www.tandavnews.com
Fact ~ In search of truth

सर्वोच्च अदालतमा आज पनि सबै खाले मुद्दामा पेसी, न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा

काठमाडौँ

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् ।

प्रधानन्यायाधीश राणाले आज दशवटा इजलासमा पेसी तोकेको हो । उनले आफ्ना लागि कुनै पनि इजलास तोकेको थिएन । पेसीमध्ये नौवटा संयुक्त र एउटा एकल इजलास रहेको छ । कुनै पनि इजलासमा सुनुवाइ भने शुरु भएको छैन ।

Batas

प्रधानन्यायाधीश राणासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक ‘फूलकोट’ ले बिहीबार गोला प्रणालीसहित नियमावली पास गर्ने निर्णय गरेको थियो । प्रधानन्यायाधीश राणासहित १९ जना न्यायाधीशको पूर्ण बैठकले गोला प्रक्रियासहितको नियमावली र गोला प्रणालीकोे कार्यविधि बनाउने निर्णय गरेको हो । सर्वोच्च अदालतको नियमावली राजपत्रमा प्रकाशित भएपछि गोला प्रणालीबाट पेसी व्यवस्थापनका लागि बाटो खुलेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एशोसिएशनले गोला प्रणालीबाट पेसी व्यवस्थापन गर्नुपर्नेलगायत सुझावसहितको सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै आएको थिए । उक्त माग भने पूरा हुने भएको छ ।

सोही मागसहित विभिन्न मागका कारण गत कात्तिक ७ गते आइतबार मध्याह्नदेखि न्यायाधीशले सुनुवाइ गर्न इन्कार गरेको थियो । सर्वोच्च अदालतको गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ ।

प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशलाई पनि संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेको छ ।

प्रधानन्यायाधीश राणाले सोमबार प्रेस विज्ञप्तिमार्फत आन्दोलनरत पक्षको माग सम्बोधनका लागि वार्तामा बोलाउँदै न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित अन्य प्रतिवेदन पनि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । पछिल्लो केही दिनदेखि न्यायाधीशद्वय तेजबहादुर केसी, कुमार रेग्मी, प्रकाशकुमार ढुङ्गाना, डा कुमार चुडाल, बमकुमार श्रेष्ठ, डा मनोजकुमार शर्माले इजलासमा बन्दीसहित सबै खालका मुद्दाको सुनुवाइ गरिरहेका छन् ।

अदालतमा मुद्दाको चापअनुसार नियमतिरुपमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । बेन्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा छन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.