www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा अझै पनि कटुवाल प्रथा

पर्वत
प्रविधिले फड्को मारेको एक्काइसौँ शताब्दीमा पनि कटुवाल प्रथा छ भन्दा अचम्म लाग्न सक्छ । तर आश्चर्यमा नपर्नुस् केही समय अगाडि विभिन्न सञ्चारका साधनहरू नेपालमा नभित्रिने बेलासम्म गाउँघरमा विश्वासिलो र भरपर्दो सूचना आदान प्रदान गर्ने माध्यम भनेको कटुवाल प्रथा नै हो । यो कटुवाल प्रथा नेपालको विभिन्न जिल्लाहरूमा अहिले पनि कायमै रहेको छ । ती विभिन्न जिल्लाहरू मध्ये यो प्रथा रहेको जिल्ला हो पर्वत ।
गण्डकी प्रदेशको पर्वत जिल्लामा अझै पनि कटुवाल प्रथा कायम रहेको छ । पर्वतको, कुश्मा नगरपालिका, मोदी, बिहादी, महाशिला र पैयुँ गाउँपालिकामा यो प्रथा अझै पनि रहेको छ । गाउँमा हुने कार्यक्रम र विभिन्न सभा, समारोहमा गाउँलेहरू लाई सूचना दिन र आयोजना हुन लागेका विभिन्न कार्यक्रममा सहभागी हुनको लागि आग्रह गर्दै ‘हाँकोडाँको’ हाल्ने काम गर्छन् कटुवालले ।
Batas
कटुवाल प्रथालाई अहिले सम्म निरन्तरता दिएका कटुवाचौपारी ज्ञादीका एक ८२ वर्षीय वृद्ध हुन् , सोभे दमाई । उनी भन्छन्,‘४३ बर्ष भयो । कटुवालको काम गरेको सबै सँग भेटघाट हुन्छ खुसी छु ।’चार दशक भन्दा बढी कटुवाल भएर काम गरेका उनी अझै पनि लौरीको सहारामा गाउँमा घुमफिर गरेर कटुवाल बाली उठाउँछन् ।
साँघुरो अनुहार चिम्सा आँखा, चाउरी परेका गाला, झुस्स सेतै फुलेकादाडी भएका उनी कसैलाई देख्दा साथ मुसुक्क मुस्कुराउँछन् । फरासिलो व्यवहार भएका दमाई भन्छन्, ‘सवैका घरमा पुग्ने गर्छु आजकल सानासाना बालबच्चाले पनि जिरे दमाई भनेर चिन्छन् खुसी लाग्छ ।’ प्रविधिको विकास सँगै डाँडा माथिको घाम जस्तै भएका उनी अहिले पनि हिँडेरै गाउँ चाहार्छन। ‘दया मायाले दिए खान्छु , नत्र ठिकै छ भनेर बस्छु । ’ उनले भन्छन् , ‘ घरमा भएका छोराहरू बिदेसिए घरमा बुहारी सँगै बसेको छु भनेजस्तो हुँदो रहिनछ आफूले सबै गर्न नसक्ने भएपछि त ।’ बैसमा सबै काम गर्न सकिन्थ्यो कसैले नदिए पनि आफै गरेर खान सकिन्थ्यो तर अहिले बुढो भइयो अरूकै भर पर्नु पर्दा कति बेला दिन्छन् अनि खाउँला भनेर कुर्नुपर्छ ।
यसरी दुख पोख्ने उनले भन्छन् , ‘चुनाव आयो भन्छन्, आफूलाई भोट राख्ने ठाउँमा पनि पुर्याउछन् अनि भित्र लगेर भोट कता हाल्दिन्छन् खै थाहा नै पाउन्न । अब भोट हाल्न नजाने सोचेको छु ।’ अहिले सम्म कटुवाल भएर ४ दशक यो पेशामा बिताएका उनलाई कसैले सम्मान नगरेको बताउँछन् । तर पनि कुनै दुख नलागेको उनको भनाई छ । धेरै परिवर्तन भए भनेर भन्छन् तर हामी जस्ता गरिवका दुख यस्तै छन् ।
४९० घरधुरी रहेको कटुवाचौपारी ९ मा जम्मा जनसङ्ख्या २ हजार ४७ रहेको छ । पहिले मोबाइल, रेडियो, टेलिभिजन नभएको अवस्थामा गाउँको मलामी डाँडा, घुमाउनी डाँडा र माझी गाउँमा पुगेर हाँकोडाँको हाल्ने गर्थे उनी । बुहारी सँग बसेका उनी आफूले गाउँमा उठाएको अन्नपातले आफ्नो जीविका चलाएको बताउँछन् । मैले यसरी नै बाली उठाएर नै बुहारी , ३ नातिनातिना र आफ्नो पेट भोर्ने हो । उनी भन्छन् , ‘अहिले त्यस्तो छैन कोहिले दिन्छन् कोही दिँदैनन् ,पहिला पहिला कटुवाल काम गरेबापत प्रति घरधुरी १ पाथी अन्न पाइन्थ्यो । ‘कसै कसैले पैसा नै दिन्छन् । नत्र मैले पाउने १ पाथी अन्न नै हो ।’
अहिले गाउँमा धेरै कुरा फेरिएको छ । गाउँका घर फेरिए, गाउँका मान्छे नै सुखको खोजीमा बजार गए, कतिका त दयालु मन नै फेरिएको उनको बुझाई छ ।
गाउँको सेवामा लागेर आफ्नो जीवन नै बिताएका सोभे दमाई लगायत अन्य कुनै व्यक्तिहरू छन् भने पनि विशेष रूपले हेर्नुपर्ने गाउँका अगुवा उपेन्द्र अधिकारीले बताउँछन् । उनी भन्छन्, प्रधान पञ्चदेखि निरन्तर अहिले सम्म पनि हाँकोडाँको हालेर सूचना, सञ्चारको काम गर्ने यस्ता व्यक्तिलाई राज्यबाट नै विशेष नजर लगाउनुपर्छ ।’ गाउँलाई सूचना दिनु राम्रो काम भएको भन्दै सूचना प्रवाहको भरपर्दो माध्यम बनेका उनलाई सम्मान गर्नुपर्ने अधिकारीको बुझाई छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.