www.tandavnews.com
Fact ~ In search of truth

गोरखा नगरपालिका नगर क्षेत्रभित्रका फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई

गोरखा

गोरखा नगरपालिकाले नगर क्षेत्रभित्रका फोहोर व्यवस्थापन गर्ने जिम्मा निजी क्षेत्रलाई दिएको छ । नगरपालिकाले फोहर संकलन तथा व्यवस्थापन गर्नेलगायतका सबै जिम्मेवारी क्लिन गोरखा प्रालिलाई दिएको हो । नगरवासीले फोहर व्यवस्थापन गर्न नगरपालिकाले नसकेको आरोप लगाइरहेका थिए ।

नगरपालिकाका वातावरण अधिकृत धुव्र घिमिरेले निजी क्षेत्रसँग सम्झौता गरी यही कात्तिक १६ गतेदेखि फोहर उठाउने सबै जिम्मेवारी दिएको उनले जानकारी दिए । ‘अबदेखि नगरपालिकाभित्रका १४ वटै वडाको फोहोर संकलन गर्ने काम प्रालिले गर्छ’, उनले भने, ‘प्रालिले नै नगरवासीसँग फोहोर व्यवस्थापनको शुल्क लिनेछ ।’

Batas

सो कम्पनीले नगरपालिकामा रु २ लाख धरौटी राखेर फोहोर संकलन सुरु गरिसकेको छ । ‘अहिले सम्झौताअनुसार धरौटी रकम राखेर प्रालिले काम सुरु गरिसकेको छ’, उनले भने, ‘सम्झौता लागू भएको ६ महिनासम्म नगरपालिका हाल नगरपालिकामा कार्यरत सरसफाइमा खटिँदै आएका ७ कर्मचारीलाई प्रालि र नगरपालिकाले आधा÷आधा तलब खुवाउने र पछि प्रालिले नै तलब खुवाउनु पर्नेछ ।’

नगरपालिकाले प्रयोग गर्दै आएको फोहोर उठाउने एउटा ट्र्याक्टर र टिपरसमेत १ वर्षका लागि सो कम्पनीलाई प्रयोग गर्न दिने र १ वर्षपछि भने उसले नगरपालिकाले निर्धारण गरेअनुसारको मासिक भाडा नगरपालिकालाई बुझाउने गरी सम्झौता भएको उनले बताए । कम्पनीले नगरपालिकाको मापदण्डभित्रै रहेर नगरवासीसँग फोहोर व्यवस्थापनका लागि शुल्क लिने अधिकृत घिमिरेले जानकारी दिए ।

नगरपालिकाले कम्पनीसँग ५ वर्षका लागि फोहोर व्यवस्थापन गर्ने गरी सम्झौता गरेको उनले बताए । ‘नगरवासीसँग फोहोर संकलनवापतको शुल्क उठाउन प्रालिलाई नगरपालिकाले रसिद प्रमाणित गरिदिन्छ’, अधिकृत घिमिरेले भने, ‘त्यही रसिदमार्फत भुक्तानी लिने र संकलन भएको रकमको २० प्रतिशत प्रत्येक चौमासिकमा नगरपालिकामा बुझाउनुपर्ने गरी सम्झौता भएको छ ।’

कम्पनीले फोहोर व्यवस्थापनका काम सुरु गरेसँगै नगर क्षेत्रलाई सरसफाइमा नेपालको उत्कृष्ट बनाउन प्रतिबद्ध रहेको जनाएको छ । कम्पनीले आफ्नो घरबाट निस्कने फोहरलाई कुहिने र नकुहिने छुट्याइ कर्मचारीलाई सहयोग गरिदिन पनि नगरवासीलाई अनुरोध गरेको छ । फोहोर व्यवस्थापन शुल्कवापत नगरवासीले सदस्यता शुल्क रु २०० तिर्नुपर्ने र निजी तथा व्यक्तिगत प्रयोजनको घर÷प्रतिपरिवार मासिक रु १००, चिया पसल फुटपाथ पसलले रु १५०, व्यावसायिक पसल प्रत्येक सटर, वित्तीय संघसंस्थाले रु २००, रेष्टुरेन्ट, मासु, तरकारी, फलफूल पसल, सैलुन, ब्यूटीपार्लरले रु ३०० शुल्क बुझाउनुपर्ने जनाएको छ ।

यसबाहेक मोटरसाइकल ग्यारेज, लजसहितको सामान्य होटल, क्लिनिकको समान्य फोहोर भएकाहरुले मासिक रु ५००, गाडी ग्यारेज, लजसहितका ठूला होटलले मासिक रु १ हजार र हस्पिटल, नर्सिङहोमले मासिक रु २ हजार शुल्क बुझाउनुपर्ने उल्लेख छ । घरबाट निस्कने कवाडी सामग्रीसमेत उचित मूल्य दिएर कम्पनीले खरिद गर्ने भएकाले बाहिरबाट आउने व्यक्तिलाई बिक्री वितरण नगर्नसमेत आग्रह गरेको छ । यसअघि नगरपालिका आफैँले नगर क्षेत्रभित्रको फोहोर व्यवस्थापन गर्दै आएको थियो ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.