा व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह रानाले बताए ।

पुतलीबजार–१४ सतौँकोटस्थित चण्डी र कालिका मन्दिर पनि खुला गरिएको छ । दुबै मन्दिरका देवीलाई सतौँकोटे राजाको इष्टदेवीकारुपमा पुजिदै आएको छ । यहाँ देशका विभिन्न भाग तथा छिमेकी देश भारतबाट पनि वर्षेनी श्रद्धालु भक्तजन आउने गर्छन् ।

 

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.