www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीका ४४ बस्ती पहिरो र कटानको जोखिममा

म्याग्दी ।

म्याग्दीका ४४ बस्ती पहिरो र कटानको जोखिममा छन् । बेनीस्थित भू–तथा जलाधार संरक्षण सम्पर्क कार्यालयले ३१ बस्ती पहिरो र १३ ठाउँमा नदी कटानका कारण करिब एक हजार घरधुरी जोखिममा रहेका जनाएको छ ।

कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले म्याग्दीको ३५७.९ हेक्टर जमिन भू–क्षयबाट प्रभावित भएको जानकारी दिए। “म्याग्दीबाट वार्षिक दुई हजार ५१९ दशमलव ७६ मेट्रिक टन माटो भू–क्षयका कारण बगेर जाने गरेको छ”, उनले भने, “माथिल्लो क्षेत्रमा पहिरो र भूक्षय हुँदा नदीमा बाढीको आयातन बढेर कटान हुने गरेको छ ।”

Batas

धवलागिरिको लमसुङ, खोरिया, दर, ताकम, मालिकाको देवीस्थान, बिम, जुकेपानी, छाप, रातोढुङ्गा, रुम, घोर्सी, दिच्याम गोगनपानी, दरवाङ, मङ्गलाको खर्सुपानी, हाँडेभिर, बेनी नगरपालिकाको सिङ्गा तातोपानी, भकिम्ली, पुलाचौर, भसभसे, घतान, पात्लेखेत, रघुगङ्गाको पाखापानी, दग्नाम, राहुघाट, कटुवालटोल, भगवती, रानीपौवा, पिप्ले, अन्नपूर्णको दोवा, घोस्केखोर, शिख तल्लोगाउँ र फगाममा पहिराको जोखिम रहेको कार्यालयले जनाएको छ ।

यसैगरी म्याग्दी, राहुघाट र कालीगण्डकी नदीको तटीय क्षेत्रमा रहेको दरवाङ, दुखुबेँसी, सहश्रधारा, शेरफाँट, हाँडेभिर, पिपलचौतारी, पानावगर, काशेगर, ताराखेत, सिङ्गा तातोपानी, भसभसे, गलेश्वर र भुरुङ तातोपानीमा कटानको जोखिम भएको मिश्रले बताए । जोखिमयुक्त ठाउँबाट ४५ स्थानमा पहिरो नियन्त्रण, २५ स्थानबाट खोला किनार सरक्षण र ३२ स्थानबाट गल्छी संरक्षण तथा व्यक्तिगत घर, खेतबारी संरक्षणका लागि ७५ जनाको माग निवेदन आएको छ ।

कालीगण्डकी, राहुघाट र म्याग्दी नदीमा सहायक खोलाबाट आउने बाढीले नदीको धार परिवर्तन गराउनु, सडक निर्माण गर्ने क्रममा भिरालो जमिन कटान गर्दा सडकभन्दा माथिको माटो तल फाल्नु र सोको व्यवस्थापन नगरिनु, सडकले गर्दा परापूर्वकालदेखि बग्दै आएको भलबाढी अनियन्त्रित हुनु र नदीमा बाढीको आयातन बढेर तटीय क्षेत्रमा कटान गर्ने समस्या रहेको मिश्रले बताए ।

यसैबीच म्याग्दीमा मनसुनजन्य विपद् प्रतिकार्य योजना लागू गरिएको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले मनसुनजन्य विपद्को जोखियुक्त स्थान पहिचान, सतर्कता, विपद्को अवस्थामा उद्धार, राहत र व्यवस्थापनका लागि विगतको अभ्यास र सरोकारवालाको सुझावका आधारमा प्रतिकार्य योजना बनाएर कार्यान्वयन थालिएको बताए।

उच्च जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने र जिल्लाका ६ वटै स्थानीय तहले कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदीको तटीय क्षेत्रमा बाढीको पूर्वसूचनाका लागि सम्पर्क व्यक्ति खटाउने प्रक्रिया थालेका छन् ।

रासस
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.