www.tandavnews.com
Fact ~ In search of truth

अस्फाल्टलाई हाज्माको टेन्सन !

पाेखरा
ताण्डव न्यूज ।

पोखरा महानगरमा ०७७ सालको दसैं छेकोदेखि सुरु भएको अस्फाल्ट पिच निर्माण कार्य अझै सकिएको छैन । पिचको स्तरोन्नती सम्पन्न गर्ने समय सकिएको अहिले ९ महिना भइसकेको छ ।

कोभिडकाकारण रोकिएका कुनैपनि आयोजना सम्पन्न गर्न चैत मसान्तसम्म अर्थ मन्त्रालयले म्याद थपिदिएपछि पोखरा नगरभित्र अस्फाल्टको काम जोडतोडले चलिरहेको छ । यसबीचमा कतिपय स्थानमा काम रोकिएका छन् भने कतिपय स्थानमा आवागमन नै रोकिएको छ ।

Batas

अस्फाल्ट योजनामध्ये महानगरपालिकाभित्रकोे जिम्मा लिएको इलाइट कन्स्ट्रक्सन कम्पनीले माघ मसान्तसम्म काम सक्ने अनुमान गरेको छ । आयोजना सम्पन्न गर्न ढिलो भएकोबारे प्रतिक्रिया दिँदै इलाइटका प्रोजेक्ट इन्चार्ज जीवन पौडेलले खानेपानी आयोजनाकाकारण असर परेको बताए । ‘हाज्मा (हाज्मा एन्दो कर्पाेरेशन)ले काम बिथोल्यो, उनीहरुले तयार भइसकेको अस्फाल्टमा काम गर्ने र कतिपय स्थानमा हालसम्म काम नसक्दा हामीले सुरु गर्न पाएनौं ।’

इन्चार्ज पौडेलका अनुसार बनिसकेको पिचमा जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी (जाइका)को हाज्माले आफ्नो संरचना बनाउँदा अस्फाल्टको काम ढिलो भएको हो । यससम्बन्धी इलाइट र महानगरले हाज्मालाई सचेत गराउँदै पत्र नै काटेको महानगरका इन्जिनियर ध्रुव भट्टराइले जानकारी दिए । त्यस्तै, अस्फाल्ट पिच गर्ने ठाउँमा हाज्मालाई पहिला आफ्नो काम सक्न निर्देशन दिँदै अनुमपति लिएरमात्रै अस्फाल्टमाथि काम गर्न र क्षति भएको ठाउँमा अस्फाल्ट नै गरिदिन सचेत गराइएको छ ।

‘आठ–दश वर्षसम्म टिक्ने सडक बन्दैछ, यो राष्ट्रको सम्पत्ति हो’ प्रोजेक्ट म्यानेजर पौडेल भन्छन् ‘खानेपानी आयोजनाले बिचबिचमा भत्काएर छाडिदिँदा खर्च बढ्नेमात्र हैन सडकको आयूसमेत कम हुन्छ ।’

खानेपानीको कनेक्सन

खानेपानीको आयोजनामा नेपाली, भारतीय र जापानीसँगै खटिरहेका छन् हाज्माका साइट इन्जिनियर सन्तोषकुमार दास । यस विषयमा उनै दाससँग प्रश्न गर्दा उनले खानेपानी संस्थान पोखरा प्रमुख एवं इन्जिनियर आशिष कार्कीतर्फ इंगित गरे ।

खानेपानी संस्थानका अनुसार कोभिडको पहिलो लहर सुरु भएसँगै जापानी इन्जिनियर र कामदाहरु फर्किए, जसको असर आयोजनामा पर्यो । ‘कोभिडको प्रत्यक्ष असरमा खानेपानी आयोजना प¥यो’ प्रमुख कार्कीले भने ‘आयोजना रफ्तारमा थियो, निर्धारित समयभित्रै काम सक्ने योजना अनुरुप अघि बढेपनि कोभिडले प्रभाव पार्यो ।’ सोही ८ महिनाले खानेपानीसँगै अस्फाल्ट पिचमासमेत असर गरेको उनले जनाए । हाल रानीपौवादेखि अमरसिंहचोकसम्म पाइप विस्तारको कामले अस्फाल्टलाई असर गरेको स्वीकार्दै कार्कीले केही दिनभित्रै पिच निर्माणकालागि मार्गप्रशस्त हुने स्पष्ट पारे ।

‘दुबै महत्वपूर्ण योजना हुन्, दुबैको समान महत्व छ, एकआपसमा संयोजना गर्दापनि तालमेल मिल्न सकेन तर अब समस्या रहँदैन’ कार्कीले दाबी गरे । पोखरा महानगरले यसबारे सचेत गराएको जनाउँदै उनले खानेपानी आयोजनाले अस्फाल्टमाथि काम गरेपनि पहिलैको अवस्थामा मर्मत गरिदिने कार्कीले बताएका छन् । ‘स्वयं जापानी इन्जिनियरहरुले काम गरिरहनुभएको छ, उहाँहरुले त्यसै छाडिदिने कुरै भएन, गुणस्तरीय ढंगमा सडक मर्मत गरिदिने छौं’ कार्कीको भनाई छ ।

पोखराको खानेपानी वितरणलाई सहज र पर्याप्त बनाउन जाइकाको ४ अर्ब ५२ करोड रुपैयाँमा ०७६ सालको जेठ ३० गते आयोजना शिलान्यास भएको थियो । आयोजनाको म्याद ०७९ सालको मंसिरसम्म्म भएपनि हाल १ वर्ष म्याद बढाएर आगामी वर्षको पुससम्म थपिएको छ । उक्त म्यादमा आयोजनापश्चात् संस्थानका कर्मचारीलाई मेन्टनेन्सबारे सिकाउने समयसमेत जोडिएको छ । संस्थानका अनुसार १ वर्ष संस्थानका कर्मचारीलाई हाज्माले मर्मत सम्भार र अन्य प्राविधिकपक्षबारे पोख्त बनाउनेछ ।

अस्फाल्टको आयु

पोखराको सडकमा बिच्छ्याइएको अस्फाल्टको आयू ५ देखि ८ वर्ष अनुमान गरिएको छ । सुरुवाति दिनमा १० वर्ष आयू बताइएकाे थियो । निर्माण कम्पनी र महानगरले ८ देखि १० वर्षको अनुमान गरेको छ ।

सडकको पीचसम्बन्धी अनुसन्धान गर्ने संस्था लाइफ साइकल कस्ट एनालाइसिस (एलसीसीएल)ले अस्फाल्ट पिच सामान्यतयः १० देखि १५ वर्ष टिक्ने बताएको छ । यद्यपि, सवारीसाधनको चाप न्यून भए १८ वर्षसम्म अस्फाल्टले काम गर्नेछ । त्यस्तै, कंक्रिटको गूणस्तर कायम गर्न सके २४ वर्षसम्म अस्फाल्टको आयू हुनेछ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.