www.tandavnews.com
Fact ~ In search of truth

राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको ४ कोठे भवन उद्धघाटन

पोखरा।
पोखरा महानगरपालिका वडा नं।३२ श्यामघाट (लामेआहाल) स्थित श्री राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको नवनिर्मित ४ कोठे भवन उद्घाटन गरिएको छ । बिहीबार एक कार्यक्रमका बिच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सो भवन उद्घाटन गरेका हुन्।

भवनको उद्घाटन गर्दै प्रमुख आचार्यले अनुशासन, असल आचरण र नैतिक शिक्षामा आधारित संस्कृत शिक्षाको थप विकास र सुदृढीकरण आवश्यक रहेको बताए। आधुनिकताको विकाससँगै व्यक्तिमा आत्मानुसासन प्रवद्र्धनमा संस्कृत भाषा तथा गुरुकुल विद्यालयहरूको योगदान महत्त्वपूर्ण रहेको प्रमुख आचार्यले बताए।

नवनिर्मित भवनले सहज सिकाइका लागि विद्यार्थीहरूको मनोबल उच्च हुनुका साथै हौसला र प्रोत्साहन समेत मिल्ने उनले विश्वास व्यक्त गरे । विद्यालयको भौतिक संरचना निर्माण तथा शैक्षिक सुधारका लागि पोखरा महानगरपालिकाको तर्फबाट थप सहयोग गर्ने उनले प्रतिवद्धता जनाए।

Batas

पोखरा ३२ का वडा अध्यक्ष अक्कल बहादुर कार्कीले संस्कृत तथा गुरुकुल शिक्षामा उक्त विद्यालय अग्रणी रहेको बताए। विद्यालय संचालनमा देखिएका समस्याहरुको समाधानका लागि सम्बन्धित निकायहरुसंग आवश्यक समन्वय तथा पहल गर्ने उनले बताए।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत पोखरा महानगरपालिका मार्फत प्राप्त ३६ लाख र जनश्रमदान तथा दाताहरूको सहयोग समेत गरी भवन निर्माणमा रु.४१ लाख ६५ हजार बढी खर्च भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त सिग्देलले जानकारी दिए। आर्थिक अभावका कारण विद्यालयमा आवश्यक भौतिक संरचनाहरू निर्माण गर्न नसकिएको उनले गुनासो गरे। विद्यालयमा अझै पनि व्यवस्थित शौचालय र खानेपानीको अभाव रहेको सिग्देलले बताए।

कक्षा ६ देखी १० सम्म पढाई हुने उक्त विद्यालयमा २५ जना विद्यार्थीहरूले आवासीय सुविधा सहित अध्ययन गरिरहेका विद्यालयका प्रधानाध्यापक प्रकाश उपाध्याय रेग्मीले बताए। विद्यालयमा महानगरको सहयोगमा ५ जना शिक्षकहरू कार्यरत रहेका छन् भने हालसम्म कुनै पनि दरबन्दीको व्यवस्था छैन ।

दरबन्दी नहुँदा शिक्षकहरूले न्यूनतम पारिश्रमिकमा पढाउनु पर्ने भएका कारण स्थायी रूपमा शिक्षकहरूलाई रोक्न नसकिएको गुनासो रेग्मीको छ । उनका अनुसार विद्यालयको मासिक खर्च रु.३ लाखको हाराहारीमा छ ।

२०७० सालमा स्थापित उक्त विद्यालयले २०७१ सालदेखि पठनपाठन सुरु गरेको थियो । विद्यालयमा हाल नेपाली, सामाजिक, गणित, अङग्रेजी, वेद, संस्कृत भाषा, कर्मकाण्ड र व्याकरण लगायत विषयहरूमा पढाई हुने गरेको छ । विद्यालयबाट एसइईका २ ब्याच विद्यार्थीहरू पास आउट भैसकेका छन् ।

 

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.