www.tandavnews.com
Fact ~ In search of truth

बराल सरुवा भएलगत्तै खुल्यो रामघाट, के होला ३५ वर्षीय ठेक्का काण्ड ?

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरपालिकाले रामघाट बाहेक आफ्नो मातहतमा रहेको सबै घाटहरु ठेक्का दिएको थियो । तीन दशक अवधि दिएर प्राइभेट कम्पनीलाई घाटको जिम्मा दिने योजना अघि सारेपछि माहनगरपालिका विवादमा तानिएको थियो । विवादका वाबजुद तत्कालिन प्रमुख प्रशासकीय अधिकृत महेश बराललेपनि कम्पनीलाई नै दिनुपर्ने जोड गरेको महानगर स्रोतले बतायो ।

हुनपनि तिनै अधिकृत बराल सरुवा भएर हालै मात्र बलराम रिज्याल प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनासाथ रामघाट टेण्डरका लागि प्रक्रियामा अघि बढेको छ । धेरै क्षेत्रबाट घाटलाई लामो समय ठेक्का दिन नहुने विरोध आएपनि प्रक्रिया भित्रभित्रै अघि बढाउनुमा तत्कालिन अधिकृत बरालको महत्वपुर्ण भुमिका रहेको स्रोतले बतायो ।

Batas

‘अहिलेपनि नीजि कम्पनीलाई ३५ वर्षकालागि दिन चलखेल भइरहेको छ,’स्रोतले भन्यो,‘बरालले नीजि कम्पनीलाई दिनुपर्छ भन्ने मनसाय राखेका थिए । ३५ वर्षीय योजनाका बारेमा मिडिया बुझ्न आउँदा उचित जवाफ दिन नसक्ने भएकाले तर्काउदैँ अन्य विभागमा सोध्न भन्थे । त्यहि भएर एक वर्षकालागि घाटको टेण्डर खुलाइएको थिएन । अहिले नयाँ अधिकृत आउनासाथ एक वर्षीय टेण्डरको लागि सार्वजनिक रुपमा आह्वान गरिएको छ ।’

स्रोतका अनुसार अझैपनि ३५ वर्षीय ठेक्का दिन कम्मर कसेर केही समूह लागिपरेको छ । ३५ वर्षीय ठेक्का योजनामा के गर्ने, के नगर्ने ? कति शुल्क उठाउने ? कसरी काम गर्ने ? भन्ने कुनैपनि कुरा महानगरले अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन । यतिका विवाद आउँदा पनि महानगरले यि कुराहरुको जवाफ नदिँदा शंका उत्पन्न भएको स्वयं महानगरकै कर्मचारी स्रोत बताउँछ ।

सार्वजनिक नीजि साझेदारी(पीपीपी) अन्तर्गत ३५ वर्षीय ठेक्का योजना प्रक्रियामै रहेको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए । ‘बराल सर सरुवा भएर घाट खुलेको होइन, अहिलेलाई पिपिपिको प्रक्रिया अघि बढ्दै गरेको हुनाले यो वर्ष पनि घाट खुलाइएको हो,’पौडेलले भने,‘प्रमुख प्रशासकीय अधिकृत फेरिएपनि प्रक्रिया चाहिँ उहि रहने छ ।’

महानगरपालिकाले यहि मंसिर २७ गते बोलपत्र आह्वान गरेको छ । रामघाटबाट नदीजन्य सामाग्री(घाटगद्धी) ढुङ्गा, गिट्टी, बालुवा, दहत्तर, बहत्तर आदिको बिक्री शुल्क संकलन प्रयोजनार्थ आय ठेक्का सम्बन्धी बोलपत्र आह्वान गरेको हो ।

महानगरको सूचना अनुसार पुष २८ गतेसम्म बोलपत्र दाखिला गर्नुपर्ने छ । बोलपत्र अनुसार ठेक्काका निम्ती न्यूनतम रकम ६ करोड ९७ लाख ५९ हजार ५ सय ५३ रुपैयाँ तोकिएको छ । जसअनुसार धरौटी रकम ३४ लाख ८७ हजार ९ सय ७८ रुपैयाँ छ । त्यसैगरी बोलपत्रको फारमको दस्तुर ५ हजार तोकिएको छ । बोलपत्र अनुसार उत्खनन् हुने अधिक परिमाण ७१ हजार ८ सय ४३ घन मि. छ ।

गतवर्ष रामघाट ठेक्का पार्न ५ करोड ४८ लाख ६८ हजार ८ सय रुपैयाँ न्यूनतम थियो भने ठेक्का पार्ने कम्पनीले ८ करोड ५८ लाख रुपैयाँ तिरेका थिए ।

बोलपत्र

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.