www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी नेत्री अर्याल निर्वाचित

काठमाडौँ।
राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा(माओवादी केन्द्र) की सांसद उर्मिला अर्याल निर्वाचित भएकी छन्।

सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदका लागि एक जनाको मात्रै उम्मेदवारी परेको जानकारी गराउँदै अर्याल निर्विरोध निर्वाचित भएको सभालाई जानकारी गराए। सभाध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई सफल कार्यकालको कामना गर्दै बधाईसमेत दिए।

त्यसअघि नेकपा(एमाले)का सांसद देवेन्द्र दाहालले राष्ट्रियसभाका उपाध्यक्षका रुपमा अर्याल योग्य व्यक्तित्वका रुपमा रहेको बताए।

Batas

उपाध्यक्षका लागि अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दै उनले नेपालको कम्युनिस्ट आन्दोलनको एक सिद्धहस्त व्यक्तित्वलाई उपाध्यक्षका रुपमा पाउन लागेको बताए। उनले भने, “लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा लाग्नुभएका अर्याल स्थापित महिला र सामाजिक क्षेत्रको जिम्मेवारीमा रहेर काम गर्नुभएको सफल व्यक्तित्व हुनुहुन्छ ।”

प्रस्तावका पक्षमा आफ्नो धारणा राख्दै सांसद खिमलाल देवकोटाले महिला नेत्री एवं राष्ट्रियसभाका सदस्यका रुपमा रहेकी सांसद अर्यालको भूमिका नेपालको महिला आन्दोलनमा प्रशंसनीय रहेको बताए। उनले महिलालाई राज्यका अन्य निकायको प्रमुखमा निर्वाचित गर्नुपर्ने धारणा राखे।

माओवादी केन्द्रका स्थायी समिति सदस्य रहेकी अर्याल पूर्वस्थानीय विकास मन्त्रीको जिम्मेवारी सम्हाली सकेकी छन्। विसं २०१३ असोज २० गते साविक जगरनाथपुर गाउँपालिका–५ मसिहानी, पर्सामा जन्मीएका अर्याल हालको ठेगाना वीरगञ्ज महानगरपालिका–२३, गण्डक चोक वीरगञ्ज हो । तत्कालीन नेकपाको चौथो महाधिवेशनबाट वामपन्थी आन्दोलनमा लागेकी अर्याल गत वर्ष भएको राष्ट्रियसभाको निर्वाचनमा मधेस प्रदेशबाट निर्वाचित भएकी हुन्।

समाजशास्त्रमा स्तातकोत्तर गरेकी अर्याल विद्यावारिधिको शोधार्थी हुन्। अखिल नेपाल महिला सङ््घको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालेकी थिइन् । अर्यालले महिला विकास अधिकृतका रुपमा पनि सेवा गरेकी छन्। तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो । उनी विसं २०७८ माघ १२ गते राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी थिइन्।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.