www.tandavnews.com
Fact ~ In search of truth

‘संस्थालाई बेवारिस पार्दै जाल्पाकी सिईओ योगी’

पोखरा
ताण्डव न्यूज ।

गत वर्ष दाङको महिला सामुदायिक लघुवित्त संस्था लिमिटेड र कास्कीको जाल्पा लघुवित्त संस्था मर्ज भयो । मर्ज भएपछि दुवै संस्थाको कर्मचारी र पदाधीकारी समायोजन भयो । पोखरामा प्रधान कार्यालयसहित जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड नाम रह्यो ।

सोही संस्थाको नेतृत्व अर्थात् प्रमुख कार्यकारी अधिकृत (सिईओ) बिमला योगीको काँधमा आयो । पदीय जिम्मेवारी पाएपनि सिईओ योगीलाई प्रधान कार्यालयमा देख्न मुस्किल हुन्छ । पोखराको केन्द्रिय कार्यालयमा बसी देशभरका सय वटा शाखालाई चलायमान बनाउनुपर्ने हो । तर, उनि एक वर्षमा मुस्किलले ४ महिनापनि कार्यालय नबसी मनोमानी रुपमा हिँड्ने गरेको आरोप छ ।  ‘एक बर्षमा करिब ८ महिना जति कार्यालयमा नै आउनु भएन,’ स्रोतले भन्यो, ‘यो कुरा संस्थाको अध्यक्ष र कर्मचारी सबैलाई थाहा छ तर पनि कोही उहाँ विरोध बोल्नै सक्दैनन् ।’

Batas

सिईओ योगीको मासिक तलब २ लाख रुपैँया छ ।

त्यतिमात्र होइन बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार वित्तिय संस्थाको सिईओले राजनीति पदमा बस्न मिल्दैन । तर (सिईओ) योगी कांग्रेसको सम्पन्न चौधौं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिसमेत बनेकी थिईन् । योगीले कांग्रेसको वडा चुनावमा संस्थाको गाडी लोगो हटाएर दुरुपयोग गरेको स्रोतको भनाई छ । ‘पोखराबाट दाङ गृह जिल्लामा चुनावको बेला गाडी मात्र होइन कार्यालय सहयोगीलाई पनि व्यक्तिगत काममा लिएर हिड्ने गर्नुहुन्छ,’ स्रोतले भन्यो, ‘पोखरामा केन्द्रीय कार्यालय रहेको संस्थामा प्राय विभागिय प्रमुख दाङकै संख्या धेरै छन्, उनीहरु योगीकै आडमा एक एक महिना बिदा बस्ने गर्छन् ।’

यस अघि पनि तत्कालिन अध्यक्ष अर्जुन श्रेष्ठ हुदा योगी बिदा नमागी कयौं दिन बस्ने गरेकी थिइन् । त्यसपछि श्रेष्ठले बिदा स्वीकृत गरेर मात्र जान आग्रह गर्दापनि १५ दिनको बिदा लिएर १९–२० दिन बढि बस्ने गर्थिन् । नियम अनुसार १५ दिन भन्दामाथी बिदामा बस्दा काजमा दिनुपर्छ । एक वर्षको अवधिमा सिईओ योगी महिनौ हराउँदा पनि काज दिएको पाईदैन ।

यस विषयमा प्रश्न गर्दा आफुलाई केही थाहा नभएको संस्थाका अध्यक्ष विरबहादुर अधिकारीले बताए । संस्था भर्खर मर्ज भएको हुनाले उता यता काम गर्दा त्यस्तो भएको हुन सक्ने भन्दै ढाकछोप गर्ने प्रयास गरे । नियमले नमिलेपनि (सिईओ) योगी कांग्रेसको सम्पन्न चौधौं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भएर गएको कुरा आफुलाई जानकार नरहेको अध्यक्ष अधिकारीले बताए । अध्यक्ष अधिकारीले महाधिवेशनको जानकारी नभएको भन्दै तर्किएतापनि योगी प्रतिनिधि भएपछि धेरै कर्मचारीले फेसबुकमा फोटो हालेर बधाई दिएका थिए । त्यसरी सामाजिक सञ्जालमा बधाई हाल्न नहुने भन्दै अध्यक्ष अधिकारीले हटाउन लगाएका थिए ।

बिदाको सवालमा १५ दिनभन्दामाथी बिदा जाँदा काज दिनुपर्ने भन्दै मिडियासँग भेटेर कुरा गर्ने बताए ।

आफुलाई लागेको आरोप सबै झुटो रहेको सिईओ योगीले बताईन् । ‘मैले संस्थाको हितको लागि काम गरेको छु,’ उनले भनिन् , ‘कार्यालय नै आउनु पर्छ भन्ने छैन । मैले प्रविधिको प्रयोग गर्दै यतैबाट काम गरेको छु ।’ एक सय वटा शाखा भएको संस्थामा शाखामा पस्दै काम गरेको योगीको भनाई छ ।

‘मैले संस्थाको शाखाहरुमा पसेर भएपनि प्रविधिको प्रयोग गर्दै आफ्नो जिम्मेवारी पुरा गरेको छु,’ उनले भनिन्, ‘अर्को कुरा राजनीति भनेको मेरो व्यक्तिगत स्वतन्त्रताको कुरा हो । महाधिवेशन प्रतिनिधि भएँ, भोट हालेँ सकियो ।’

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.