www.tandavnews.com
Fact ~ In search of truth

पदाधिकारी चयनमा माओवादी बैठक अनिर्णीत

काठमाडौं ।
महाधिवेशन सम्पन्न भएको छ महिना बितिसक्दा पनि नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पदाधिकारी चयन गर्न सकेको छैन । पदाधिकारीलगायत पार्टीका साङ्गठनिक संरचनालाई अन्तिमरुप दिने भन्दै पछिल्ला केही दिनदेखि बसिरहेको माओवादी स्थायी समिति बैठक अनिर्णीत बनिरहेको छ ।

बैठक बस्ने, छलफल हुने तर निष्कर्षमा पुग्न नसक्दा पदाधिकारी घोषणा हुन नसकेको माओवादी नेताहरूको स्वीकारोक्ति छ । महासचिवको चयनलाई लिएर पार्टीभित्र सङ्घर्ष बढेको नेताहरूको भनाइ छ । महासचिवमा स्थायी समिति सदस्य वर्षमान पुन र जनार्दन शर्माको दाबेदारी रहेको बताइएको छ ।

गत पुसमा आठौँ महाधिवेशन सम्पन्न गरेको माओवादीले अध्यक्षबाहेक पदाधिकारी चयन गर्न सकेको छैन । केही दिनअघि बसेको बैठकले ४१ सदस्यीय स्थायी समिति, एकसय २५ सदस्यीय पोलिटब्यूरो र तीनसय ७५ सदस्यीय केन्द्रीय समितिको टुङ्गो लगाएको थियो ।

Batas

पदाधिकारीलगायत साङ्गठनिक संरचनालाई पूर्णता दिने भन्दै बिहीबार बिहान बोलाइएको बैठक बस्न नसकेपछि पुनः अपराह्न ४ बजेका लागि तय गरिएको थियो । अपराह्न ४ बजे पुनः बैठक बस्न नसकेपछि साँझ ६ बजेका लागि बोलाइएको थियो । प्रतिनिधिसभामा नागरिकता विधेयकमाथिको छलफल र मतदान जारी रहेकाले शीर्ष नेतालगायत स्थायी समितिका सदस्य व्यस्त भएको भन्दै अन्तिम अवस्थामा बैठक आज बिहान बस्ने गरी स्थगन भएको थियो ।

शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक पनि पदाधिकारी चयनको विषयमा अनिर्णीत बनेको छ । नेता कृष्णबहादुर महराले पुनः भोलि १ बजे बस्ने बैठकले अन्तिम रूप दिने जिकिर गरे ।

“आज स्थायी समितिको बैठक बस्यो, पदाधिकारी र पार्टी कार्यक्रमका विषयमा विस्तृत छलफल भयो”, पदाधिकारीसम्बन्धी छलफलका विषय बाँकी नरहेको जानकारी दिँदै उनले भने, “भोलि अपराह्न १ बजे बस्ने बैठकबाट टुङ्गो लाग्छ ।”

पदाधिकारी चयनका विषयमा पार्टीभित्र निकै गहन छलफल भएको उनको भनाइ छ । “विवादका कारण पदाधिकारी चयन गर्न नसकिएको भन्ने होइन”, नेता महराले भने, “पदाधिकारी चयन तथा कार्यक्रमका बारेमा विस्तृत र गम्भीर रूपमा छलफल भएको छ । अब छलफल गर्न बाँकी विषय छैनन्, भोलि अपराह्न १ बजे बस्ने बैठकले अन्तिमरुप दिन्छ ।”
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.