www.tandavnews.com
Fact ~ In search of truth

धार्मिक मेलाका लागि गाउँपालिकाले दियो २ दिन सार्वजनिक बिदा

खोटाङ

खोटाङको बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई लक्षित गरी बराहपोखरी र जन्तेढुंगा गाउँपालिकाले कात्तिक २८ र २९ गते सार्वजनिक बिदा दिएको छ । हरिवोधनी एकादशीमा एक सातासम्म बराहपोखरी मेला लाग्दछ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई सभ्य र भव्य बनाउन दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको दुवै गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । मेलालाई व्यवस्थित बनाउन दुवै गाउँपालिका तथा बराहपोखरी विकास समितिका तर्फबाट स्वयंसेवकसमेत परिचालन गरिएको छ ।

Batas

मेलामा हुनसक्ने आपाराधिक घटनालाई न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय चिसापानी र बराहपोखरी तथा सशस्त्र प्रहरी गुल्म चिसापानीबाट प्रहरी टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए । मेलामा दिवंगत भएका आफ्ना आफन्तका नाममा सतबीज छर्ने, फूल तार्ने तथा धामीझाँक्री नाच्ने र दर्शन गर्न आउने भक्तजनका साथै अवलोकन भ्रमण गर्न आउने पर्यटकको भीड लाग्ने गर्दछ ।

चारैतिर घना जंगलले घेरिएको ३३० मिटर लम्बाइ र २१० मिटर चौडाइ क्षेत्रफलमा फैलिएको प्राकृतिकरूपले बनेको बराहपोखरीमा संसारकै दुर्लभ रातो माछासमेत पाइन्छ । समुद्री सतहदेखि करिब १ हजार ३०० मिटर उचाइमा रहेको सो स्थानमा हरिवोधनी एकादशीसँगै रामनवमी, शिवरात्रि, बालाचतुर्दशी र माघे सङ्क्रान्तिमा पनि मेला लाग्ने गरेको छ ।

मेला हेर्न उदयपुर, भोजपुर, धनकुटा, इलाम, ओखलढुंगा, सुनसरी, सप्तरी, सिरहा तथा भारत, चीन, भुटानलगायतका दर्शनार्थी एवं भक्तजन आउने गरेका छन् । परापूर्वकालमा एउटा घरको अगेनो ‘खाना पकाउने ठाउँ’ बाट माछा निस्किएपछि त्यसलाई मारेर पोलेर खादा त्यहाँबाट पानी निस्किएर १२ घर मगर बस्ती डुबेर बनेको पोखरी भएकाले यसलाई बराहपोखरी भनिएको किंवदन्ती छ ।

मुहान र निकास दुवै नभएको तर, बाह्रै महिना उत्तिकै मात्रामा पानी जमेर रहने बराहपोखरीको दक्षिणपट्टि अवस्थित बराहमाई र शङ्खेश्वर मन्दिरको पूजा आराधना गरे आफूले चिताएको कुरा पूरा हुने जनविश्वास रहिआएको छ । बाह्रै महिना हरियो देखिने यस पोखरीमा नुहाएमा रोगव्याधी निको हुनुका साथै मोक्ष पाउने जनविश्वास छ । यो बराहपोखरीलाई सरकारले देशको १०० पर्यटकीय गन्तव्यमध्ये एउटा धार्मिक पर्यटकीय गन्तव्य क्षेत्रकारूपमा घोषणा गरेर प्रवर्द्धनको कामसमेत सुरू गरेको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.