www.tandavnews.com
Fact ~ In search of truth

प्रतिपक्षी दलको अवरोधले लुम्बिनी प्रदेशसभाको बैठक स्थगन

रुपन्देही।

प्रमुख प्रतिपक्षी दलको अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । लुम्बिनी प्रदेश सरकारले आज प्रदेशसभामा बजेट प्रस्तुत गर्ने तयारी गरिरहँदा प्रतिपक्षी दल नेकपा (एमाले) ले लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री विमला वलीको घटनाको विषयलाई लिएर अवरोध जनाएको हो ।

बैठकको सुरुमै एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वलीले महिला र बालिकामाथि गरेको दुव्र्यवहारको घटनामा सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गर्दै बैठक चल्न नदिने घोषणा गरे । ढकालले दाङको तुलसीपुरस्थित मीना बस्नेतको घरमा पसेर राज्यमन्त्री वलीले बस्नेत तथा उनकी छोरीमाथि गरेको दुव्र्यवहारको घटनाले प्रदेशवासीको शिर निहुराएको भन्दै सरकारको स्पष्ट धारणा आउनुपर्ने बताए ।

“एउटा महिलामाथि जुन खालको व्यवहार मन्त्रीबाट भयो यसले हामीलाई लज्जित बनाएको छ । यसबारे प्रदेश सरकारको प्रतिक्रिया नआउनु दुःखद् हो”, उनले भने । प्रतिपक्षी दलको अवरोधपछि बैठक आधा घण्टाका लागि अहिले स्थगित भएको छ । राज्यमन्त्री वलीले मङ्गलबार तुलसीपुर निवासी बस्नेत र उनकी छोरीमाथि कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी परेको छ ।

यसअघि आज बसेको एमाले संसदीय दलको बैठकले राज्यमन्त्री वलीले गरेको दुव्र्यवहारबारे प्रदेश सरकारको आधिकारिक धारणा नआउँदासम्म प्रदेशसभा बैठकमा अवरोध गर्ने निर्णय गरेको थियो ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.