www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा व्यवसायीक धनियाँ खेती, वर्षमा तीन लाख कमाई

म्याग्दी ।

दाल, तरकारी र मासुका परिकारलाई स्वादिष्ट तथा सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले एकै सिजनमा एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।

म्याग्दीको बेनी नगरपालिका–२ खबराका नारायण कार्कीले आफ्नो घर अगाडिको खेतमा व्यावसायिक रुपमा गरेको धनियाँ खेतीबाट एकै सिजनमा डेढ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएका हुन् । कार्कीले डेढ रोपनी जग्गामा धनियाँ खेती गरेका छन् ।

Batas

धनियाँका साथमा ब्रोकाउली, बन्दा, टमाटर, काउली, गाजर, केराउलगायत तरकारी खेती गरेका कार्कीले धनियाँ बेचेर मात्र वार्षिक तीन लाखभन्दा बढी आम्दानी भएको बताए । कृषक कार्कीले एक वर्षमा हिउँद र वर्षा गरी दुई सिजनमा तरकारीका साथै धनियाँ खेती गर्छन् ।

‘ सात सयको बीउ र चार हजार बराबरको श्रम खर्चेर धनियाँ खेती गरेका कृषक कार्कीले एकै वर्षमा धनियाँ बिक्रीबाट तीन लाखभन्दा बढी आम्दानी भएपछि खेती विस्तार गर्ने योजनामा रहेको बताए । ‘बीउ र शारीरिक श्रम गरी कूल चार हजार ७०० को लगानी गरेको हुँ’, कार्कीले भने, ‘एक वर्षको अवधिमा तीन लाखभन्दा बढीको बिक्री भयो, अझै खेतका गह्राभरि धनियाँ छ ।’

म्याग्दीको पर्यटकीयस्थल लभ्ली हिल नजीकै कार्कीले पसल र तरकारी खेती गरेका छन् । लभ्ली हिलमा आन्तरिक पर्यटकहरुको वृद्धिसँगै कार्कीको कृषि उपजको पनि त्यतिकै बिक्री बढ्ने गरेको छ ।

लभ्ली हिलमा आएका युवायुवती, गृहिणी र लोग्नेमान्छेले समेत बारीबाट नै ताजा तरकारी आफैँ टिपेर लैजाने गरेका कार्कीले बताए । ‘अहिले अरू तरकारी सकिएको छ तर धनियाँ भने प्रशस्तै छ’, कार्कीले भने ।

कार्कीले धनियाँको एउटा मुठोलाई २० देखि ३० सम्ममा बिक्री गर्दै आएका छन् । कार्कीको खेतबाट नै दैनिक ५० देखि ८० मुठा धनियाँ बिक्री हुने गरेको उनले बताए। रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.