www.tandavnews.com
Fact ~ In search of truth

विमानस्थलबाटै टिकट छैन भन्दै फर्काइयो बिरामीलाई

खलंगा

यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले रेफर गरेको कागज देखाउँदै गुठीचौर गाउँपालिकाका रिमाल पाण्डे विमानस्थल पुगिन् । उनको ३ महिनाको छोरा रिवानलाई एक्कासि श्वासप्रश्वासको समस्या भएपछि अस्पतालमा उपचारत थिए । अस्पतालले नर्मल श्वासप्रश्वासको दर ५० देखि ६० हुनुपर्ने भए पनि घटेर ३६ मा पुगेपछि थप उपचारका लागि शनिबार नै रेफर गरेको थियो । निकै गम्भीर प्रकृतिको बिरामी छोरा लिएर उनी विमानस्थल पुगेकी थिइन् । हवाई टिकटका लागि एयरलाइन्सका कर्मचारीदेखि एजेन्सी सबैलाई हारगुहार गरिन् तर उनले टिकट पाइनन् ।

विमानस्थल जानुअघि उनले पटकपटक फोन गरेकी बताइन् । उनले देखाएको रेफर कागजको विमानस्थलले सुनुवाइ गरेन । उनी छोरा लिएर घर फर्किइन् । उनले भनिन्, ‘समयमै रेफर गरिएको अस्पतालमा लिएको भए छोरा निको हुने आश गरेको थिए । विमानस्थलमा देखिएको मनपरीले बिरामी छोरो बोकेर घर फर्किन बाध्य भए । २ दिनअघिदेखि टिकटका लागि पहल थालेको थिएँ । एयरलाइन्स र एजेन्सीका मान्छेलाई फोन गरेको थिएँ । छोराको अवस्था जटिल हुँदै टिकटका लागि पहल गरेको थिएँ तर टिकट पाउन सकिनँ । अन्ततः बिरामी छोरो बोकेर घर फर्किंए ।’

Batas

एयरलाइन्सका कर्मचारी र एजेन्सीका मान्छेले ३ दिनअघिदेखि सिट प्याक भइसकेको जनाउँदै उनलाई फर्काइदिएका थिए । बिरामीले जहाजमा उड्न नपाउनु विडम्बना हो । उनले भनिन्, ‘हामी अफ्ठयारो गाह्रो पर्दा हारगुहार माग्छौँ । टिकट पाउँदैनौँ । हवाई सेवा पहुँचवालाको मात्र होइन ।’

२ दिनअघि जुम्ला विमानस्थलमा भएको सर्वपक्षीय बैठकले बिरामीलाई पहिलो प्राथमिकतामा राखेर टिकट व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको थियो । कुनै पनि बिरामी जहाजमा जान पाउनुपर्ने जनाउँदै बिरामीको विकल्प अरू हुन नसक्ने बैठकको निष्कर्ष थियो । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बिरामीले टिकट नपाउनु सुखद पक्ष नभएको बताए । उनले भने, ‘जुनसुकै एयर कम्पनीले बिरामीलाई मध्यनजर गर्दै पहिलो प्राथमिकता दिनुपर्छ । अनि मात्र जहाज कम्पनीले सेवा दिएको अनुभूति हुनेछ ।’ उनले दुःखी बिरामीका लागि कर्णालीको हवाई सेवा आकाशको फल आँखा तरी मर जस्तै भएको बताए ।

विमानस्थलमा भएको भद्रगोलको बारेमा जति निर्णय र छलफल भए पनि इटिकटको व्यवस्था नभएसम्म नरोकिने उनले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले हवाई सेवामा रेफर भएका बिरामीलाई पहिलो प्राथमिकता दिन निर्देश गरिएको जानकारी दिए । उनले भने, ‘धेरै दिनदेखि बिरामी होल्डमा थिए । अक्सिजन सिलिन्डर अभावले रोकिएका पातारासीका एक बिरामीलाई सोमबार पठाइएको थियो । अन्य बिरामीलाई जटिलता हेरेर प्राथमिकता दिइन्छ । सबैले समान रुपमा हवाई सेवा पाउनुपर्छ ।’ बिरामीलाई टिकट मिलाउन पहल गर्ने प्रतिबद्धता उनले जनाए । यहाँ तारा, सीता र समिट एयरका जहाज चल्ने गरेका छन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.