www.tandavnews.com
Fact ~ In search of truth

जीर्ण बन्दै बेँसीशहरका सडक

लमजुङ

जिल्लाकै सबैभन्दा सुगम तथा सुविधा सम्पन्न सदरमुकामको बेँसीशहर नगरपालिकाको सडक जीर्ण बन्दै गएको छ ।

सम्बन्धित निकाय तथा नगरपालिकाको बेवास्ताका कारण मर्मत नहुँदा रानीकुवा, मजुवाखेला नजिकैको सडक पुल, शेरा चोक, फुलबारी चोक, झिङ्गेखोला, ल्याण्ड स्टार साइट, घलेगाउँ चोकलगायत स्थानका सडक जीर्ण बन्दै गएको हो ।

Batas

अन्नपूर्ण पदमार्गको प्रवेशद्वारसमेत रहेको बेँसीशहरको सडक जीर्ण हुँदा आन्तरिक तथा विदेशी पर्यटक, सवारी चालक, यात्रुदेखि स्थानीयवासीले समेत बढी सास्ती खेप्दै आएका छन् । रानीकुवा र मजुवाखोलाबीच भागको झण्डै ५० मिटर सडकको कालोपत्र गतवर्ष र यस वर्षको बाढीपहिरो भत्काएको छ ।

यहाँका केही भाग सडकसमेत बाढीले बगाएको छ । यसरी सडक जीर्ण बन्दै गए पनि मर्मत हुन नसक्दा पानी परेको बेलामा हिलाम्मे र अन्य बेला धुलाम्मे हुँदा सवारी साधनदेखि पैदल यात्रुसम्मलाई समस्या हुनथालेको छ । यही नजिकको मजुवा पुलसमेत जीर्ण बन्दै गएको छ । उक्त पुल काटेपछि मुख्य बजारका सडकमा खाल्डैखाल्डा देखिन्छ ।

यहाँ वर्षा भएको बेलामा खाल्डाखुल्डीमा जमेको पानीले हिलो तथा पानी छ्यापने हुँदा समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ । यस्ता खाल्डाखुल्डीले गर्दा सवारी साधनसमेत सहज रुपमा सञ्चालन गर्न समस्या हुने गरेको छ ।

सर्वसाधरण मात्र मात्र होइन यही बाटोहुँदै नगर प्रमुख, उपप्रमुख, प्रजिअ, जिल्लाका विभिन्न कार्यालय प्रमुख नियमित ओहोरदोहोर गर्ने गरे पनि यस विषयमा कुनै चासो नै दिइएको छैन ।

केही समयअघि शेरा चोकमा हिँड्दै गर्दा एउटा मोटरसाइकलले खाल्डोमा जमेको पानी शरीरभरी पारेर रुझाएको स्थानीयवासी लक्ष्मी श्रेष्ठले बताइन् । उनले भनिन्, ‘यहाँ एक दिनमात्र होइन वर्षाभएका बेलामा अन्य यात्रुलाई पनि जथाभावी सवारी चलाउनेले रुझाउने भएकाले डराइडराइ हिँडनुपर्ने भएको छ ।’

चौतर्फी दबाबपछि नगरपालिकाले फूलबारीचोक तलदेखि कृषि ज्ञान केन्द्र कार्यालयबीच भाग सडकमा भने ढलान गरेको छ । नगरपालिकाको ५ लाख बजेटमा करिब २० मिटर सडक ढलान गरिएको हो ।

नगर प्रमुख गुमानसिंह अर्यालले भने, ‘नगरभित्रका सडकमर्मत गर्ने दायित्व हाम्रो भए पनि बजेट अभावले गर्दा केही गर्न सकेका छैनौ ।’ नगरका पुराना सडक धेरै भत्किएका छन्, मर्मतका लागि करौडांै लाग्ने भएकाले लागत अनुमान गरी पैसाको जोहो भएपछि मर्मत गरिने उनको भनाइ थियो ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.