www.tandavnews.com
Fact ~ In search of truth

डेङ्गु सङ्क्रमण बढ्दै

काठमाडौँ ।

नेपालमा डेङ्गुको सङ्क्रमण बढिरहेको छ । पानी परेसँगै डेङ्गुका बिरामी बढ्न थालेका हुन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेङ्गुका बिरामी बढ्न थालेको जानकारी दिए ।

उनले डेङ्गु बढ्ने मौसम सुरु भएकाले क्रमशः बिरामी पनि बढिरहेको बताए । पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेको उनको भनाइ थियो ।

Batas

उनका अनुसार सन् २०२३ यता अहिलेसम्म एक हजार २४ जना मानिस डेङ्गुका कारणले बिरामी परेका छन् । यो वर्ष अहिलेसम्म सङ्क्रमणबाट सुनसरीमा एक जनाको ज्यान गएको छ ।

महाशाखाका अनुसार काठमाडौँ ४६, ललितपुरमा १२ र भक्तपुर ३५ बिरामी भेटिएका छन् । यस्तै सबभन्दा बढी देखिएको दार्चुलामा एक सय ८७, धादिङमा एक सय ३१, सुनसरीमा ७५, कास्कीमा ६६ र म्यादीमा २९ जना डेङ्गुका बिरामी भेटिएका छन् ।

उनले बर्खायाम सुरु भएसँगै डेङ्गुबाट बच्न आग्रहसमेत गरे । “अहिले दैनिक पानी परिरहेको छ । परेको पानी फूलदानी, जारमा जम्मा हुन्छ अनि त्यही लामखुट्टेले फुल पार्दछ”, उनले भने, “सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ ।”

डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गु रोग लाग्दछ । डेङ्गुले उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेपछि लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले डेङ्गु सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ ।

लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गरिएको छ । यस्तै मन्त्रालयले सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ ।

सन् २०२२ मा ५४ हजार छ सय ३० जनामा डेङ्गु देखिएको र डेङ्गुबाट ८८ जनाको ज्यान गइसकेको छ । पुस १५ गतेयता अहिलेसम्म सात सय एक जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । नेपालमा पहिलोपटक सन २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २००५ मा भने डेङ्गुका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेङ्गुको सङ्क्रमण देखिँदै आएको छ ।

रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.