www.tandavnews.com
Fact ~ In search of truth

पोखराका सडकमा छाडा चौपाया नियन्त्रणमा आउन सकेन, दुर्घटनाको जोखिम

जीवन सुवेदी
पोखरा, ताण्डव न्यूज ।

दूध दिईन्जेल दुहेर खाने, विरामी, दुध दिन छोडेपछि वा थारो भएपछि गोठबाट फुकाएर सडकमा छोडिदिने । पशुधनीहरुको यहि प्रबृत्तिका कारण पोखराका सडकहरुमा छाडा चौपाया नियन्त्रणमा आउन सकेका छैनन् । जसका कारण शहरको सुन्दरतामा आँच पुगेको छ भने दुर्घटनाको जोखिमपनि उत्तिकै बढाएको छ ।

पोखराको मुख्य केन्द्रकै सडकहरुमा छाडा पशुचौपाया रहेका छन् । महेन्द्रपुल, नयाबजार, अमरसिंह, हस्पिटलचोक, लेकसाईड, एयरपोर्ट, नागढुंगा, विरौटा, बगर, रामबजार लगायतका क्षेत्रमा छाडा चौपायाहरु देखिन्छन् । महानगरका भित्री सडकमा मात्र नभई हाईवे क्षेत्रमा समेत पशुचौपायाहरु यत्रतत्र रहेका छन् । चौपायाहरुमध्ये विशेषगरी गाई र बाच्छाबाच्छीहरु यसरी सडकमा छाडा छोडिएको भेटिन्छ ।

Batas

“पहिले पहिले जस्तो त छैन तर सडकमा गाई बाच्छाहरु अझै पनि पुरै नियन्त्रणमा आएका छ जस्तो लाग्दैन” पोखराको रामबजारकी निर्मला गुरुङ भन्छिन् “कहिले त बाटोको बीचमै गाईहरु लहरै बसेका हुन्छन्” । कतिपय ठाउँमा छाडा चौपायाकै कारण सवारी आवतजावत तथा व्यवस्थापनमामा समेत समस्या हुने गरेको छ ।

साँझको समयमा गाईवस्तुकै कारण सडकमा दुर्घटना समेत हुने र मानिसको ज्यान समेत जाने गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख अमृत बस्नेतले बताए । चौपाया संगै सवारी ठोक्किएर मानिसको ज्यान समेत गएको उनले बताए । गत भदौ ७ गते पोखराको एयरपोर्ट अगाडि ग २० प ६०७५ नम्बरको मोटरसाईकल चौपायासँग ठोक्किदा चालकको मृत्यु भएको तथ्याङ्क उनले सुनाए । त्यस्तै गत भदौ १४ गते पोखराको रानीपौवामा ग ११ प ७०० नम्बरको मोटरसाईकलले गाईलाई ठक्कर दिँदा चालक र गाई दुवै घाईते भएका थिए । “यी दुर्घटना पछिल्लो ३ महिना यताका हुन् । यस्ता दुर्घटना पोखरामा थुप्रै भएका छन्, “छाडा चौपायाले विशेषगरी रातीको समयमा दुर्घटना बढाएको छ” बस्नेतले भने ।

सडकमा छाडा छोडिएका चौपाया पोखरा महानगरपालिकाले पोखरा १४ बाच्छीबुडुवास्थित कान्जिहाउसमा व्यवस्थापन गर्दै आएको छ । कान्जीहाउसमा हाल १२५ देखि १३० वटा गाईबाच्छा राखिएको छ । अहिले त्यहाँ रहेका गाईबाच्छालाई दिउँसो चरन क्षेत्रमा लैजाने र साँझ गोठमै फर्काउने गरिएको कान्जीहाउसका व्यवस्थापक रेशम जिसीले ताण्डव न्यूजलाई बताए ।

“यहाँ निकै राम्रोसंग हेरचाह तथा व्यवस्थापन गरेका छौँ उनले भने “करिब दुई सय रोपनी जग्गामा रहेको चर क्षेत्रकै कारणपनि सजिलो भएको छ । यद्यपी किसानहरुले सडकमा छोड्ने प्रबृत्ति हट्न नसक्दा व्यवस्थापनमा समस्या भएको जिसीले बताए । चौपाया छाडारुपमा छोडेको भेटिए पहिलो पटकका लागि जरिवाना गराई त्यस उप्रान्त छाडारुपमा नछोड्ने कवुलियत गराई पशुधनीलाई नै जिम्मा लगाइने गरिएको उनको भनाई छ । सडकमा फेरिपनि पशुचौपाया छाडा रुपमा देखिन थालेको स्वीकार्दै जिसीले ती सबैको व्यवस्थापनका बारेमा महानगरसंग समन्वय गरिरहेको बताए । “अहिले फेरिक सडकमा चौपायाहरु बढ्न थालेका छन्” उनले भने “हामीले नगर प्रहरी संग समन्वय गरेर छिटैनै व्यवस्थापन गर्छौँ ।”

छाडा चौपाया व्यवस्थापनमा महानगरको निरिक्षण शाखा, फोहोर मैला व्यवस्थापन शाखा र जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा चौपाया व्यवस्थापन गरिँदै आएको छ ।

हाल महानगरले सञ्चालन गर्दै आएको कान्जीहाउस क्षेत्र ल्याण्डफिल साईटमा रहेको क्षेत्र हो । ल्याण्डफिल्ड हटाउने तयारी भैरहेका बेला कान्जिहाउस भने त्यस ठाउँबाट हटाउने कुनै योजना नरहेको महानगरका कार्यवहाक मेयर मन्जुदेवी गुरुङले बताईन् । “विमानस्थल क्षेत्रलाई कान्जिहाउसले कुनै असर गर्दैन कान्जीहाउस सार्ने कुनै योजना छैन” गुरुङले भनिन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.