www.tandavnews.com
Fact ~ In search of truth

श्रीकृष्ण न्यौपानेकाे काव्य ‘भृकुटी’ प्रकाशित

लमजुङका छन्दवादी कवि एवं साहित्यकार श्रीकृष्ण न्यौपानेको ऐतिहासिक काव्य भृकुटी प्रकाशित भएको छ । १२ सर्गमा विभाजित काव्यमा १५ वटा शास्त्रीय छन्दहरूको कलात्मक प्रयोग गरिएको छ । २०४८ सालमा छली सामाजिक काव्य प्रकाशित गरेर नेपाली साहित्यको आकाशमा कृतिकारको रुपमा स्थापित भएका न्यौपानेले ३१ बर्षपछि आफ्नो दोस्रो कृति प्रकाशित गरेका हुन् ।

भृकुटी काव्य राजकुमारी भृकुटीको जीवनगाथाको मोटामोटी आकलन हो । नेपाली ऐतिहासिक नारी भृकुटीका विषयमा काव्य निर्माण गरेर कवि श्रीकृष्णले एकातिर नारीप्रति सम्मान गरेका छन् भने आदर्श नारी भृकुटीको जीवनगाथालाई जनसमक्ष प्रस्तुत गरेर त्यस्ता नारीको जीवनगाथाबाट काव्यात्मक रसमा केही सिक्ने वातावरण बनाएका छन् ।

भृकुटीलाई कुनै न कुनै उपायबाट महान् ऐतिहासिक नारीका रूपमा सिद्ध गर्न खोजिएको छ । यति हुँदा हुँदै पनि यो काव्यमा विषयलाई छुट्टै किसिमले पनि देखाइएको छ ।भृकुटीसँग सम्बन्धित भएर पनि बाह्य इतिहासमा धेरै चर्चामा नआएका पात्रले यहाँ सानोतिनो भूमिका पाएका छन् ।

Batas

अनामी, सुधा,रमा वीरकाजी आदि पात्र इतिहासमा त्यति भेटिन्नन् । रमा स्वयम् भृकुटीको वास्तविक नाम हो । उनी सोलुबाट काठमाण्डौ बसाइँ सरेका शेर्पा परिवारकी छोरी भएको र उनलाई फकाएर कैलाशकुट भवनमा लगी अंशुबर्माकी छोरीको रूपमा राखेपछि उनी भृकुटी बनेको तथ्य यहाँ ऊजागर भएको छ । समग्रमा काव्यले भृकुटीलाई उच्च कोटीकी राष्ट्रिय विभूतिका रूपमा चिनाएको छ ।

काव्यका सम्बन्धमा छन्द बचाउ अभियानका संस्थापक एव कवि माधव वियोगी छन्दशिरोमणि एवम् राष्ट्रकवि माधवप्रसाद घिमिरेबाट कुनै न कुनै रूपमा प्रेरित न्यौपानेको लेखनमा पनि घिमिरेको रोशनी चम्केको देखिने बताउछन्,

विविध छन्दको प्रयोगले यसलाई खण्डकाव्य हुन नदिएको र महाकाव्यका लक्षणहरू देखिए पनि विषयको विस्तारीकरण र श्लोक सङ्ख्या लगायतले यसलाई महाकाव्य हुनबाट रोकेकाले लेखकले यसलाई काव्य मात्र भनेर आफ्नो शास्त्रीय प्रतिष्ठा र नैतिक अनुशासनलाई जोगाएको बताउँछन् ।

लमजुङका पूर्व प्र जि अ एवं हाल कारागार व्यवस्थापन विभागका निर्देशक झंकनाथ ढकाल मातृभूमिको रक्षा र बुद्ध महिमाको प्रचारमा नेपालका राष्ट्रिय विभूति भृकुटीको त्याग, समर्पण र योगदानको सरल प्रस्तुति प्रकाशित काव्य भित्र पाइने बताउँछन् ।

काव्य प्रकाशनमा हतार नगर्ने स्वभावका न्यौपानेबाट रचित विपासना महाकाव्य लगायतका दर्जनौँ काव्यहरू तथा शास्त्रीय गजलहरूको संग्रह साथै गीतिकाव्य तथा फुटकर कविताका धेरै कृतिहरू अब भने निरन्तर प्रकाशित गर्ने निजको पारिवारिक स्रोतले बताएको छ ।

करिब आधा शताब्दीबाट छन्द साहित्यमा साधनारत न्यौपाने छन्द बचाउ आन्दोलन २०५३ का स्थापनाकाल देखिकै सदस्य र पिङ्गल छन्द प्रतिष्ठान नेपालको अध्यक्ष भई छन्द संरक्षणको अभियानमा समेत सक्रिय रहँदैआएका छन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.