www.tandavnews.com
Fact ~ In search of truth

ताप्लेजुङः हिउँमा फसेका बाबुछोरा ५ दिनदेखि उद्दारको पर्खाइमा

दुईपटक हेलिकप्टर उद्दारका लागि गए पनि ठाउँ पहिचान गर्न नसकेपछि उद्दार भएन

फुङ्लिङ

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नम्बर ५ पापुङमा पाँच दिनदेखि हिउँमा फसेका बाबुछोराको उद्दार हुन सकेको छैन । आइतबार बिहान दुई पटक अल्टिच्युट एयरको हेलिकप्टर उद्धारका लागि गए पनि ठाउँ पहिचान गर्न नसकेपछि उद्दार भएन ।

करिब ५५ वर्षका लाक्पा टासी र उनका १५ वर्षीय छोरा पासाङ शेर्पा गत बुधबार हिउँमा फसेका थिए । ‘चौँरीसँगै हिउँ पहिरोले बगायो तर ओडार भेटेर बसेका छौँ, हामी निस्कन नसक्ने भयौँ’ भन्दै गत शनिबार उद्दार गर्न लाक्पाले आग्रह गरेका थिए ।

Batas

वडाअध्यक्ष डण्डु शेर्पालाई लाक्पाले फोनमार्फत उद्धारका लागि हेलिकप्टर पठाइदिन आग्रह गरेका थिए । समुद्री सतहबाट ४ हजार मिटर उचाइमा रहेको पापुङको लोनाक भन्ने ठाउँमा चौँरीगोठ सार्ने क्रममा बाबुछोरा हिउँमा फसेका हुन् । गत शनिबार ११ बजे ताप्लेजुङको सुकेटारबाट उद्दारका लागि हेलिकप्टर २ पटक उडान गरेको थियो । तर कुन ठाउँमा हो भन्ने मेसो नपाएपछि हेलिकप्टर रित्तै सुकेटार फर्केको थियो ।

फेरि आइतबार बिहान २ पटक उद्दारका लागि सुकेटरबाट पापुङको लोनाक ठाउँमा गए पनि बाबुछोरा बसेको ठाउँ पत्ता नलागेपछि हेलिकप्टर रित्तै सुकेटार फर्केको ताप्लेजुङ प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । फोन सम्पर्क भएकाले बाबुछोरा बसेको ठाउँमा आगो बालेर धुवाँ निकाल्न अनुरोध गरेको पाण्डेले बताए । धुवाँ निस्केपछि ठाउँ पहिचान गरेर हेलिकप्टरमार्फत उद्दार गर्ने पाण्डेले बताए ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.