www.tandavnews.com
Fact ~ In search of truth

वित्तीय साक्षरता मार्गदर्शन जारी

काठमाडौँ।
नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गरेको छ । आममानिसमा वित्तीय प्रणालीप्रति विश्वास कायम राख्न र आर्थिक गतिविधिलाई वित्तीय प्रणालीमा समावेश गर्न यो मार्गदर्शन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।

वित्तीय साक्षरता अभियान प्रवद्र्धन गर्नका लागि भन्दै राष्ट्र बैंकले यसअघि बैंक तथा वित्तीय संस्थाका लागि ‘वित्तीय साक्षरता ढाँचा, २०७९’ जारी गरिसकेको छ । शुक्रबार जारी गरिएको मार्गदर्शनले वित्तीय साक्षरताका लागि आवश्यक संस्थागत पूर्वाधार निर्माण गर्न सहयोग पुग्ने ठानिएको छ ।

“लक्षित वर्ग केन्द्रित वित्तीय साक्षरता अध्ययन सामग्रीको प्रयोग सुनिश्चित गर्ने र त्यसको अनुगमनका लागि आधार निर्माण गर्ने उद्देश्यले यो मार्गदर्शन ल्याइएको हो”, राष्ट्र बैंकले भनेको छ, “वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्दै जिम्मेवार वित्तीय आचरणको विकास गर्ने तथा आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने उद्देश्य रहेको छ ।”

Batas

वित्तीय ज्ञानको अभाव भएका व्यक्तिलाई औपचारिक प्रणालीमा आबद्ध गराउन बैंक तथा वित्तीय संस्थाको भूमिका रहनेगरी यो मार्गदर्शन तयार पारिएको छ । अब बैंक तथा वित्तीय संस्थाले वार्षिक कार्यक्रम तयार पारेरै वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।

“वित्तीय साक्षरता कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्न आवश्यक संरचनाको विकास गर्ने र लक्षित वर्गका लागि उपयुक्त हुनेगरी वित्तीय ज्ञानका विधि क्षेत्र समेटी व्यवस्थितरुपमा योजना तयार गर्नुपर्नेछ”, मार्गदर्शनमा भनिएको छ । यसरी योजना तयार पार्दा लक्षित वर्गको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहार हेरेर सोहीअनुसार कार्यक्रम चलाउनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

लक्षित ग्राहकको वर्गीकरणसमेत गर्नुपर्नेछ । कुनै रोजगारमा आबद्ध भएका, कृषक, साना उद्यमी, विद्यार्थी, महिला, युवा, रेमिट्यान्स पाउने व्यक्तिका लागि फरकफरक खालको वित्तीय साक्षारता आवश्यक पर्ने भएकाले ग्राहकको वर्गीकरण आवश्यक पर्ने राष्ट्र बैंकको तर्क छ ।

मार्गदर्शनअनुसार बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय साक्षरता कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय कार्यालयमा वित्तीय साक्षरता इकाइ स्थापना गर्नुपर्ने वा कुनै इकाइलाई सोको जिम्मेवारी दिनुपर्नेछ । उक्त इकाइले वित्तीय साक्षरतासम्बन्धी वार्षिक कार्ययोजना तयार पार्नुपर्ने र स्थानीय तथा प्रादेशिकस्तरमा विभिन्न कार्यक्रम सञ्चालनसमेत गर्नुपर्नेछ । यस्ता कार्यक्रम सञ्चालन गर्दा दुर्गम र वित्तीय पहुँच कम भएका स्थानलाई प्राथमिकतामा राख्नुपर्नेछ ।

वित्तीय साक्षरतासम्बन्धी सामग्री सम्प्रेषण गर्दा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने सेवाबारे स्पष्ट पार्नुपर्नेछ । “बैंक तथा वित्तीय संस्थाहरुले ब्याज अनुदान प्राप्त हुने विभिन्न प्रकारका सहुलियतपूर्ण कर्जा, आधुनिक प्रविधिमा आधारित भुक्तानी सेवा, वित्तीय सेवा प्रवाहसम्बन्धी गुनासो सुनुवाइ एवं व्यवस्थापन प्रणालीका बारेमा सर्वसाधारणले सहजै बुझ्ने र सूचना पाउन सक्नेगरी आवस्यक संयन्त्रको विकास गर्नुपर्नेछ”, मार्गदर्शनमा भनिएको छ । बैंक तथा वित्तीय संस्थाले वित्तीय सारक्षता कार्यक्रम सञ्चालन गरे÷नगरेकाबारे राष्ट्र बैंकले अनुगमनसमेत गर्नेछ ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.