www.tandavnews.com
Fact ~ In search of truth

मर्दी ‘ट्रेकिङ रुट’मा थपिए पर्यटकीय पूर्वाधार

कास्की ।

विश्व प्रसिद्ध मर्दी हिमाल पदयात्रा क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा उपलव्ध गराउन पोखरा महानगरपालिका–२५ मेलबोटदेखि माछापुच्छ्रे गाउँपालिकाको अस्तामसम्म पर्यटकीय पूर्वाधार निर्माण गरिएको हो । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक पर्यटकीय पूर्वाधार’ निर्माण कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा मर्दी ट्रेकिङ रुटको मेलबोट–अस्ताम खण्डमा पैदलमार्ग, पार्क, रेलिङलगायतका संरचना तयार गरिएको हो ।

Batas

गत वर्षदेखि मेलबोट–झिझिर्का–अस्ताम–धिताल–धम्पुस–मर्दी हिमाल पैदलमार्ग तथा पर्यटकीय पूर्वाधार र पार्क निर्माणको योजना अघि सारिएको हो । मेलबोटबाट पदयात्रा सुरु भएर अस्ताम, धिताल, धम्पुस, प्रितम देउराली तथा धिताल ल्वाङ, घलेल कालीमाटी हुँदै मर्दी हिमाल जोड्ने गरी पदयात्रामार्ग विकास गर्ने योजना छ ।

गण्डकी प्रदेश सरकारको गत वर्ष विनियोजन गरेको रु २५ लाख बजेटबाट पर्यटकीय पूर्वाधार र विभिन्न संरचना निर्माण गरिएको मेलवोट–अस्ताम–धिताल–धम्पुस–मर्दी हिमाल पदमार्ग निर्माण समितिका संयोजक एवं पर्यटन व्यवसायी विश्व अधिकारीले बताए । उनका अनुसार ३०० मिटर ढुङ्गाको छपनी बिछ्याएको सिँढी बाटो, ३११ मिटर रेलिङ, साइड वाल, चारवटा चौतारी र पोखरी निर्माण गरिएको छ ।

अझै चारवटा चौतारी र पोखरी पुनःनिर्माणको काम बाँकी छ । चार सामुदायिक वन क्षेत्रमा पर्ने पदयात्रा क्षेत्रमा अप्ठ्यारो स्थानमा सिँढी बाटो निर्माण गरिए पनि पैदलमार्गको काम अझै बाँकी छ । प्रदेश सरकारले चालु वर्षमा पनि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएकाले थप काम अघि बढाइने उनले बताए ।

उनले भने, “फुट्याकलगायतका पर्यटकीय पूर्वाधार निर्माणपछि पदयात्रामा आउने पर्यटक बढेका छन्, यो पैदलमार्ग रोजाइमा छ । योजनाअनुसारका कामलाई पूर्णता दिन अझै धेरै काम बाँकी छन् ।” पदयात्रा मार्गलाई अस्तामसम्म मोटरबाटोले नछुने भएकाले जङ्गलै जङ्गलभित्रबाट पदयात्रा हुनेछ । सुनझाँक्रीको थान, लालीगुराँसको जङ्गल, रुद्रमहादेव, पञ्चेबाजा उद्यानसहितका पर्यटकीय र जैविक विविधताले पर्यटकलाई आनन्दित तुल्याउने गरेको छ ।

मर्दी हिमाल पदयात्रामा जानका लागि हाल माछापुच्छ्रे गाउँपालिकाको धम्पुस, कालीमाटी, सिदिङ तथा अन्नपूर्ण गाउँपालिकाको अष्ट्रेलियन क्याम्पसम्म गाडीमा पुगेर पदयात्रा सुरु गर्न सकिन्छ । यसैगरी माछापुच्छ्रेकै कालीमाटी तथा सिदिङबाट समेत पदयात्रा गर्न सकिन्छ । समितिको अग्रसरतामा मेलबोटबाट नै पदयात्रा सुरु गर्ने गरी पैदलमार्ग निर्माण गरिएको हो ।

रासस
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.