www.tandavnews.com
Fact ~ In search of truth

तपाइसँग प्रयोग भएका कपडा/सामान छन् ? बेच्न वा किन्न चाहानुहुन्छ ? पोखरामा खुल्यो ‘थ्रिफ्टी सेभेन’

जीवन सुवेदी
पोखरा/ताण्डव न्यूज

संसारमा सबै मानिस एकै आर्थिक हैसियतका छैनन् । कसैको आर्थिक अवस्था कमजोर छ त कसैको बलियो । बलियो आर्थिक अवस्था हुनेहरुलाई आवस्यक सामान किन्न कुनै समस्या हुँदैन । विभिन्न बहानामा उनीहरु वस्तु खरिद गरिरहेकै हुन्छन् । ब्राण्डेड सामानहरु प्रयोग गर्न मन हुँदा हुँदै पनि उपभोग गर्न नसक्नेहरुका लागि पोखरामा नयाँ अवधारणाको पसल सञ्चालनमा आएको छ ।

‘थ्रिफ्टी सेभेन’ अर्थात मितव्ययी पसल । पोखराको सिमलचौरस्थित जनप्रिय स्कूलको गेट अगाडी हालैमात्र सञ्चालनमा आएको यो पसलमा सबै उमेर समूहका व्यक्तिहरुका लागि उपयुक्त हुने हरेक किसिमका सामानहरु राखिएका छन् । जहाँ आफूलाई चाहिएको सामान किन्न र आफूसंग भएको सामान बेच्न समेत सहजै सकिन्छ । पसलमा बच्चादेखि बृद्ध सम्मका लेडिज तथा जेन्स कपडाहरु, झोला, जुत्ता, चप्पल, घडी, सजावटका सामानहरु, पुस्तक लगायत घरायसी सामानहरु समेत छन् ।

Batas

विदेशतिर यस्ता पसलहरु देखेको र पोखरामा पनि यस्तो पसलको आवस्यकता महशुस गरी पसल सञ्चालनमा ल्याएको पसलकी सञ्चालिका सुस्मिता शर्मा बताउँछिन् । “म अष्ट्रेलिया हुँदा यस्ता ‘थ्रिफ्टी शप’हरु धेरै देखेँ, त्यहाँ गएर सामान पनि किनेँ, नेपालमा पनि यस्तो पसल गर्ने सोँच बनाएर पसल सञ्चालनमा ल्याएका हौँ” उनले भनिन् । आफूसँग भएका वस्तु विक्री गर्न, चाहिएका सामान खरिद गर्न र कसैलाई सहयोग गर्नका लागि पसलले सघाउ पुग्ने उनको दावी छ । “कतिपय व्यक्तिहरुले कपडाहरु किन्नुहुन्छ तर एक दुईपटक लगाएपछि लगाउन छोड्नुहुन्छ, त्यो त्यत्तिकै दराजमा थन्किएको हुन्छ, सित्तैमा दिने कुरा पनि भएन’, उनले भनिन् “त्यस्ता कपडा तथा अरु सामानहरुपनि हामीले सहजै खरिद गरी ग्राहकसम्म पुर्याउँछौँ ।”

अन्र्तराष्ट्रिय स्तरका ब्रान्डेड सामान खरिद गर्न चाहनेहरुका लागि र आफूसंग भएका त्यस्ता सामान विक्री गर्नेहरुबीच पुलको काम गर्ने शर्मा बताउँछिन् । उनी भन्छिन, “ब्राण्डेड सामान खरिद गर्न धेरै लगानी गर्न नसक्नेहरुका लागि हामी माध्यम बन्ने कोशिस गर्दैछौँ ।” पसलमा ९९ रुपैयादेखि माथिका सामानहरु रहेको उनले सुनाईन् ।

कसैसंग भएका सामान बेच्न मात्र होईन कसैलाई सहयोग पुगोस भनेर छुट्टै ठाउँ बनाएको उनले जानकारी दिईन् । “कसैले डोनेट (सित्तैमा दिने) गर्न चाहनुहुन्छ भनेपनि डोनेट को अप्सन पनि दिएका छौँ र त्यस्ता सामानहरु हामीले ग्राहकरुलाई फ्रि मा नै दिन्छौँ ।”

पसलको शुभारम्भका क्रममा कुनै तामझाम नगरिएको भएपनि धेरैले चासो राखेर पसल हेर्न र सामानबारे बुझ्न आउने गरेको सञ्चालिका शर्माले बताईन् । “अहिले नयाँ–नयाँ छौँ, विस्तारै हाम्रो कन्सेप्ट बुझेपछि उहाँहरु आउनुहुन्छ भन्ने विश्वास छ” उनले भनिन् । यसलाई ‘सस्टेनेवल फेसन’का रुपमा विकाश गरी यसका फाईदाहरुबारे सबैलाई जानकारी दिने अभियानमा आफू रहेको शर्माको भनाई छ ।

कसरी हुन्छ त पसलमा किनबेच ? भन्ने ताण्डवको प्रश्नमा सुस्मिताले भनिन्, “सामान आवस्यक भएका व्यक्ति सोझै पसलमा आएर आफूलाई आवस्यकता अनुसारको सामान खरिद गर्न सक्नुहुन्छ । तर विक्री गर्नका लागि भने केही नियम छन् । सामान फाटेको च्यातिएको वा विग्रेको हुनुहुँदैन । धोएर सफा गरिएको मात्र हामी लिन्छौँ ।” आफूसंग भएको सामानको मुल्य तोकेर पसलमा छोडेपछि पसलले विक्री भएको सामानबाट ३५ प्रतिशत रकम पसलले राखेर अरु सबै रकम विक्रेतालाई नै दिने उनले बताईन् ।

उसो त पसलमा अहिले ठूलो लगानी भएको छैन । विक्रेताहरुबाट लिएर विक्री भएपछि मात्र रकम दिने भएकाले सामानहरुमा पहिल्यै लगानी गर्नु पर्दैन । तर सजावटका लागि चाहिँ आकर्षक ठाउँ बनाईएको छ । सजावट र पसल रहने ठाउँको भाडा मात्र हाल पसलको लगानी हो ।

व्यवसाय गर्नलाई ठुलै रकम खर्च गर्नुपर्छ भन्ने मान्यतालाई पर राख्दै राम्रो अवधारणा विकास गर्न सक्ने हो भने थोरै लगानीमा पनि राम्रो व्यवसाय गर्न सकिन्छ भन्ने उदहारण बनेको छ ‘थ्रिफ्टी सेभेन’ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.