www.tandavnews.com
Fact ~ In search of truth

पहाडी जिल्लामा बाँदर आतङ्क रोक्न सांसदको माग

काठमाडौँ।
प्रतिनिधिसभाका सांसदहरुले मुलुकभरका पहाडी जिल्लामा बाँदरले किसानका बालीनाली सखाप गरी दुःख दिएको भन्दै समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद रामहरि खतिवडाले पहाडी जिल्लामा बाँदरले किसानलाई दुःख दिएर आतङ्क मच्चाइरहेको बताउँदै समाधानका लागि आग्रह गरेका हुन्।

उनले बाँदरको व्यावसायिक व्यापार गर्न र निर्यात गर्न सकिने बारेमा सोच्ने बेला आएको समेत बताए। अर्का सांसद रामकुमार राईले पहाडी जिल्लामा बाँदरको कारण किसानको उठिबास भइरहेको बताउँदै समाधानका उपाय पहिल्याउन सरकारको धयानाकर्षण गराए ।

Batas

बैठकमा सांसद भानुभक्त जोशीले बझाङको साइपाल गाउँपालिमा खाद्य डिपो स्थापनाका लागि आग्रह गरे। सांसद मनिष झाले मधेश सरकार हाल उपनिर्वाचनको तयारीमा बारामा मात्र केन्द्रित भएको भन्दै जनताका सरोकारका विषयमा काम गर्न आग्रह गरे।

सांसद महेशकुमार बर्तौलाले गाईमा देखिएको रोगका कारण किसान प्रभावित भएको उल्लेख गर्दै यसको समाधानका लागि भ्याक्निको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद माधव सापकोटाले मनसुनजन्य विपद्बाट वर्षेनि हुने क्षतिका बारेमा जानकारी गराउँदै त्यसको समाधानका लागि पूर्व तयारी गर्न आग्रह गरे।

सांसद मैना कार्कीले सशस्त्र द्वन्द्वमा जघन्य अपराध भएको बताउँदै पीडितलाई न्याय दिलाउन यससम्बन्धी विधेयकमा भएका त्रुटी सच्याएर मात्र पारित गर्नुपर्ने माग गरे। सांसद मञ्जु शर्मा अन्सारीले मल बिऊ समयमै उपलब्ध गराएर किसानका समस्या समाधानका लागि आग्रह गरिन्।

सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भइ सांसदका प्रश्नको जवाफका लागि आग्रह गरे। सांसद राजु थापाले स्याङ्जामा आगामी बजेटमा समावेश गरी बाटोको करिडोर निर्माण समावेश गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद राजनकुमार केसीले मुलुकमा राजश्व कम उठेको बताउँदै तत्काल आम्दानी र खर्चमा सन्तुलन ल्याउन अर्थमन्त्रीसँग आग्रह गरे। सांसद रामकृष्ण यादवले मुलुक सङ्घीयतामा गइसकेपछि दुई पटक तीन तहका निर्वाचन भए पनि जनताले गरेको धेरै अपेक्षा पूरा गर्न नसेकोप्रति सबै जिम्मेवार भएर काम गर्नुपर्ने बताए।

सांसद रुपा विकले किसानलाई कृषि, बीउ र कृषि सामग्री समयमै उपलब्ध हुनुपर्ने व्यवस्था गर्न आग्रह गरिन्। सांसद रेखा यादवले नागरिकताविहीन नेपालीलाई नागरिकता प्रदान गर्न तत्काल नागरिकतासम्बन्धी विधेयक छिटो ल्याउन सरकारसँग माग आग्रह गरिन्।

सांसद लक्ष्मी तिवारीले मुलुकभित्रका केही अपस्तालमा सर्वसाधारणको स्वास्थ्यमाथि खेलवाड भइरहेको भन्दै त्यसको कडा निगरानी गरी दोषीलाई कारबाही गर्न माग गरिन्। सांसद लीलादेवी बोखिमले राष्ट्रिय प्राथमिकताका सडक निर्माण अघि बढाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराइन्।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.