www.tandavnews.com
Fact ~ In search of truth

२८ वर्षपछि सिँचाइ आयोजना सम्पन्न

पर्वत।

पर्वतमा एउटा सिँचाइ आयोजना २८ वर्षमा निर्माण सम्पन्न भएको छ । जलजला गाउँपालिका–७ स्थित सल्यान सिँचाइ आयोजनाको काम यति लामो समयपछि पूरा भएको हो ।

विसं २०५१ मा निर्माण सुरु भएको सो आयोजनाको नहर हालै सम्पन्न भएको हो । उक्त नहर बर्सेनि सरकारको थोर–थोरै लगानी र स्थानीयको श्रमदानबाट निर्माण गरिँदै आएको थियो । उपभोक्ता समितिका अध्यक्ष रुद्रलाल उपाध्यायका अनुसार सिँचाइ कुलो बनेपछि यहाँका दुई सय परिवार लाभान्वित भएका छन् ।

झण्डै ५० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । “नहर पूरा नहुँदा सामान्य खनिएको कुलोमा पानी चुहावट हुने समस्या थियो”, उनले भने, “नहर निर्माण सम्पन्न भएपछि मुहानबाट आएको जति पानी खेतमा पुग्न थालेको छ । आव २०७६/७७ मा गण्डकी प्रदेश सरकारवाट विनियोजित रु एक करोड ९७ लाखमा नहरको काम सम्पन्न भएको हो ।

उक्त बजेट ठेक्कामार्फत कार्यान्वयन गरी काम सम्पन्न भएको वडाध्यक्ष टुङ्गनाथ शर्माले बताए। “गत आर्थिक वर्षमा दुई हजार चार सय मिटर नहर पुनःनिर्माणले पूर्णता पाएको थियो”, उनले भने, “भुसुनेको मुहानबाट सल्यानसम्म मुख्य नहर पक्की बनाइएको छ । शाखा नहर बनाउनका लागि पनि योजनालाई निरन्तरता दिन पहल गरेका छौँ ।”

यसपालि धान रोप्न र पानी लगाउन विगत जस्तो धेरै दिन पालो लगाउनु नपरेको शर्माको भनाइ छ । अक्करे जोखिमयुक्त भिरमा पहिले नहर बनाउने क्रममा सात जनाले ज्यान गुमाएका थिए । लामो समयपछि निर्माण भएको आयोजना अन्तिम समयमा गण्डकी प्रदेश सरकारअन्तर्गतको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले सम्पन्न गरेको हो ।

धाइरिङ धवलागिरि क्षेत्रमा सबैभन्दा धेरै व्यावसायिक तरकारी खेती हुने गाउँ हो । यहाँ ताजा तरकारीको साथै बीउ पनि उत्पादन हुन्छ । सल्यान सिँचाइ आयोजना निर्माण हुनुअघि सल्यानमा घैया धानखेती हुन्थ्यो । सिँचाइ आयोजना निर्माण भएसँगै गुडुरा, गौरिया जातको धान भित्रिएको र सल्यानका कृषकको जीवनस्तरमा सुधार ल्याएको स्थानीय दण्डपाणि रिजालले बताए।

सिँचाइ सुविधापछि विदेशबाट फर्किएका कृषकले व्यावसायिक तरकारी खेती गरेर राम्रो आम्दानी गर्न सफल भएका उपभोक्ता समितिका सदस्य हरि आचार्यले बताए। कक्षा ५ सम्म पढाइ हुने फर्से धाइरिङमा मावि तहको पठनपाठन सञ्चालन गर्नमा पनि सल्यान सिँचाइ आयोजनाको हात रहेको प्रअ मुकुन्द आचार्यले बताए।

आयोजनाको शुक्रबार गण्डकी प्रदेश सरकारका सभामुख नेत्रनाथ अधिकारी र संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले संयुक्तरूपमा शिलालेख अनावरण गरेर उद्घाटन गरे।
रासस
–––

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.