www.tandavnews.com
Fact ~ In search of truth

राहतको पहल चाँडै हुन्छ : प्रम देउवा

डडेल्धुरा ।

सुदूरपश्चिमका पहाडी जिल्ला डोटी र बझाङ पुगेर गृहजिल्ला डडेल्धुरा पुगेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र पहिरापीडितका लागि चाँडै राहतको व्यवस्था गर्ने बताएका छन् ।

आइतबारदेखि लगातार परेको वर्षाका कारण सुदूरपश्चिमका विभिन्न जिल्लामा धेरै धनजनको क्षति भएको छ भने सडक, बाटोघाटोका साथै पाक्नै लागेका धानबाली र अन्य पशुचौपायाका साथै अन्नबालीसमेत नष्ट गरेको छ । सुदूरपश्चिममा यसै साता भएको वर्षाले भएको क्षतिको विवरण लिन अर्थमन्त्रीसहितको भ्रमणमा प्रभावित जिल्ला पुगेका प्रधानमन्त्री देउवालाई स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, पत्रकारहरुले जिल्लाका समस्याका बारेमा कुरा राखेका थिए ।

Batas

तीन दिनको अविरल वर्षाका कारण जिल्लामा दुई जनाको पहिरामा परी ज्यान गएको छ भने दर्जनभन्दा बढी मानिस घाइते भएको जिल्ला समन्वय प्रमुख गणेशराज भट्टले प्रधानमन्त्री देउवालाई जानकारी गराए । प्रधानमन्त्री भएपश्चात् पहिलोपटक गृहजिल्ला आएका प्रधानमन्त्री देउवाले प्राकृतिक घटनाबाट पुगेको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले मृतक र घाइते परिवारका साथै धनजनको क्षति भएका परिवारलाई चाँडै राहतको व्यवस्था गर्ने बताए।

सुदूरपश्चिम अवलोकन भ्रमणमा रहनुभएका प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुरा पुगी आजै कञ्चनपुरका लागि निस्केका छन् । बाढी–पहिरो प्रभावित क्षेत्र बझाङको थलारा, चैनपुर, डोटीको दिपायल, बैतडीको ढुङ्गाड निरीक्षणपछि उनि गृहजिल्ला डडेल्धुरा आइपुगेकाे हाे । सदरमुकाम नजिकै रहेको अमगरगढी नगरपालिका–१ दहस्थित सैनिक ब्यारेकमा यहाँका जनप्रतिनिधिसँग ब्रिफिङ लिएपछि उनि जोगबुढाको अवस्था अवलोकन गरी प्रधानमन्त्री देउवा कञ्चनपुर हिँडेका छन् ।

जोगबुढाबाट प्रधानमन्त्री देउवा कञ्चनपुरको महेन्द्रनगर, दोधारा, चाँदनी र कैलालीको धनगढी जानेछन् । धनगढीबाट उनि शुक्रबार काठमाडौँ फर्किने कार्यक्रम छ । अविरल वर्षाका कारण सुदूरपश्चिममा ३० जनाको मृत्यु भइसकेको छ भने २४ जना अझै बेपत्ता छन् । यस्तै बाढीपहिरामा परेर १६ जना घाइते भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.