www.tandavnews.com
Fact ~ In search of truth

‘गण्डकी रत्न’ को लागि ८ दाबेदार

पोखरा।

यही वर्षदेखि गण्डकी प्रदेशले शुरु गरेको ‘गण्डकी रत्न’ को लागि ८ जनाको निवेदन परेको छ। २६ पुसमा मन्त्रिपरिषद् बैठकबाट विशिष्ट व्यक्ति सम्मान गर्ने कार्यविधि २०७८ स्वीकृत गरेको थियो।

आन्तरिक मामिला मन्त्रालयले माघ ४ मा १५ दिने सूचना जारी गर्दै आवेदन मागेको थियो। आवेदनका लागि कास्कीका तीन जना, लमजुङका एक जना र तनहूँ र स्याङ्जा २/२ निवदेन परेको मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीले जानकारी दिए।

Batas

शिक्षा, स्वास्थ्य तथा खेलकुद, कृषि तथा सहकारी, उद्योग पर्यटन, वातावरण, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन, भाषा संस्कृति, सार्वजनिक प्रशासन लगायतका क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई सरकारले सम्मान गर्न लागेको हो। आवदेन दिनेमा कास्कीका मदनकुमार गुरुङ, कोविदशरण उपाध्याय र चन्द्रकान्त बराल छन्। त्यस्तै लमजुङका भरतबहादुर विसुराल, स्याङ्जाका डिलबहादुर गुरुङ र प्राडा. यामबहादुर पौडेल र तनहुँका रेशमबहादुर विक र काशिराम न्यौपाने रहेका छन्।

कास्कीका मदनकुमार गुरुङले खेलकुद क्षेत्रमा योगदान पुर्‍याएको भनेर निवेदन दिएका हुन। मदनलाई २०७६ सालमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आदर्श खेल व्यक्तित्व अवार्ड दिएको थियो। कास्कीका कोविदशरण उपाध्यायले बोक्सीविरुद्धको अभियानको रुपमा निवेदन पेस गरेका हुन्। उपाध्याय ‘मान्छे बोक्सी हुन्न’ कृतिका रचनाकार समेत हुन्। कास्कीका अर्का दाबेदार चन्द्रकान्त बरालको परिकल्पनामा पोखराको पुम्दीकोटमा ५१ फिट अग्लो शिवको मूर्ति निर्माणाधीन छ। उनी बराल फिड इन्डष्ट्रिजसहित सोही सम्बन्धी आधा दर्जन उद्योगका आबद्ध छन्। उनको कुखुरा व्यवसाय र दाना उद्योग पनि खोलेका छन्।

लमजुङका रेस्लर भरतबहादुर विसुरालले पनि गण्डकी रत्नमा दाबेदारी प्रस्तुत गरेका छन्। नेपालमा रिङ रेस्लिङ भित्र्याएर प्रवद्र्धधनमा लागेका उनी ‘द हिमालयन टाइगर’ नामले परिचित छन्। उनले गाउँमै २०७६ सालमा विदेशी रेस्लर ल्याएर अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता गरेका थिए।

तनहुँका काशीनाथ न्यौपानेले भाषा, संस्कृति, साहित्य, कला, समाजसेवामा योगदान गरेको भनी निवदेन दिएका हुन्। तनहुँको व्यास नगरपालिका ६ का स्थायी बासिन्दा उनी अध्येता हुन्। तनहुँका अर्का दाबेदार रेशमबहादुर विकले पर्यटन क्षेत्रमा योगदान दिएकाको भन्दै निवेदन दिएका छन्। उनले गाउँमा होमस्टे चलाएका छन्। उनी नेपालमै खोलिएको पहिलो दलित होमस्टेको व्यवस्थापन समिति अध्यक्ष हुन्।

स्याङ्जाका डिलबहादुर गुरुङ असल छिमेकी सहयोग संघ (गोनेसा)का पूर्वाध्यक्ष उनले समाजसेवाको अन्तर्राष्ट्रिय अवार्ड जितेका छन्। उनले पाँच वर्षअघि इटालीको फोकसिभ नामक अन्तर्राष्ट्रिय संस्थाबाट इन्टरनेसनल भोलिन्ट्री एण्ड युथ इम्पोलियीबिलिटी अवार्ड पाएका थिए। स्याङ्जाको आँधिखोलाका प्राडा. यामबहादुर पौडेल क्षेत्री पृथ्वीनारायण क्याम्पस पोखराका अंग्रेजी विषयका अवकास प्राप्त प्राध्यापक हुन्। उनले साहित्य विधामा योगदान पुर्‍याएको भन्दै विभूषणमा दाबी गरेका हुन्।

निवेदन दिएकाबाहेकले पनि सम्मान पाउन सक्छन्। प्रदेश सरकारको सिफारिस समितिले नाम सिफारिस गरेमा निवेदन दिएकाबाहेकले पनि सम्मान पाउन सक्ने व्यवस्था कार्यविधिको दफा ३ मा गरिएको छ। ‘सिफारिस समितिले दफा ४ बमोजिमको क्षेत्रमा उत्कृष्ट कार्य गरी प्रदेशको श्रीवृद्धि र गौरव बढाउन विशिष्ट योगदान पुर्‍याएको व्यक्तिलाई छनौट गरी सम्मानका लागि प्रदेश सरकारमा सिफारिस गर्न बाधा पर्ने छैन,’ दफा ३ (२)मा भनिएको छ। निवेदकमध्येबाट सिफारिस गर्न प्रदेश सरकारको विशिष्ट समिति बनेको छ। समितिले बढीमा ३ जनालाई छनोट गर्न सक्ने कार्यविधि बनेको छ।

विभूषितले के पाउँछन् ?

विभूषित व्यक्तिलाई सार्वजनिक कार्यक्रममा प्रदेशसभाका सदस्यसरहको मर्यादाक्रम हुनेछ।

यसबाहेक प्रदेशभित्रका सरकारी अस्पतालमा निशुल्क उपचार, विमानस्थलको भीआईपी कक्ष उपयोग, सरकारले सञ्चालन गरेको सार्वजनिक सेवाका लागि विशेष प्राथमिकता र संरक्षणविहीन भएमा सरकारले नै उनीहरूको जिम्मा लिनेछ। सम्मानित हुनेले चाँदीको लोगो पाउँछन्। ६.५ सेन्टिमिटरको व्यास भएको गोलो आकारमा बाहिर पहिलो घेरामा एघार जिल्लाको प्रतिकात्मक स्वरूप एघार वटा कमलको पुष्पदल रहने छ।

दोस्रो घेराभित्र माथि ‘गण्डकी प्रदेश सरकार’ र तल ‘गण्डकी रत्न’ लेखिएको हुन्छ। तेस्रो तथा भित्री घेराभित्र नदी (गण्डकी)को उद्गमस्थल एवं गण्डकी प्रदेशको पहिचान स्वरूप हिमाल र त्यसमाथि राष्ट्रिय झण्डा रहने प्रदेश सरकारले जनाएको छ। झण्डा र हिमालको भागमा सुन प्रयोग गरिने छ। यसमा ६.५ ग्राम सुन र १२५ ग्राम चाँदी प्रयोग हुने कार्यविधिमा उल्लेख छ। यसको पछाडिपट्टिको भागमा वितरण गरिने साल उल्लेख गरिएको हुनेछ भने खादा लगाएर सम्मान गरिने छ। ४ फागुनमा प्रदेश सरकारको पाँचौँ स्थापना दिवसको अवसरमा गण्डकी रत्न दिइने छ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.