www.tandavnews.com
Fact ~ In search of truth

अब सवारी अनुमति पत्र तीन दिनमै !

काठमाडौँ।

तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ?  यदि चाहिएको भए अब तीन दिनमै तपाईंले प्राप्त गर्नुहुन्छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडाले आकस्मिक रुपमा सवारी अनुमति पत्र चाहिने सेवाग्राहीलाई ध्यानमा राखेर छिटोमा तीन दिनमै दिने व्यवस्था गरेको हो । अन्य सेवाग्राहीलाई भने सवारी चालक अनुमतिपत्र लिन १५ देखि १८ दिन लाग्ने छ ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफू मुख्यमन्त्री भएसँगै सवारी चालक अनुमतिपत्र लिन पर्खाइमा रहेका सेवाग्राहीलाई छ महिनाभित्र वितरण गरिसक्ने प्रतिबद्धता जनाएका थिए। प्रदेश सरकारले अतिरिक्त समयमा यातायात कार्यालय सञ्चालन गर्न सहज हुनेगरी २०७८ फागुन २६ गते कार्यविधि बनाएको थियो । सोही कार्यविधिअनुसार श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडाले आफू मातहतका सवारी चालक अनुमतिपत्र लिने कार्यालय बिहान ७ बजेदेखि सञ्चालन सुरु गरेको छ ।

Batas

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव इञ्जिनियर उमेश रुपाखेती बागतमी प्रदेशले यातायात कार्यालयबाट दैनिकरुपमा प्रवाह हुने सेवाग्राहीको विवरण दैनिकरुपमा सार्वजनिक गर्ने तयारी गरेको बताए । “सेवाग्राहीसँग प्रत्यक्ष जोडिने कार्यालय यातायात कार्यालयको सुधारका लागि बागमती प्रदेश कार्यालय लागेको छ”, उनले भने।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ठूलोभ¥याङ, हेटौँडा, जगातिलगायतका कार्यालयले आज बिहान ७ बजेदेखि सेवाग्राहीलाई सवारी चालक अनुमतिपत्र प्रदान सुरु गरे पनि सवारी चालक अनुमतिपत्र एकान्तकुना, चाबहिलले छिट्टै सेवा प्रदान गर्ने बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले बताए ।

मन्त्री दाहाल यातायात कार्यालयभित्र देखिएको अस्तव्यस्तता हटाउँदै सेवाग्राहीलाई सहज ढङ्गले सेवा प्रदान गर्नका लागि कार्यविधि बनाएर बिहानैदेखि कार्यालय सञ्चालन सुरु गरेको बताए । “उपत्यका बाहेकका अरु जिल्लाका सेवाग्राही काठमाडौँभित्र सेवा लिन आउन नपरोस् भन्ने उद्देश्यले उपत्यका बाहिर पनि सवारी चालक अनुमतिपत्र कार्यालय खोल्न लागिरहेका छौँ”, उनले भने।

सेवाग्राही १० बजेदेखि यातायात कार्यालय सञ्चालन हुने भएकाले ७ बजेदेखि नै कार्यालय आएर लाइनमा बसेको अप्ठ्यारो अवस्थालाई महसुस गरेर बिहान ७ बजेदेखि नै कार्यालय सञ्चालन सुरु गरेको उनको भनाइ छ । मन्त्री दाहाल अतिरिक्त समयमा काम गर्ने कर्मचारीलाई मन्त्रालयले भत्ताकोसमेत व्यवस्था गरेको बताए।

आज बिहान सवारी चालक अनुमतिपत्र ठूलोभ¥याङमा सेवा लिन आएका नागार्जुन नगरपालिका–२ का सेवाग्राही रामबहादुर श्रेष्ठ यति चाँडो लाइसेन्सको काम हुन्छ भन्ने विश्वास आफूलाई नलागेको बताए । “यस्तो सेवा सधैँ प्रदान गर्नसके यातायात कार्यालयप्रति सेवाग्राहीले हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ”, उनले भने।

सोही कार्यालयमा सेवा लिन आएका डडेलधुराका वीरेन्द्र साउद पछिल्लो समय यातायात कार्यालयले दिने सेवाप्रति आफू सन्तुष्ट रहेको बताए। यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ठूलोभ¥याङका निमित्त प्रमुख सञ्जय थापा यातायात क्षेत्रलाई हेर्ने नजरमा परिवर्तन ल्याउनु जरुरी रहेको बताए। “हरेकले आफू कर्मचारीमात्र नभएर सेवाग्राहीको नजरबाट हेर्नसके यातायात क्षेत्रमा सुधार आउँछ”, उनले भने ।

ठूलोभ¥याङले दैनिक तीन सय जनालाई सवारी चालक अनुमति पत्र प्रदान गर्दै आएको छ । दैनिक सात सय नयाँ सवारी चालक अनुमतिपत्रका लागि दर्ता, एक सय ५० नवीकरण, दुई सयको राजस्व सङ्कलन र ५० जनालाई प्रतिलिपि प्रदान गर्दै आएको छ ।

यस्तै हप्ताको पाँच सय जनाको लिखित परीक्षा सञ्चालन गर्दै आएको कार्यालय प्रमुख थापाले बताए । ठूलोभ¥याङले सवारी चालक अनुमतिपत्रका लागि चन्द्रागिरि नगरपालिकाको गुर्जुधारास्थित भेहिकल एकेडेमीबाट प्रयोगात्मक परीक्षा गराउँदै आएको छ ।
रासस
–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.