www.tandavnews.com
Fact ~ In search of truth

ओमिक्रोन प्रभाव : मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य

गलेश्वर ।

कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहरपछि सामान्य बन्दै गएको मुस्ताङमा पछिल्लो समय घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका थिए । हालै विश्वका कतिपय देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको भन्दै यसको जोखिमलाई मध्यनजर गर्दै मुस्ताङ प्रवेशमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

Batas

उनका अनुसार विशेष गरी पर्यटकका लागि सात दिनभित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा पूर्ण मात्राको खोप कार्ड वा पछिल्लो ७२ घण्टाभित्रको एन्टिजेन परीक्षण रिपोर्ट नभएका व्यक्तिलाई प्रवेशमा रोक लगाइएको हो । मुस्ताङमा स्थायी बसोबास गर्दै आएकाहरू तथा पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीहरूका लागि भने यो सर्त लागू नहुने जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।

“मङ्सिर १५ गते राति १२ बजेदेखि २९ गते राति १२ बजेसम्म लागू हुने गरी मुस्ताङ घुम्न आउनेहरूका लागि कडाइ गरेका छौँ, त्यसबाहेक जिल्लाभित्रका विभिन्न क्रियाकलापहरूमा पनि कडाइ गर्दै आदेश जारी भएको छ,” प्रजिअ शर्माले भने “नेपाल भित्रिएका बाह्य तथा आन्तरिक पर्यटकहरु एक पटक मुस्ताङ पुग्ने योजनामा हुन्छन् । अहिले विभिन्न देशमा नयाँ भेरियन्ट फैलिँदै गएको खबर आइरहेकाले पर्यटकका माध्यमबाट मुस्ताङसम्म पुग्न सक्ने जोखिमका कारण कडाइ गरिएको हो ।”

जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले सार्वजनिक स्थलमा मेला, जात्रा, महोत्सव, भोजभतेर, हाटबजार लगायतका भीडभाड हुने खालका कार्यक्रम नगर्न पनि आदेश दिएको छ । त्यसैगरी विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका अनिवार्य कार्य गर्नु परेमा भने २५ जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरिएको छ ।

रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.