www.tandavnews.com
Fact ~ In search of truth

विद्यालय नाटक महोत्सव : ४ दिनमा १२ नाटक मञ्चन हुने

पोखरा ।

कोरोना महामारीका कारण रोकिएको दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव फागुन १३ गतेबाट हुने तय भएको छ । आयोजक पोखरा थिएटरले दिएको जानकारी अनुसार फागुन १३ गते शुक्रबारबाट सुरु हुने महोत्सव फागुन १६ गते सोमबारसम्म चल्नेछ । यसअगाडि माघ ११ गतेदेखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन गरिने तय भएको थियो ।

महोत्सवका लागि गण्डकी प्रदेशका ८ जिल्लाका १२ नाटक छनोट भएका छन् । महोत्सवको लागि प्राप्त कुल २४ नाटक मध्येबाट पहिलो चरणमा १६ नाटक छनोट गरिएको थियो । छनोट भएका १६ नाटकबाट अन्तिम चरणको लागि १२ नाटक छनोट गरिएको महोत्सव संयोजक समेत रहेको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए । ‘फागुन १३ गतेदेखि १६ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा हरेक दिन ३ वटा नाटकका दरले ४ दिन नाटक मञ्चन गरिनेछ’ परिवर्तनले भने ।

Batas

नाटक छनोटका लागि पौष २६ गतेबाट माघ २ गतेसम्म विभिन्न जिल्लामा गएर अवलोकन गरिएको थियो । अन्तिम चरणमा १० नाटक छनोट गर्ने भनिएपनि नाटकको प्रस्तुतिका आधारमा थप २ नाटकलाई प्रोत्साहन स्वरुप छनोट गरिएको आयोजकको भनाई छ ।

अन्तिम चरणको लागि नवलपुर जिल्लाबाट सबैभन्दा धेरै तीन नाटक छनोटमा परेका छन् । त्यस्तै कास्कीबाट दुई, लमजुङबाट दुई, तनहुँ, पर्वत, गोरखा, म्यादी, बागलुङबाट एक÷एक नाटक छनोटमा परेका छन् ।
नाटक छनोटका लागि वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति बनाइएको थियो । जसको सदस्यमा निर्देशक तथा कलाकार माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन रहेका छन् । उनीहरुले सम्बन्धित ठाउँमा पुगेर नाटकको अवलोकन गरेर उत्कृष्ट १२ छनोट गरिएको हो ।

‘विद्यालयमा रंगमञ्च,अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल मन्त्रका साथ आयोजना गरिएको महोत्सवमा गण्डकी प्रज्ञा–प्रतिष्ठानको प्रमुख सहकार्य एंव नेपाल सङ्गीततथा नाट्य–प्रज्ञा प्रतिष्ठान काठमाण्डौं र पोखरा प्रज्ञा–प्रतिष्ठानपोखराले सहकार्य गरेका छन् ।

गएको वर्षदेखि पोखरा थिएटरले गण्डकी प्रदेशस्तरिय विद्यालय नाटक महोत्सवको आयोजन गर्न थालेको हो । त्यसभन्दा अगाडि थिएटरले पोखरा महानगरपालिका स्तरिय नाटक महोत्सव समेत आयोजना गरेको थियो ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.