www.tandavnews.com
Fact ~ In search of truth

कोरोना सङ्क्रमण बढेसँगै कारागारमा उच्च सतर्कता

चितवन ।

कोरोना सङ्क्रमण बढेसँगै कारागार कार्यालय भरतपुरमा उच्च सतर्कता अपनाइएको छ । कारागार प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदी बन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको छ ।

कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भन्दै बन्द गरिएको हो । क्षमताभन्दा बढी कैदी बन्दी राख्नुपर्दा समस्या आउने भन्दै उनले कारागार व्यवस्थापन विभागको परिपत्रअनुसार बन्द गरिएको जानकारी दिए । सार्वजनिक स्थलमा स्थानीय प्रशासनले २५ जना भन्दा बढी जमघट र भेला हुन रोक लगाएको छ ।

Batas

उनले भने , “जोखिम बढेसँगै कैदी बन्दीका आफन्तहरूसँग भेटघाटमा रोक लगाएका छौ ।” कारागार कार्यालयले बाहिरबाट ल्याइएका कैदी बन्दीको कोरोना परीक्षण नगरी नबुझ्ने गरेको उनले जानकारी दिए । उनले भने “पिसिआर परीक्षणको रिपोर्ट नभएसम्म कैदी बन्दी हामी बुझ्दैनौ ।” कारागार कार्यालयमा रहेका एक जना कैदीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएसँगै उच्च सावधानी अपनाइएको उनले बताए । कारागार प्रशासनले बाहिरबाट नयाँ आएका कैदी बन्दीलाई र अस्पताल लग्नुपर्ने कैदी बन्दीलाई छुट्टै क्वारेनटिनको समेत व्यवस्था गरेको छ । ३० जनाको क्षमता रहेको क्वारेनटिन व्यवस्था गरिएको उनले बताए । जहाँ नयाँ आएका र बिरामीलाई छुट्टै राख्ने गरिन्छ ।

उनले भने, “दुई कोठालाई क्वारेनटिनको रुपमा प्रयोग गरिएको छ ।” अहिले क्वारेन्टिनमा १३ कैदी बन्दी रहेका छन् । बाहिरबाट कारागारमा थपिने कैदी बन्दीको सङ्ख्या बढ्दै जाँदा यसलाई थप गर्न सकिने काफ्लेको भनाइ छ । २५ जना महिला र २५५ पुरुष कैदी बन्दी राख्ने क्षमता रहेको यस कारागारमा अहिले ७१२ जना रहेका छन् । जसमध्ये ४४५ कैदी तथा २५८ बन्दी छन् । कारागारमा रहेका मध्ये ५० महिला र ६६२ पुरुष हुन् । उनीहरूसँगै दुई आश्रित बालिका छन् । कारागार कार्यालय भरतपुरमा विभिन्न २० मुद्दाका कैदी बन्दी रहेको काफ्लेले जानकारी दिए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.