www.tandavnews.com
Fact ~ In search of truth

धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त, साना लगानीकर्ताको हितमा लाग्ने प्रतिबद्धता

काठमाडौँ ।

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले हमाललाई बोर्डको अध्यक्षका रूपमा नियुक्त गरेको हो । हमालले नियुक्तिको बारेमा अनौपचारिकरूपमा जानकारी आएको र शुक्रबारसम्म नियुक्तिपत्रसमेत पाउने बताए ।

उनले नेपालको शेयर बजारको विकास र विस्तारमा आफूले इमान्दार प्रयास गर्ने बताए । साना लगानीकर्ताको हित र बजारको विविधीकरण गर्न आफूले सक्दो प्रयास गर्ने उनले उल्लेख गरे ।

Batas

नेपालको शेयर बजारलाई बलियो र सक्षम बनाउँदै अन्तर्राष्ट्रियस्तरको बनाउने आफ्नो सपना रहेको भन्दै उनले त्यसका लागि सहयोग गर्न सञ्चारमाध्यमलाई आग्रह गरे।

सामान्य झट्काले समेत प्रभाव पार्ने शेयर बजारलाई व्यवस्थित एवं मर्यादित बनाउने र प्राकृतिकरूपमा चल्ने बनाउन प्रयास गर्ने नवनियुक्त अध्यक्ष हमालले बताए । बजारको विविधीकरण नहुँदासम्म शेयर बजारले स्थायित्व पाउन नसक्ने भएकाले सो कार्यमा आफू दत्तचित्त भएर लाग्ने उनको भनाइ छ ।

बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गाना एक सिमेन्ट कम्पनीको शेयर प्रकरणमा मुछिएपछि सरकारले उनलाई हटाएको थियो । पछिल्लो छ महिनादेखि बोर्डको अध्यक्ष खाली थियो । अध्यक्ष नियुक्त नहुँदा शेयर बजारसम्बन्धी विभिन्न विषयगत र नीतिगत काममा अवरोध भइरहेको थियो ।

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलको संयोजकत्वमा बोर्ड अध्यक्ष छनौट समिति गठन गरेको थियो । समितिले तीन जनाको नाम प्रस्ताव गरेको थिया । त्यसमा डा गोपाल भट्ट, कृष्ण पोखरेल र हमालको नाम सिफारिस गरेको थियो ।

डोटीको सिलगढीमा जन्मिएका हमालले एशियन इस्टिच्यूट अफ टेक्नोलोजी बैंककबाट एमबिए गरेका छन् । झण्डै २९ वर्षदेखि सार्वजनिक तथा निजी क्षेत्रमा सेवा गरेका हमालले २० वर्ष त व्यवस्थापन क्षेत्रमा नै काम गरेका छन् । सन् २००७ देखि सन् २०१० सम्म गैरआवासीय नेपाली सङ्घ थाइल्याण्डको अध्यक्ष बनेका हमाल थाई–नेपाल चेम्बर अफ कमर्स बैंककको उपाध्यक्षसमेत बनेका थिए ।

काभ्रेपलान्चोकको धुलिखेलमा निर्माण भइरहेको अन्तर्राष्ट्रियस्तरको चेन होटल ‘दुषित थानी’को निर्माण गरिरहेका छन् । सो होटलको ९० प्रतिशत निर्माण सम्पन्न भएको र आगामी चार महिनाभित्र सञ्चालनमा आउनेछ ।

आफूले जानेको तथा सिकेको ज्ञान ताथ अनुभव नेपालमा नै प्रयोग गरौँ भन्ने उद्देश्यका साथ आफू नेपाल फर्किएको उनले बताए । उनले सरकारले दिएको जिम्मेवारीलाई पूर्णरूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रासस

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.