www.tandavnews.com
Fact ~ In search of truth

‘विकटलाई निकट’ बनाउँदै पोखरा महानगर

३ करोड २ लाख खर्चेर निर्मित मोटरेवल पुलको मेयर जिसीले गरे उद्घाटन

जीवन सुवेदी
पोखरा, ताण्डव न्यूज ।

मोटरेबल पुल बनेसंगै पोखराको अर्मला क्षेत्रका स्थानीयहरुमा खुसीयाली छाएको छ । पोखरा महानगरले स्थानीय खोलामा मोटरेवल पक्की पुल निर्माण गरिदिएपछि उनीहरुको आवतजावत सहज भएपछि त्यस क्षेत्रका बासिन्दा खुसी भएका हुन् । यसअघि स्थानीयहरु आवतजावतका लागि पुरानो झोलुङ्गे पुल प्रयोग गर्न बाध्य थिए । हिँउदयाममा खोला सुक्दा मोटर गाउँसम्मै पुग्ने भएपनि वर्षायाममा भने नागरिकहरु सास्ती खेप्न बाध्य थिए । तर अब भने उनीहरुको सास्ती हटेको छ ।

वर्षायाममा खोला बढेर तर्ने नसकिने हुँदा कतिपय चौपाया र मानिस समेत खोलाले बगाएको स्मरण गर्दै पुल निर्माणले आफूहरु खुसी भएको स्थानीयहरु बताउँछन् ।  पहिले पहिले पुल नहुँदा मान्छे नै बगायो, बस्तुभाउ खोलाले कति बगायो, स्थानीय बासिन्दा बोधराज आचार्य भन्छन “ अहिले महानगरले पुल र मोटरबाटा बनाईदियो, हामी औधि खुसी भएका छौँ ।”

Batas

पोखराको वडा नं १६ अर्मला स्थित घोरकुना पारीका स्थानीयमात्र होईन उक्त पुल बनेपछि महानगरका मौैजा, तुम्के, घोरकुना, दादरे, अर्मलाकोट, मादी गाउँपालिकाको चिप्ले, खिलाङ, लमजुङको दूधपोखरी लगायतका नागरिकहरुलाई समेत सहज भएको स्थानीय अभियन्ता लीलाधर अधिकारी बताउँछन । पुल बनेपछि कृषि, शिक्षा, स्वास्थ्य लगायतको पहुँचबाट नागरिकहरुलाई आवतजावतमा हुने कठिनाई हटेको उनको भनाई छ ।

“पुल बनेपछि यस क्षेत्रका साधनश्रोतहरुको पनि महानगरले भरपुर सदुपयोग गर्न सक्ने बाटो खुलेको छ, वडा र महानगरको समेत विकास हुने देखेको छु’, उनले भने “यस पुलबाट दैनिक ५ सय जना ओहोरदोहोर गर्नुहुन्छ सबैलाई सुविधा पुगेको छ ।”

पोखरा महानगरको ३ करोड २ लाखको लागतमा बनेको पुल तोकिएकै समयमा निर्माण सम्पन्न भएको र वडा तथा महानगरको विकाशमा यो पुल कोशेढुंगा सावित भएको वडा नं १६ का वडा अध्यक्ष जीवन आचार्यले बताए ।

उक्त पुलको यहि फागुन १५ गते आईतबार पोखरा महानगरका मेयर मानबहादुर जिसीले उद्घाटन गरे । पुल उद्घाटनका क्रममा मेयर जिसीले स्थानीयको आवस्यकताका आधारमा महानगरले विकाशका कामलाई अघि बढाईरहेको भन्दै मध्यपहाडी राजमार्ग समेत सोही क्षेत्रबाट लैजानका लागि पहल भैरहेको बताए । “यो पुलकै बाटो भएर मध्यपहाडी राजमार्ग जाओस भन्ने हाम्रो चाहना हो” उनले भने तपाईँहरु यसमा राजी हुनुहुन्छ भने छिटो भन्दा छिटो महानगरले कामलाई अघि बढाउन अगुवाई गर्छ भन्ने कुरामा यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु ।”

पोखरा महानगरले ‘विकटलाई निकट’ ल्याउने योजनाअनुसार २०७६/७७ को आर्थिक वर्षबाट कनेक्टिङ रोडको अवधारणा ल्याएर कार्यान्वयन शुरु गरिएको थियो । सोही योजना अनुसार यो पुल निर्माण गरिएको हो । क्षेत्रफल वा भौगोलिक रुपमा देशकै ठूलो पोखरा महानगरमा नजिकका गाविसहरु गाभिएका थिए । ती गाविसलाई महानगरको सेवा सुविधा पु¥याउन महानगरले ग्रामीण वडालाई मुख्य शहरसँग जोड्नका लागि ‘कनेक्टिङ सडक’ र पुल निर्माणलाई चालू आर्थिक वर्षमा समेत प्राथमिकतामा राखेको छ ।

पुल उद्घाटन कार्यक्रममा पोखरा वडा नं १९ का वडा अध्यक्ष शोभामोहन पौडेल, निर्माण व्यवसायी, विभिन्न राजनीतिक दलका स्थानीय नेताहरु लगायतले पनि बोलेका थिए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.