www.tandavnews.com
Fact ~ In search of truth

नयाँ भवन बनाउँदै भरतपुर महानगर

चितवन ।

भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो ।

महानगरले रु ९४ करोड ३२ लाख ३० हजार २७१ अनुमानित लागतमा बोलपत्र आह्वान गरेको छ । सङ्घीय सरकारबाट रु ३५ करोड र बागमती प्रदेश सरकारबाट ठेक्का कबोल मूल्यको ५० प्रतिशत रकम सुनिश्चितता भइसकेको छ । रकम नपुग भएमा महानगरपालिकाले थप गर्ने छ । भूमिगत (अण्डरग्राउण्ड) पार्किङ सोे भवन १४ हजार १५२ वर्गमिटरको हुने छ ।

Batas

महानगरको आफ्नो खर्चले धान्न मुस्किल हुने भएपछि संघ र प्रदेशबाट रकम जुटाएर भवन निर्माणको प्रक्रिया थालिएको हो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले भवन ३० महिनाभित्र सम्पन्न गर्ने गरी बोलपत्र आव्हान गरिएको जनकारी दिए । भवनको भूमिगत तलामा ५० कार र २५० वटा मोटरसाइकल पार्किङ गर्न सकिने छ । दुई बिघा १३ कठ्ठा १६ धुर जमिन रहेको क्षेत्रमा भवन बाहिर पनि पार्किङ र बगैँचा निर्माण गर्न ठाउँ रहने गरी भवन बनाउन लागिएको उनको भनाइ छ ।

भवनमा दुई लिफ्ट हुनेछन् । ज्येष्ठ नागरिक प्रतीक्षा कक्ष, पुस्तकालय, सांस्कृतिक प्रदर्शनी कक्ष, सभाहल, हरेक तलामा दुई/दुई बैठक कक्ष हुने उनको भनाइ छ । भवनमा १५८ सानाठूला कार्य कक्ष रहने छन् भने २२१ कोठा रहने छन् । भवनका हरेक तलामा अपागमैत्री शौचालयसहित प्रत्येक तलामा पुरुष र महिलाका लागि अलग्गै शौचालय रहने छ । पूर्ण अपाङ्गमैत्री सो भवनले आउँदो ६० वर्षसम्म सेवा दिन सक्ने गरी नक्साङ्कन गरिएको सुवेदीले जानकारी दिए । हाल महानगरमा तीन लाख ६९ हजार जनसङ्ख्या रहेको छ ।

महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले भवन निर्माण भएसँगै महानगरवासीलाई सहजरुपमा सेवा प्रवाह गर्न सकिने बताइन् । हाल पुरानो र साँघुरो भवनबाट सेवा दिन परिरहेको छ । कतिपय महाशाखा र शाखा फरक फरक ठाउँमा हुँदा नगरवासीले झन्झट बेहोर्नुपरेको उनको भनाइ छ । उनले भनिन् , “अब आउने जनप्रतिनिधिले आधा कार्यकाल नयाँ भवनबाट सेवा दिन सक्नेछन् ।” भरतपुर क्षेत्रको उच्च ठाउँमा भवन हुने हुँदा महानगरको सहरी क्षेत्रको दृश्यावलोकन गर्न सक्ने आकर्षक भवन बन्ने उनको भनाइ छ ।

महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालले जनप्रतिनिधिको मिहिनेतका कारण सङ्घ र प्रदेशबाट बजेट सुनिश्चतता भएकाले भवन निर्माण गर्न आर्थिक अभाव नहुने बताए । उनको भनाइमा आन्तरिक आम्दानीबाट पूरै खर्च बेहोर्नुपर्ने अवस्था आएको भए धान्न मुस्किल हुने र विकास बजेट कटौती गर्नुपर्ने अवस्था आउने थियो ।

रासस

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.