www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्र र जनताको आवश्यकताअनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ।
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको आवश्यकताअनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा आज यहाँ नेकपा (एकीकृत समाजवादी)द्वारा आज आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलन उपलब्धि, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा उनले नयाँ आधारमा नयाँ सोचका साथ कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर लैजाने बताए।

प्रधानमन्त्रीले भने, “सही विचार र नीतिका आधारमा कम्युनिष्टहरुलाई एकताबद्ध गर्ने कुरा जारी राख्नु पर्दछ । अहिले हामी त्यही प्रक्रियामा छौँ । जनवादी केन्द्रीयताको सिद्धान्तविरुद्ध रहेकाहरु कम्युनिष्ट एकताको पक्षमा छैनन् । हामी अहिले पनि एकताकै पक्षमा छौँ ।” उनले केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिने र त्यहीँबाट कम्युनिष्ट आन्दोलनमा नयाँ धुव्रीकरणको प्रक्रिया अगाडि बढ्ने बताए।

Batas

प्रधानमन्त्री प्रचण्डले आफूहरु राष्ट्र र जनताको आवश्यकताअनुसार थुप्रै नेताहरुसँगको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ भन्ने विषयमा छलफल गरी नेकपा तिरै फर्कनेमा रहेको स्पष्ट पारे।

उनले भने, “कम्युनिष्ट पार्टीभित्र नेतृत्वलाई साँचोका रुपमा लिइन्थ्यो, र हो पनि । नेतृत्वले गलत विचार र प्रवृत्ति अङ्गीकार ग¥यो भने, धेरै ठूलो क्षति हुन्छ र ठूलो प्रतिक्रान्ति हुन्छ । हामीले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा पनि देख्यौँ र आफ्नै आँखा अगाडि पनि देख्यौँ ।”

उनले २०७४ को आम निर्वाचन कम्युनिष्टहरुले चालेको ठूलो अग्रगामी कदम रहेको उल्लेख गर्दै उक्त प्रस्ताव आफूहरुले नै गरेको र त्यसको पहिलो प्रस्तावक आफैँ भएको बताए।

“राष्ट्रको स्वाधीनता, राष्ट्रिय एकता, जनताको जनजीविका, सामाजिक न्याय र विकासको आवश्यकतालाई सम्बोधन गर्न पनि कम्युनिष्टहरु एक हुन जरुरी छ”, उनले भने। लोकतन्त्रको सुदृढीकरण र गणतन्त्रलाई मजबुत गर्नका लागि पनि कम्युनिष्टहरु एक हुन जरुरी रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

उनले बिना आग्रह पूर्वाग्रह विचारधारात्मक रुपले समीक्षा गर्दै राष्ट्रको हितमा एकताको नयाँ पहलका लागि वामपन्थी कम्युनिष्टलाई आह्वान पनि गरे। उनले अगाडि भने, “एकताबद्ध भएर मात्र हामी कम्युनिष्ट आन्दोलनप्रति इमान्दार हुनसक्छौँ । अहिले हामी कम्युनिष्ट पार्टीहरु कहाँबाट सुरु गर्ने भन्ने छलफलमा छौँ । अहिले राष्ट्रको आवश्यकता, रााष्ट्रियता, जनतन्त्र जनजीविका, विकासको आवश्यकता र दलाल पूँजीवादको विरुद्ध सङ्घर्षको आवश्यकता महसुस गर्नेहरु सबै एउटा मोर्चामा आबद्ध भएर एउटा सन्देह दिऔँ ।” उनले छिट्टै समाजवादी मोर्चा गठन गरिने र नेकपातिर फर्कनका लागि सबैलाई अपिल गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समान विचार भएका कम्युनिष्ट पार्टीका बीचमा छिट्टै समाजवादी मोर्चा बनाएर एकताको प्रक्रिया अगाडि बढाइने बताए। उनले मोर्चाका लागि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत पहल गरिरहेकोले छिट्टै सार्थकता पाउने विश्वास व्यक्त गरे ।

विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, सङ्गठनात्मक सोच, कार्यशैली र मन मिल्ने पार्टीबीच छिट्टै एउटै पार्टी बनाउने गरी तयारी भइरहेको पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले बताए। “विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, सङ्गठनात्मक सोचहरु, कार्यशैली पनि व्यवस्थापन गर्न सकियो भने, मन पनि मिल्यो भने हामी एउटै पार्टी हुन सक्छौँ”, उनले भने।

अध्यक्ष नेपालले वामपन्थी कम्युनिष्ट एकापसमा मिलिदिए हुन्थ्यो भन्ने जनताको भावना रहेकाले त्यो दिन धेरै टाढा नभएको बताए। राष्ट्रिय समस्या समाधानका लागि वामपन्थी शक्तिबीचको एकता जरुरी रहेको उल्लेख गरे।

कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव गङ्गालाल तुलाधर, पुराना वामपन्थी नेता चन्द्रदेव जोशी लगायतको उपस्थिति थियो ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.