www.tandavnews.com
Fact ~ In search of truth

‘गाउँमा भोकमरी छ, अनाज किन्न पाइँदैन’

मुगु ।

मुगुको सोरु गाउँपालिका भीइ गाउँकी कमला नेपाली खाद्यान्न लिन चार घण्टा हिँडेर बुधबार सोरुकोट आइन् । बिहान बेलुका छाक टार्न मुस्किल भएपछि उनी खाद्यान्न लिन सोरुकोट खाद्य डिपो आएकी हुन् ।

“घरमा अन्न सकियो, त्यसैले चार घण्टा हिँडेर सोरुकोट चामल लिन आएकी हुँ”, नेपालीले भनिन् , “गाउँमा भोकमरी छ, अनाज किन्न पाइँदैन ।”

Batas

नेपाली मात्रै नभई आठ गाउँका बासिन्दा चामल किन्न सोरुकोट आएका छन् । सोरुकोट डिपोमा पनि पर्याप्त मात्रामा चामल छैन । घण्टौँ लाइनमा बसेर पनि उनीहरुले चाहेजति चामल पाउन सकेका छैनन् ।

“भोकभोकै पैँतला दुखाएर सोरुकोट खाद्यान्न लिन आए”, भीइ गाउँकी पानमती डागरले भनिन्, “एक प्याकेट चामल पाउन पनि सास्ती भयो ।”

सोरु गाउँपालिकाका सबै गाउँमा खाद्यान्न अभाव चुलिएको छ । गत वर्ष असोजको बाढी पहिरोले गहुँ, जौँ नष्ट हुँदा स्थानीयलाई अनिकालले पिरोलेको हो । ज्यालादारी गरी कमाएको पैसा बोकेर स्थानीयवासी चामल खरिद गर्न खाद्य डिपोदेखि व्यापारीको दैलो चहार्न थालेका छन् । केही स्थानीयले खेतबारीमा पाकेको गहुँ र जौँबाटै गर्जो टार्न थालेका छन् ।

सोरुकोट खाद्य डिपोमा पनि पर्याप्त चामल नभएकाले गाउँघरमा भोकमरी भएको सोरु गाउँपालिका–३ का वडाध्यक्ष सिंहबहादुर धामीले बताए । सोरुकोट खाद्य डिपोको वार्षिक चामलको कोटा एक हजार पाँच सय क्विन्टल हो । उनीहरुलाई अनुदानको चामल पाउन मुस्किल हुने गरेको छ ।

सोरुकोट खाद्य डिपोमा वार्षिक कोटा नै कम भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटका प्रमुख पुस्कर भामले बताए । “चामलको कोटा बढाउन काम गर्दै आएका छौँ”, उनले भने ।

रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.