www.tandavnews.com
Fact ~ In search of truth

‘प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोजियो’

काठमाडौँ ।

नेकपा(माओवादी केन्द्र)ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लेसरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दलबाट गरिएको भ्रामक, आपत्तिजनक, प्रचारवाजीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
Batas
लोकतन्त्रको अभ्यास गर्ने थलो संसद्समेत अवरोध गरिएकोप्रति सो पार्टीले आपत्ति जनाएको छ । पार्टी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले आज जारी गरेकाे विज्ञप्तिमा प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोज्नु प्रमुख प्रतिपक्षको गलत चाहना पूरा गर्ने अभिष्टताबाहेक केही नभएको बताएका छन् ।
जनयुद्धबाट शान्ति प्रक्रियासँगै सरदार प्रितम सिंह र प्रधानमन्त्री प्रचण्डका बीचमा औपचारिक मात्र होइन भावनात्मकरुपमा समेत प्रगाढ सम्बन्ध रहँदै आएको तथ्य सार्वजनिक भइसकेको उपाध्यक्ष महराले जनाएका छन्  ।
सोही पृष्ठभूमिमा सरदार सिंहबाट आफूलाई प्रधानमन्त्रीका रुपमा देख्न चाहेको र त्यसको लागि उनले सक्दो योगदान गरेको यथार्थता प्रकट गरिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रवक्ता महराले विज्ञप्तिमा भनेका छन् , “मध्यरातमा ‘रअ’ प्रमुखसँग बालुवाटारमा भेटेर पटक-पटक संसद् विघटन गर्ने, जनताका मुद्दामा कानुन बनाउन खोज्दा संसद् अवरोध गर्ने, भ्रष्टाचारीको छानविन र फाइल खोल्दा गैरजिम्मेवार बन्ने जस्ता पात्र र प्रवृत्तिले गर्दा प्राप्त राजनीतिक उपलब्धिमाथि प्रहार भइरहेको तथ्य नेपाली जनताले बुझिसकेका छन्” ।
पानी धमिल्याएर माछा मार्न खोज्ने’ प्रवृत्ति फेरि पनि ‘के निउ पाऊँ, कनिका बुकाऊँ’ भने जस्तै भ्रामक र दुराशययुक्त प्रचारबाजीमा उत्रिएर गरिएका हर्कतप्रति माओवादीले भर्त्सना गरेको छ । राष्ट्रियता, गणतन्त्र र जनजीविकाका पक्षमा दृढतापूर्वक उभिन पार्टीपङ्क्ति र जनसमुदायमा प्रवक्ता महराले आग्रह गरेका छन् ।
रासस
–––

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.