www.tandavnews.com
Fact ~ In search of truth

हराएका कलात्मक सम्पदा बेलायतद्वारा हस्तान्तरण

काठमाडौँ ।

संयुक्त अधिराज्य बेलायतले नेपालबाट हराएका दुई वटा कलात्मक सांस्कृतिक सम्पदा हस्तान्तरण गरेको छ । लण्डनस्थित दूतावासमा शुक्रबार आयोजित एक कार्यक्रममा लण्डन महानगरीय प्रहरी कार्यालयका गुप्तचर निरीक्षक जोन रोचले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।

नेपाललाई हस्तान्तरण गरिएका कलाकृतिमा सोह्रौँ शताब्दीमा काठमा कुँदिएको तोरन र अठारौँ शताब्दीको नमस्कार मुद्रासहित घुँडा टेकेका भक्तको ढुङ्गाको मूर्ति समावेश छ । सन् १९८०–१९९० को दशकमा काठमाडौँको हनुमानढोका दरबारक्षेत्रको पूर्वपट्टि रहेको कुमारी बहालबाट तोरन हराएको थियो । घुँडा टेकेको भक्तको मूर्ति ओम बहाल नजिकैको मञ्जुश्री मन्दिरको भएको लण्डनस्थित दूतावासले जनाएको छ ।

Batas

कार्यक्रमा राजदूत आचार्यले नेपालका हराएका कलाकृतिको पुनःप्राप्तिमा संलग्न महानगरीय प्रहरी र कला तथा पुरातात्विक वस्तु एकाइका सबै पदाधिकारीप्रति कृतज्ञता ज्ञापन गर्दै हराएको सांस्कृतिक सम्पदाको पुनःस्थापना र पुनःस्थापनाका लागि नेपालको राष्ट्रिय प्रयासमा महानगरीय प्रहरीको सक्रिय र विचारशील सहकार्यले सकारात्मक योगदान दिएको बताए ।

गुप्तचर निरीक्षक रोचले महानगरीय प्रहरी कला तथा पुरातात्विक एकाइले यी दुई बहुमूल्य सम्पदा बरामद गर्नमा आफ्नो भूमिकामा गौरवान्वित भएको र नेपाल फर्काउन पाउँदा खुसी लागेको बताए । चोरी हुनुअघि स्थितिमा फोटो खिचिएका कारण तिनलाई पत्ता लगाउन र वास्तविक मालिकलाई हस्तान्तरण गर्न सहयोग पुगेको बताए ।

ती सामग्री नेपाल सरकारलाई पुरातत्व विभागमार्फत शीघ्र हस्तान्तरण गरिने पनि उक्त दूतावासले जनाएको छ ।

रासस

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.